पाकिस्तानलाई चीनको फेरी २.२ अर्ब डलरको सहयोग

इश्लामावाद-आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई चीनले पुनः सहयोग गर्ने भएको छ । पाकिस्तानको लगभग खाली भइसकेको विदेशी मुद्राको भण्डारमा चीनले यस पटक पुनः २.२ अर्ब डलरको सहयोग गरेको छ ।
चालू वित्त वर्षमा मात्रै पाकिस्तानले मित्र राष्ट्रबाट ९.१ अर्ब डलरको आर्थिक सहयोग लिइसकेको छ । यो आर्थिक सहयोगमा पाकिस्तानलाई चीनबाट ४.१ अर्ब डलर, साउदी अरबबाट ३ अर्ब डलर र संयुक्त अरब इमिरेट्सबाट २ अर्ब डलरको सहयोग मिलेको छ ।
स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले ट्वीट मार्फत चीनबाट २.२ अर्ब डलरको ताजा सहयोग प्राप्त भएको जानकारी दिएको छ । यो सहयोग ऋणको रुपमा दिइएको छ । एसबीपीले २०१९ को मार्च १५ मा जारी गरेको साप्ताहिक रिपोर्टमा पाकिस्तानको विदेशी मुद्राको भण्डारमा केबल ८.८४ अर्ब डलर मात्रै बाँकि रहेको उल्लेख गरिएको छ ।
चीनबाट प्राप्त भएको नयाँ सहयोगपछि मुद्रा भण्डारको संचितीमा १० अर्ब डलर पुगेको छ । गत १ वर्षको अवधिमा पहिलो पटक पाकिस्तानको विदेशी मुद्रा भण्डार दोहोरो अंकमा पुगेको छ ।
पाकिस्तानको निर्यातको तुलनामा आयातमा उच्च वृद्धि भएकाले विदेशी मुद्राको भण्डार तीव्र दरमा रित्तिन लागेको हो ।
अर्थ मन्त्री असद अयूबका अनुसार २०१९ मा पाकिस्तानलाई १२ अर्ब डलरको सहयोग हुने र सोही अनुपातको रकम आवश्यक पनि हुनेछ । २०२० मा ७–८ अर्ब डलरको सहयोगको आवश्यकता पर्नेछ ।
पाकिस्तानका मित्र राष्ट्रहरुले सामान्य व्याजमा यो मुलुकलाई आर्थिक सहयोग गरिरहेका छन् । तर पाकिस्तानको अवस्था गंभिर भएको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि वार्ता गरिरहेको छ । पाकिस्तानले कोषबाट पनि ऋण लिने प्रयास गरिरहेको छ । यसैगरी यूएईले पनि पाकिस्तानलाई थप सहयोग गर्ने विषयमा कुराकानी गरिरहेको छ ।