सेञ्चुरी बैंकद्वारा नगद र फर्निचर सहयोग

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सो सहयोग रकम बैंकका बागमती प्रदेश प्रमुख दिपेन्द्रबाबु विष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको विशेष उपस्थितिमा परिसर कार्यालयमा भक्तपुर जिल्ला सीसीटीभी जडान समितिका कोषाध्यक्ष नविन प्रजापतिलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सेञ्चुरी बैंकका बागमती प्रदेश उपप्रमुख प्रचिता श्रेष्ठ, सुकुलढोका शाखाका प्रमुख सुकेश शाक्य र भक्तपुर शाखाका प्रमुख उषा खाणको पनि उपस्थिति थियो । सेञ्चुरी बैंकले भक्तपुरमा तीन शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।
समितिका कोषाध्यक्षले यस आर्थिक सहयोगबाट भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी र प्रभावकारी बनाउन मुख्य राजमार्ग, मुख्य मुख्य चोक, सीमानाका तथा प्रहरी चेक पोइन्टहरु समेतमा सीसीटीभी क्यामरा जडान गरी अपराध अनुसन्धान तथा न्यूनिकरण गर्न सहयोग पुग्ने बताए ।
साथै बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत ज्येष्ठ नागरिक सेवा केन्द्र, काभ्रे धुलिखेललाई कुर्सी, टेवल, दराजलगायतका फर्निचर सामान प्रदान गरेको छ । अवसरमा बैंकले गीता मन्दिर सरसफाई समेत गरेको थियो । सेञ्चुरी बैंकले काभ्रेमा सात शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।