Logo

नियमित उडानपछि कोरिया जाने श्रमिक बढ्ने

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत माघको दोस्रो हप्ता रोकिएका सहित सोमबार १ सय ७४ नेपाली कोरिया प्रवेश गरेका छन् ।
पूर्वनिर्धारित उडान तालिका अनुसार २ सय ३६ नेपाली जाने गरी तयारी भए पनि कोरियामा होटल क्यारेन्टिन सीमित भएका कारण ६२ युवा भने रोकिएका छन् । सोमबार भएको उडानमा नियमित (नयाँ) ८९ र कमिटेड ८५ श्रमिक कोरिया प्रवेश गरेका छन् । कोरियामा नियमित चार वर्ष १० महिना काम गरेर स्वदेश फर्की पुनः गएका श्रमिक कमिटेड र नयाँ आवेदन दिएर गएका नियमित अर्थात् नयाँ श्रमिक हुन् । वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालका निर्देशक पुष्पराज कटुवालले आगामी उडानमा क्वारेन्टिन तथा थप उडान थप्ने गरी तयारी भइरहेको बताए । “चैत २ गते थप १ सय ७० युवालाई कोरिया प्रवेश गराउने तयारीसहित काम भइरहेको छ,” निर्देशक कटुवालले कारोबारसँग भने, “हप्तामा दुईवटा नियमित उडान र कोरियामा थप होटेल क्वारिन्टनको व्यवस्थापन गर्न कोरियन पक्षसँग कुराकानी भइरहेको छ ।” शाखाले आगामी उडानमार्पmत एक पटकमा दुई सयभन्दा बढीका दरले उडान गर्ने गरी गृहकार्य गरिरहेको जनाएको छ । कोरियाले हाल १६ देशका श्रमिकलाई सात दिनको क्वारिन्टिन राख्न दुई वटा मात्र होटलको व्यवस्था गरेका कारण सबै देशबाट सीमित श्रमिकलाई प्रवेश गराइँदै आएको छ । विगत दुई वर्षयता कोरियाका साना तथा मझौला उद्योगमा विदेशी श्रमिकको चरम अभाव भएपछि त्यहाँको सरकारले कोरोना संक्रमणका बीचसमेत नेपाली श्रमिक माग गर्दै आएको छ ।
यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएसअन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा सोमबार कोरियाली पक्षसँग छलफल गरेका छन् । मन्त्री श्रेष्ठले मन्त्रालयमा कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट गरी ईपीएसअन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो संख्यामा नेपाली युवा रहेकाले छिटो लैजाने वातावरण बनाउन आग्रह गरेका छन् ।
मन्त्री श्रेष्ठले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रबन्ध गर्न कोरियाली पक्षसँग आग्रहसमेत गरेका गरेका छन् । अहिले चार्टर उडानमार्फत कोरिया लैजाने गरिएकोमा व्यावसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा जान पाउने छन् । एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिरहेको बताउँदै कोरोना महामारीका कारण रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भए पनि महामारीका कारण समस्या भएको भनाइ छ । विदेशी श्रमिक अनिवार्य क्वारिन्टिन बस्नुपर्ने भएकाले क्वारेन्टिन अभावले धेरै श्रमिक एकैपटक लैजान नसकिएको उनले जानकारी दिए । व्यावसायिक उडान खुला गर्न आवश्यक प्रकृया सुरु गरिएको जानकारी दिँदै उनले छिटो सञ्चालन हुने विश्वास रहेको बताए ।
यसअघि कोरोना संक्रमण जोखिमका कारण माघको दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकोमा हालै पुनः खुला गरिएको थियो । करिब सात हजार श्रमिक कोरिया जान छनोट भएकोमा कोरोना संक्रमणपछि ९ सय ८४ जना गइसकेका सोमबार १ सय ७४ जनाको उडान भएको छ । यसपछि चैत २ गते १ सय ७० जना जानेछन् । नेपालीहरु मेहनति र इमान्दार भएकाले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले बताए । दक्षिण कोरिया जानका लागि सबै प्रक्रिया पूरा गरेका बाँकी युवालाई जतिसक्दो छिटो दक्षिण कोरिया लैजान मन्त्री श्रेष्ठले विभिन्न स्तरमा छलफल गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्