Logo

पर्यटन विकासको आधार तयार भएको छ


सुदूरपश्चिम प्रदेश पर्यटनको नयाँ ठाउँ हो । यहाँको मुख्य पर्यटकीय गन्तव्य खप्तड राष्ट्रिय निकुञ्ज, रामारोशन, शुक्लाफाँटा, बडिमालिका, अपि र साइपाल हिमाल हुन् । पछिल्लो समयमा खप्तड शुक्लाफाँटामा आन्तरिक पर्यटक आगमन बढेको छ । तर आवास, रेस्टुराँ, विश्राम स्थललगायतका सुविधा प्राप्त हुन नसकेकाले खप्तड क्षेत्रको पर्यटन चलायमान हुन सकेको छैन । मुख्य पर्यटन गन्तव्यहरूसम्म पुग्न र पर्यटन गन्तव्यमा पर्यटकलाई आवश्यक सेवा–सुविधा पु-याउने पूर्वाधारहरू बन्न नसकेकाले अझै पनि पर्यटनका लागि सुदूरपश्चिम भर्जिन ल्यान्डको रूपमै परिचित छ । प्रदेशमा पर्यटन विकास हुन नसक्दा यहाँका पर्यटन व्यवसायी र सरकारले त्यसबाट अझै लाभ लिन सकेको छैन । सुदूरपश्चिममा पर्यटक आगमन वृद्धि भइरहेकै बेला कोभिड–१९ को महामारीले गर्दा पुनः पर्यटन क्षेत्र धराशायी भएको छ । यावत् कारणले सुदूरपश्चिमको गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान अझै शून्य नै छ । तथापि पर्यटन विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारले गठन भएको पहिलो वर्षदेखि नै लगानी गरिरहेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विभिन्न पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूमा पर्यटन विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर पूर्वाधार विकास गरिरहेको छ । पछिल्लो समयमा मन्त्री भएर एकीकृत नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य मानबहादुर धामी मन्त्रीको जिम्मेवारीमा आएपछि मन्त्रालयले सुदूरपश्चिम प्रदेशको पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटन विकाससम्बन्धी गुरुयोजना निर्माण गरिरहेको छ । पर्यटन विकाससम्बन्धी गुरुयोजना निर्माण, पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणसँगै त्यसको प्रचारप्रसारका लागिसमेत योजना बनाएर कार्यान्वयन गरिरहेको छ । प्रदेश सरकार गठन भएको चार वर्षमा पर्यटन क्षेत्रमा गरेको काम, आगामी योजना, कोभिड–१९ ले प्रभावित गरेको पर्यटनलाई पुनरुत्थान गर्न बनाइएको योजनालगायतका विषयमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीसँग कारोबारकर्मी मुकेश चौधरीले गरेको कुराकानीको सार :

मन्त्री भइसकेपछिको यहाँको अनुभव बताइदिनुस् न ।
म उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री भएको आठ महिना पूरा भएको छ । बजेट बनाउँदा म यो मन्त्रालयको जिम्मेवारीमा आएको हुँ । मसँग एक हप्ताको मात्रै समय थियो । कर्मचारीको पनि अभाव थियो । व्यस्तता पनि त्यत्तिकै थियो । यावत् परिस्थितिका कारण राम्रो बजेट बनाउन सकिएन । बजेट कार्यान्यनमा लग्दा पनि कर्मचारी र बजेटको अभाव छ । तथापि हामीले सन्तोषजनक काम गर्न सफल भएका छौं । मन्त्रालयको जिम्मेवारीमा रहँदा बजेट खर्चमात्रै ठूलो कुरा होइन रहेछ भन्ने कुराको अनुभव गरें । खर्च भएको बजेटको सदुपयोग सबभन्दा ठूलो कुरा हो । हामीले बजेट ८०, ८५, ९० प्रतिशत खर्च गरेर एउटा पर्फर्मेन्स बाहिर देखाउने कुरा हाम्रो परम्परा भएको छ । यो परम्परालाई तोड्नुपर्छ । यद्यपि मेरो अगाडि समय पनि कम छ । कार्यकाल नै झन्डै ७-८ महिना मात्रै बाँकी छ । खर्च प्रणालीलाई व्यवस्थित बनाउने र उपलब्धि बनाउने विषयमा सचेत हुनुपर्छ भन्ने अनुभव भएको छ ।

प्रदेश सरकार गठन भएको चार वर्ष पूरा भएको छ । यो चार वर्ष प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटनको क्षेत्रमा गरेको कामको मूल्यांकन यहाँले कसरी गर्नुभएको छ ?
नेकपा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार गठन भएर चार वर्ष काम गरेको छ । अब हामीसँग धेरै समय छैन । हाम्रो मन्त्रालयको महŒवपूर्ण क्षेत्र भनेको पर्यटन क्षेत्रको काम हो । पर्यटन क्षेत्रलाई थोरै भए पनि सम्बोधन गरेका छौं । तर, पर्याप्त मात्रामा हामीले योजना बनाउन सकेनौं । प्रदेश सरकार गठन भएपछि दुईवटा आर्थिक वर्ष सहज ढंगले गयो र त्यसपछि कोरोनाका कारणले काम गर्ने अवसर प्राप्त भएन । हाम्रो मन्त्रालयले पर्यटनसम्बन्धी गुरुयोजना तयार गरेको छ । म मन्त्री भएर आउँदा प्रक्रियामा थियो । भर्खरै पर्यटनसम्बन्धी गुरुयोजना निर्माण सम्पन्न भएको छ । अझै हस्तान्तरण भएको छैन । केही दिन लाग्छ होला । नीतिगत रूपमा पर्यटन विकासका लागि गुरुयोजना बनाउन अत्यन्त जरुरी थियो र हामीले बनाएका छौं ।
पर्यटनका केही संरचना निर्माण गर्न गइरहेका छौं । केही डीपीआरका काम अगाडि बढाइरहेका छौं । आगामी दिनका लागि पर्यटन विकास गर्ने आधार तयार भएको छ । यो आधारलाई टेकेर अगाडि जाने हो भने सुदूरपश्चिम प्रदेशमा पर्यटन विकास हुन्छ । जसरी सुदूरपश्चिमलाई पर्यटनको भर्जिन ल्यान्डको रूपमा नेपाल र विश्वले बुझिरहेको छ, त्यसलाई पुष्टि गर्न स्पष्ट रोडम्याप हामीले बनाएका छौं । केही धार्मिक पर्यटनका पूर्वाधार र केही हाई अल्टिच्युटका पदमार्गहरू बनाएका छौं । यो आर्थिक वर्षमा उच्च हिमाली भागमा खप्तड, रामारोशन, अपि हिमाल, टिंकर, सुर्मासरोवर र बझाङको उरै भन्ज्याङमा हामीले पर्यटक आवास गृह निर्माण सम्पन्न गर्छौं । आउँदो आर्थिक वर्षदेखि सञ्चालनमा आउँछ । पर्यटकहरूलाई आवाससहितको सुविधा सम्बन्धित स्थानीय सरकार र समुदायले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्छौं ।
केही पर्यटन विकास समितिहरू पनि गठन भएका छन् । खास गरेर खप्तड क्षेत्र पर्यटन विकास समितिलाई दिगो रूपमा बजेटको सुलभता बढाएर अगाडि बढाउने कुरामा ध्यान दिएका छौं । रामारोशन पर्यटन विकास समिति र कडिकेदार पर्यटन विकास समिति छ । र, थप गर्नुपर्ने विकास समितिहरूलाई पूर्णता दिएर पर्यटन विकास गर्नुपर्छ भनेर हामी लागेका छौं । सुदूरपश्चिम प्राकृतिक जू पनि अत्यन्त आवश्यक छ भन्ने कुरा पनि हामीले महसुस गरेका छौं । आगामी आर्थिक वर्षमा त्यसका लागि बजेट व्यवस्थापन गरेर प्रक्रिया सुरु गर्ने योजनामा छौं ।

मन्त्रालयले बनाएको गुरुयोजनाभित्र पर्यटन विकासका कुन–कुन विषयवस्तुलाई मुख्य रूपमा अगाडि सारेको छ ?
यसमा मुख्य तीनवटा विषयवस्तुलाई समेटेको छ । एउटा पर्यटन गन्तव्यको कुरा छ, अर्को उच्च हिमाली क्षेत्रमा नेचुरल एडभेन्चरलाई अगाडि सारेको छ । जस्तै– अपि, साइपाल क्षेत्रका पदमार्गलाई व्यवस्थित गर्ने र त्यसका बेससम्म पुग्नका लागि बाटो तयार गर्ने विषयवस्तु गुरुयोजनामा समेटिएको छ । तेस्रो सांस्कृतिक र धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने गरी गुरुयोजना बनाइएको छ । कन्सलटेन्सीले हामीलाई यो गुरुयोजना हस्तान्तरण गरिसकेपछि त्यसकै आधारमा हामीले आगामी वर्ष पर्यटन क्षेत्रको बजेट निर्माण गर्छौं ।

मन्त्रालयको बजेट र कार्यक्रमले पर्यटन प्रवद्र्धनमा कत्तिको सहयोग गरेको छ ?
यसले प्रदेशको आन्तरिक पर्यटनलाई मात्रै नभएर बाह्य पर्यटन प्रवद्र्धनलाई टेवा पु-याएको छ । यद्यपि यसको प्रचारप्रसारको कमी भएको छ । कोरोना महामारी दुई-अढाई वर्षमा पर्यटन क्षेत्रको काम गर्न धेरै बाधा पुग्यो । आन्तरिक पर्यटनलाई मन्त्रालयको बजेट र कार्यक्रमले एकदमै ठूलो भोलुममा बढावा गरिरहेको अनुभूति हामीले गरिराखेका छौं । प्रदेश सरकार आइसकेपछि खप्तड तथा रामारोशन क्षेत्रमा पर्यटन विकास भएको देख्न सकिन्छ । अब चाँडै हामीले घोडाघोडी क्षेत्रलाई वर्ड सेन्चुरीको रूपमा घोषणा गरेर विकास गर्ने प्रक्रियामा छौं । प्रदेश सरकार गठन भइसकेपछि खप्तड र रामारोशन क्षेत्रमा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । कति आन्तरिक पर्यटक आउन थाले भन्ने कुराचाहिँ चालू आर्थिक वर्षको अन्त्यसम्ममा बाहिर आउँछ ।

यहाँले पर्यटन क्षेत्रको प्रचारप्रसारको कमी छ भन्नुभयो । प्रचार प्रसारका लागि मन्त्रालयले कस्तो खालको गुरुयोजना बनाएको छ वा बनाउने तयारीमा छ ?
सुदूरपश्चिम प्रदेशको पर्यटन क्षेत्रको प्रचारप्रसार अन्तर्राष्ट्रियस्तरमा पनि गर्नुपर्छ भनेर हामीले मोबाइल एप बनाइरहेका छौं । वेबसाइट पनि बनाइरहेका छौं । यसको प्रक्रिया सुरु भइसकेको छ । यो एप र वेबबाट पर्यटकले धनगढीसम्म कसरी पुग्न सकिन्छ । धनगढीमा आएर के सुविधा कहाँ पाउन सकिन्छ भन्ने कुरा जानकारी पाउन सक्छन् । धनगढीबाट कहाँ–कहाँ जान सकिन्छ र कुन–कुन बाटो जान सकिन्छ भन्ने सूचना उपलब्ध हुन्छ । जस्तो, साइपाल जानुप¥यो भने पहिलो बेस धनगढी हुन्छ । धनगढीबाट त्यहाँ जाँदा रुट कुन हो, त्यहाँ जाँदा आउने बाधाहरू केके छन्, सम्भावना के छन् र चुनौती के हुन् ? त्यहाँ पाइने सेवा–सुविधा के हुन् ? कति आर्थिक म्यानेजमेन्ट गरेर जानुपर्छ ? यी ठाउँमा यी चिज अवलोकन गर्न पाइन्छ । यी सबै जानकारीहरू त्यो एपका माध्यमबाट पर्यटकहरूले पाउनेछन् ।

सरकारको तर्फबाट मन्त्रालयले पर्यटनका प्याकेज बनाएको छ कि छैन ?
पर्यटन प्याकेज निर्माणका लागि पर्यटन व्यवसायीहरूलाई सहयोग गरिरहेका छौं । मन्त्रालयले नै आफैंले प्याकेज बनाएको छैन । तर हामीले पर्यटन व्यवसायीहरूलाई पर्यटन प्याकेज बनाउनका लागि अनुदान दिने कार्यक्रम छ । पर्यटन व्यवसायीहरूलाई पर्यटकहरूलाई ल्याएर स्वागत गरेर सम्मानका साथ पुनः स्वागतका लागि निम्तो दिने विषयमा विभिन्न तालिमहरू दिने कार्यक्रम पनि छ ।

पर्यटन विकासका लागि अन्य प्रदेशहरूसँग पर्यटन प्याकेज एक्सचेन्ज गर्ने कार्य सुदूरपश्चिम प्रदेश सरकारले गरिरहेको छ कि छैन ?
पर्यटनको क्षेत्रमा प्रदेश सरकारबीच र व्यवसायीहरूको पनि एक–अर्को अनुभव एक्सचेन्ज गर्ने कार्य हामीले गरिरहेकै छौं । पर्यटक र पर्यटन व्यवसायीहरूको बीचमा कार्यक्रम छ । त्यो कार्यान्वयन भइरहेकै छ । यो कार्यक्रम पहिले पनि थियो, अहिले पनि निरन्तर भइरहेको छ । अर्को प्रदेशको पर्यटन व्यवसायीलाई यहाँका पर्यटन व्यवसायीसँग जोड्ने र यहाँको पर्यटन व्यवसायीलाई उताको पर्यटन व्यवसायीसँग जोड्ने कार्यक्रम पनि निरन्तर चलिरहेको छ । यसका लागि हामीले बजेट नै व्यवस्था गरेर कार्यान्वयन गरिरहेका छौं ।

कोभिड–१९ ले प्रभावित भएको पर्यटनलाई पुनरुत्थान गर्न मन्त्रालयले कस्तो खालको योजना बनाएको छ ?
कोभिडबाट सबैभन्दा प्रभावित भएको पर्यटन क्षेत्र नै हो । त्यसमा पनि टुर एन्ड ट्राभल्स, ट्रेनिङ सेन्टर, होटल व्यवसायीहरू सबैभन्दा बढी धराशायी भएका छन् । त्यसकारण ती व्यवसायीहरूलाई विद्युत महसुलमा सहुलियत दिइरहेका छौं । सम्बन्धित जिल्लामा बजेट पुगेर कार्यान्वयनको प्रक्रियामा छ । अर्को पर्यटन क्षेत्रमा लगानी गर्न लिएको ऋणको ब्याज मिनाहा गर्नका लागि बजेट छुट्ट्याएका छौं । त्यो पनि कार्यान्वयनको प्रक्रियामा छ ।

खप्तड र रामारोशन क्षेत्रको पर्यटनलाई कुन मोडेलमा विकास गर्ने योजना बनाउनुभएको छ ?
खप्तड र रामारोशन आफैंमा प्राकृतिक पर्यटन क्षेत्र हो । त्यसको स्वरूप बिगार्नु हुँदैन । तर, त्यहाँको जुन अवस्था छ, त्यसलाई चेन्ज गर्नुपर्छ । त्यहाँसम्म पहुँच हुने कुरालाई सुधार गर्नुपर्छ । खप्तडलाई धार्मिक तथा स्पोर्टसँग जोड्नुपर्छ भनेर हामी लागेका छौं । रामारोशनमा रक क्लाइम्बिङ पर्यटनको सम्भावना छ । रामारोशनसँग जोडिएको किनिमिनी तालको भूगोल त्यसका लागि उचित ठाउँ हो । त्योसँगै किनिमिनी ताल क्षेत्र युद्ध पर्यटनको क्षेत्र पनि हो । त्यसलाई पनि विकास गर्ने लक्ष्य र उद्देश्यका साथ अगाडि बढिरहेका छौं ।

सुदूरपश्चिमको पर्यटन क्षेत्रका लक्षित पर्यटक को हुन् ?
आन्तरिक पर्यटनका लागि काठमाडौं, पोखरा, विराटनगर, वीरगन्जलगायतका क्षेत्रका मानिसहरू लक्षित पर्यटक हुन् । बाह्य पर्यटकको रूपमा मुख्यतः भारतकै पर्यटक आइरहेका आँकडामा देखिन्छ । तर, हामीले आयको आधारमा पनि पर्यटकहरू जोड्ने या मान्छेको फ्लोका आधारमा मात्रै जोड्ने कुराको वर्गीकरण गर्नुपर्ने हुन्छ । पर्यटक आगमन संख्याका आधारमा भारत नै अग्रस्थानमा छ । तर, तेस्रो मुलुकबाट आएका मान्छेहरूलाई मात्रै पर्यटक मान्ने हाम्रो परम्परा छ । त्यसलाई विस्तारै मिनिमाइज गरेर पर्यटन विकास गर्नुपर्छ ।

पर्यटन विकास गरिरहेका छौं त भन्छौं, तर पर्यटनबाट अहिलेसम्म प्रदेश सरकारलाई लाभ भएको देखिँदैन । पर्यटनबाट प्रदेश सरकारले कहिलेसम्म आयआर्जन गर्नसक्छ र त्यसका लागि केके योजना बनाइएको छ ?
पर्यटन क्षेत्रबाट लाभ लिनका लागि सबैभन्दा पहिला हाम्रा पर्यटन क्षेत्रमा पूर्वाधार विकास गर्नुपर्छ । पूर्वाधार विकास भएपछि बाह्य पर्यटक आउने सम्भावना ठूलो छ । जस्तै, मानसरोबरको यात्रा नेपालगन्जदेखि हुम्ला, लिसा भएर हुने गरेको छ । त्यसलाई हामीले धनगढीबाट कसरी टेकअप गर्नुपर्छ, त्यसका लागि योजना बनाउनुपर्छ । दोस्रो कुरा, हिमाल आरोहणका लागि पर्यटकहरूलाई कसरी आकर्षण गर्न सकिन्छ र उनीहरूलाई भौतिक सुविधा के दिन सकिन्छ भन्ने कुराको योजना चाहिन्छ । जस्तै, पर्यटकहरूलाई अपि हिमालसम्म पुग्नका लागि कति घण्टे सुविधा चाहिन्छ ? त्यहाँ कुन–कुन संरचनाहरू छन् ? कुन–कुन बनाउनुपर्नेछ ? भन्ने कुराको ध्यान दिनुपर्छ । त्यसलाई मध्यनजर गरेर हामीले अपिको बेसमा पर्यटक आवास गृह बनाइसकेका छौं । त्यसभन्दा तल दार्चुलाको अपि हिमाल गाउँपालिका–१ मा केही होम स्टे सञ्चालन हुने अवस्थामा पुगेको छ । त्यसभन्दा तल निजी क्षेत्रले बजार पनि बनाइसकेको छ । अब अपि हिमाल आरोहणका लागि चाहिने भौतिक संरचना करिब–करिब बनिसकेको छ । अब प्रचारप्रसारको आवश्यकता छ । हामीले प्रचारप्रसार मात्रै गर्ने, पर्यटक आएनन् भन्ने र हाम्रो लगानी ठीक ठाउँमा फोकस नहुने हो भने पर्यटकहरूको गन्तव्य चेन्ज हुन सक्छ । त्यो हुन नदिनका लागि हामीले पहिलो जोड पर्यटन पूर्वाधार निर्माणमा दिएका छौं ।

मन्त्रालयले यसभन्दा पहिलो पाँचवटा पर्यटन करिडोरहरू अगाडि बढाएको थियो । ती करिडोर बनाउने योजनाहरू कत्तिको प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन् ?
महाकालीमा महाकाली करिडोर र सेतीमा सेती करिडोर निर्माण भइरहेको छ । त्यसमा हामीले केही निरन्तरता र केही नयाँ आयामहरू थपेर योजना कार्यान्वयन गरिरहेका छौं । करिडोर निर्माण कार्य सम्पन्न भएपछि पर्यटकहरूलाई पर्यटन गन्तव्यसम्म पुग्न सेवा सुविधा मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्