पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित
कमिसन बढाउन १५ दिने अल्टिमेटम

पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि ढुवानी भाडा नबढेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायीले भाडा बढाउन १५ दिने अल्टिमेटम दिएका छन् । इन्धनको मूल्य बढ्दा पनि व्यवसायीलाई ढुवानीमा दिँदै आएको कमिसन कटौति गरेको भन्दै व्यवसायीले विरोध गरेका हुन् । ढुवानी भाडा बढाउनुपर्ने मागसहित शुक्रबार धेरैजसो पेट्रोल पम्पले इन्धन नै उठाएका थिएन ।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, नेपाल ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको प्रतिनिधित्व हुने गरी गठन भएको पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पत्रकार सम्मेलन गर्दै भाडा नबढाए ढुवानी रोक्ने चेतावनी दिएको छ । १५ दिनभित्र माग पूरा नभए आन्दोलन गर्ने उनीहरूले जानकारी दिए ।
समितिले निगम व्यवस्थापनलाई डिजेलको भाउ बढेअनुसार भाडा निर्धारण गर्न माग गर्दै आएका थिए । तर निगम व्यवस्थापनले समयमा निर्णय नगर्दा व्यवसायीले आन्दोलनको चेतावनी दिएका हुन् । समितिले विभिन्न मागसहितको ६ बुँदे ज्ञापनपत्र सरकारलाई बुझाएको छ ।
समितिका संयोजक कुशप्रसाद मल्लीले इन्धनको मूल्य पटकपटक बढ्दा समेत भाडा समायोजन नहुँदा व्यवसाय सञ्चालन गर्न कठिन भएले बढाउन माग गरिएको बताए । “दुई वर्ष अघिदेखि ढुवानी भाडा, मजदुर ज्याला बढेको छ । व्यवसाय सञ्चालन गर्न कठिन भएकाले ढुवानीमा भाडा बढाउन माग गरेका हौं,” उनले भने ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले २०७५ सालदेखि हालसम्म १६ पटक डिजेलको मूल्य बढ्दा समेत भाडा समायोजन नभएकोले बढाउन दबाब दिएको बताए । व्यवसायीका अनुसार डिजेलको भाउ लिटरको ९७ रुपैयाँबाट १ सय ३३ रुपैयाँ पुग्दा पनि ढुवानी भाडा समायोजन भएको छैन । नेपाल आयल निगमले बिहीबार डिजेल र पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँ बढाएर मूल्य संरचनामार्फत प्रतिशतमा दिँदै आएको विक्रेता कमिसन वृद्धि नगरेर पुरानै यथावत् रहने बताएको थियो ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले इन्धनको मूल्य स्वचालिन मूल्य प्रणाली अनुसार लागू गरेपछि ढुवानी भाडा पनि सोहीअनुसार नै लागू गर्नुपर्ने बताए । अन्य क्षेत्रको सवारीसाधनको भाडा २८ प्रतिशतले बढ्दा पनि पेट्रोलियम पदार्थमा भने यथावत राखिएकोले व्यवसायी मारमा परेको उनले बताए ।
निगमले भने इन्धनको मूल्य लगातार बढेर निगम घाटामा गएकाले हालको लागि कमिसन यथावत राखिएको बताएको छ ।