Logo

रूस–युक्रेन युद्धको मारमा नेपाली अर्थतन्त्र

रूस र युक्रेनबीचको युद्धले यतिबेला विश्वभर चासो र चिन्ताको अवस्था सिर्जना गरेको छ । युद्धले अशान्तिको अवस्था सिर्जना गर्नेमात्र नभई आर्थिक रूपमा पनि कमजोर बनाउँछ । युरोपेली मुलुक युक्रेनमा रूसले आक्रमण गर्दा नेपालजस्तो तेस्रो मुलुकसम्म युद्धका प्रभाव आइपुगेका छन् । असंलग्न परराष्ट्र नीति अख्तियार गरेको नेपालले खासगरी युक्रेन र रूस दुवै मुलुकसँग व्यापार गर्ने भएकाले पनि नेपाली अर्थतन्त्रमा असर परेको हो । रूस–युक्रेनबीचको यो लडाइँ कहिले टुंगिन्छ भन्ने कुनै संकेत नहुँदा सम्भावित परिणामका लागि पूर्व तयारी गर्नुपर्ने देखिन्छ । खासगरी यो युद्धको असर नेपालको भान्सासम्म नै आइपुग्न थालिसकेको छ । नेपाल र युक्रेनबीचको सीधा व्यापारिक सम्बन्ध रहेको र खाने तेलका लागि युक्रेनसँगै निर्भर रहनुपरेको अवस्था छ । त्यसो त गत आर्थिक वर्षमा आयात व्यापारमा युक्रेन नेपाललाई सबैभन्दा धेरै वस्तु पठाउने मुलुकको सूचीमा छैटौं स्थानमा थियो । चालू आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांक हेर्ने हो भने पनि स्थितिमा खासै परिवर्तन आएको छैन, हालसम्म नेपालका व्यापार साझेदारहरूको सूचीमा युक्रेन आठौं स्थानमा छ । युक्रेनबाट विभिन्न औद्योगिक कच्चा पदार्थ आयात हुने गरेको छ । युक्रेनमाथि रूसी आक्रमणले त्यहाँको निकासी व्यापार प्रभावित हुँदा नेपालमा पनि औद्योगिक कच्चा पदार्थको मूल्य बढ्ने देखिन्छ । खासगरी युक्रेन संकटको तत्काल सुन, पेट्रोलियम पदार्थ र खाने तेलमा पर्ने देखिन्छ । सुन र कच्चा तेलको मूल्य संसारभर नै अकासिन थालिसकेको छ । यी दुवै वस्तु अन्तर्राष्ट्रिय बजारका सबैभन्दा महŒवपूर्ण हुन् । नेपाल र युक्रेनबीच वार्षिक साढे १७ अर्ब रुपैयाँको व्यापार हुने र यसमा पनि खाने तेलको विषय निकै संवेदनशील देखिन्छ । नेपाली उत्पादनको निर्यात नगन्य भए पनि तत्काल आयात प्रतिस्थापनको विकल्प नहुँदा समस्या देखिन्छ । खासगरी युक्रेनबाट आउने खाने तेल, केराउ, टेलिफोन र मोबाइलका उपकरण एवं तयारी कपडा तथा नेपालबाट निर्यात हुने कार्पेट, चिया र चित्रकलाको व्यापारमा समस्या आउने देखिन्छ । पेट्रोलियम पदार्थमा हुने मूल्यवृद्धिले ढुवानी, कृषि उत्पादन र औद्योगिक उत्पादनमा प्रभाव पार्ने भएकाले पनि यसको विकल्पका लागि समयमै ध्यान दिनु आवश्यक छ । आत्मनिर्भर अर्थतन्त्रका लागि कम्तीमा आधारभूत कृषि वस्तुमा उत्पादन वृद्धिको विकल्प छैन भन्ने पनि यसले पाठ पढाएको जानकारहरू बताउँछन् । यसै सन्दर्भमा रूस–युक्रेन युद्धको आर्थिक क्षेत्रमा पर्ने असरका विषयमा सरोकारवालाहरूसँग कारोबारले गरेको कुराकानी :

वर्षको अन्त्यसम्म मुद्रास्फीति दोहोरो अंकको हुन सक्छ
प्रा. डा. विश्वम्भर प्याकु-याल
अर्थविद्

वर्तमान अवस्थामा ६ महिनाको आयात पनि धान्न नसक्ने अवस्थामा मुलुक पुगेको छ । तीन महिनासम्म मात्रै हामीले सहन सक्ने हुन सक्छ । यदि विदेशी मुद्रा सञ्चिति तीन महिनाभन्दा कम मात्रै थेग्न सक्ने अवस्थामा हामी गयौं भने त्योभन्दा ठूलो ‘अलार्मिङ’ केही पनि हुँदैन । अहिले आए बजेटको आकारभन्दा ठूलो व्यापारघाटा हुने भइसक्यो, यसको संकेत आफैंमा राम्रो होइन । व्यापारघाटा यसरी बढ्नुको मुख्य कारण पेट्रोलियम पदार्थ नै मुख्य हो । रूसले युरोपमा ४० प्रतिशत पेट्रोलियम प्रडक्ट सप्लाई गर्ने गरेको थियो, अहिले त्यो सबै बन्द भयो । त्यसैगरी रूसले युरोमा सप्लाइ गरेको ग्यासलाइन पनि अहिले बन्द छ । यो सबै कारणले गर्दा हाम्रा वस्तुहरू आयातमा हरेक कुरामा पेट्रोलियम प्रडक्ट, ग्यास, डिजेल बढ्दो मूल्यको प्रभाव देखिन्छ । अहिले प्रतिब्यारेलको १ सय १० डलर पुगेको छ । नेपालको मुद्रास्फीति ५.६५ प्रतिशत त अहिले पनि छ । हामीले नेपाल आयल निगमलाई ६ अर्बभन्दा धेरै घाटा हुने देखिएको छ । एकातिर पेट्रोलको भाउ बढ्ने र अर्कातिर बजार अनियन्त्रित भएर उपभोग्य वस्तुको बजार मूल्य बढेको छ । वर्षको अन्त्यसम्म विविध कारणले गर्दा मुद्रास्फीति दोहोरो अंकको हुनसक्ने बलियो सम्भावना छ ।
कोभिडको तेस्रो लहर पनि सकिएर अहिले हामी ‘रिकभरी’को चरणमा छौँ । बिस्तारै बजारमा माग बढ्दै गएको छ । जब माग बढ्दै जान्छ तब मूल्य पनि बढ्दै जानु स्वाभाविक हो । भारतमा पनि भर्खरै एउटा प्रक्षेपण गरिएको छ, आगामी तीन महिनामा मुद्रास्फीति बढ्छ भनिएको छ । भारतको पनि रूस र युक्रेनसँग व्यापारिक सम्बन्ध छ । आगामी तीन महिनामा मुद्रास्फीति बढ्छ भन्ने कुरा युद्ध सुरु हुनुअगाडिको कुरा हो, आज युद्ध सुरु भएको सातौं दिन हो । अब कति दिनसम्म चल्छ, कस्तो असर पर्छ भन्न सकिँदैन । अब भारतीय बजारमा हुने मुद्रास्फीतिको प्रभाव पनि देखिने स्वाभाविक छ । ६० प्रतिशतको हाराहारीमा आर्थिक गतिविधि भारतीय बजारमा निर्भर हुन्छ । भारतमा मूल्यवृद्धि भए पनि त्यसको असर नेपालको बजारमा नपर्ने भन्ने कुरा हुँदैन । हामी डलर खरिद गरेर भारतीय रुपैयाँ (आईसी) किनेर कतिपय कच्चा पदार्थ किन्ने गर्छौं । सनफ्लावर, पाम आयलसम्म पनि कच्चा पदार्थ युक्रेनबाट पनि ल्याउने गरेका छौँ । विश्वव्यापी मागको एकतिहाइ गहँुको माग दुई देशले मात्रै आपूर्ति गर्ने गरेका छन् । यो अवस्था कहिलेसम्म रहन्छ भन्न सकिने अवस्था नभएकाले बजार नियन्त्रण गर्ने नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको बीच प्रभावकारी समन्वय हुनुपर्छ । बेस रेट अहिले ७ प्रतिशत पु¥याइएपछि उद्योग पनि बेखुस हुनु स्वाभाविक हो । यस्तो व्यवस्थाले सम्पूर्ण लागत बढ्न जान्छ । विदेशी पुँजीका अभाव, रेमिट्यान्स घट्नु, पर्यटन सुस्त हुनुले नेपालको मौद्रिक बजारमा तरलता अभाव देखिएको कडा नीति लिनुपर्ने अवस्था छ । देशमा उद्योगधन्दा विभिन्न कारणले चल्न सकेका छैनन् । आयात र उद्योगलाई प्रभाव पार्ने कतिपय विधेयकहरू पाँच महिनादेखि व्यवस्थापिका संसद्मा रोकिएका छन् । एकातिर पुँजीको अभाव छ भने अर्काे अर्थतन्त्रका मुख्य–मुख्य सूचकहरू नकारात्मक दिशामा छन् । यस्तो अवस्थामा रूस र युक्रेनको प्रभावले अझै जटिलता ल्याउने देखिन्छ ।

पेट्रोलियम र खाद्यान्नमा मूल्यवृद्धिको प्रभाव देखिइसक्यो
पुरुषोत्तम ओझा
व्यापारविद्

विश्व बजारमा पेट्रोलियम, खाद्यान्न र खाने तेल आपूर्तिमा रसिया र युक्रेनको महŒवपूर्ण भूमिका छ । दुवै देश विश्वबजारमा प्रभाव जमाउन सफल राष्ट्रहरू हुन् । अहिले दुवै राष्ट्र युद्धमा छन् भने विश्वका अन्य देशहरू दुवै राष्ट्रको पक्ष विपक्षमा लागेका छन् । युक्रेनमा छिमेकी रसियाले आक्रमण गरेको बिहीबार सातौं दिन भइसकेको छ । अझ कत्ति दिनसम्म युद्ध भइरहने हो कुनै यकिन छैन । जति यी दुई देशबीच युद्ध लम्बिन्छ त्यति नै विश्व बजारमा पेट्रोलियम, भान्सामा प्रयोग हुने तेल र खाद्यान्नमा प्रभाव बढ्दै जान्छ । निर्यातका हिसाबले दुवै राष्ट्रसँग नेपाल कमजोर रहे पनि आयात व्यापारमा भने दुवै राष्ट्रसँग अर्बमा छ । खासगरी भान्सामा प्रयोग हुने सूर्यमुखी तेल, इलेक्ट्रोनिक सामग्री र पेट्रोलियम पदार्थ रूस र युक्रेनले अन्य मुलुकमा आपूर्ति गर्छन् । त्यसैगरी खाद्यान्नमा रसिया गहुँ र युक्रेन मकै निर्यातमा अग्र स्थानमा छन् ।
नेपालले आयात गर्ने यी देशका सामग्रीहरू अब अन्य देशबाट आउन थाल्छन् । आयात गर्ने देशका लागि आयात गर्नुको विकल्प रहन्न । त्यसकारण नेपालका लागि लोकसन र मूल्यवृद्धिको प्रभाव देखिन्छ । पेट्रोलियम तथा ग्यास निर्यातक देशमध्ये रसिया विश्वको प्रमुख देश रहेकाले यसको असर सबै विश्वमा पर्न जान्छ । आपूर्तिमा अवरोध भएका कारण विश्व बजारमा पेट्रोलियमको भाउ बढ्न थालिसक्यो, अझै बढ्छ । नेपाली बजारमा अहिले नै यसको प्रभाव देखिन थालिसकेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धिले चक्रीय प्रभाव देखाउँछ । अमेरिकी डलरको भाउ लगातार बढेको छ । रूस र युक्रेनको युद्धले डलरको भाउ अझै अकासिने पक्का छ । जब विश्व बजारमा हलचल आउँछ, डलर किन्ने होडबाजी चल्छ । विश्व बजारमै डलरलाई सुरक्षित मुद्राको रूपमा लिने गरिएको छ । बजारमा अत्यधिक माग भएपछि डलरको भाउ अवश्य माथि जाने नै भयो । डलर, पेट्रोलियम, खाने तेल, खाद्यान्नको भाउमाथि जान्छ । यसले गर्दा प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै रूपमा यी राष्ट्रको युद्धले नेपाललाई असर गर्छ । नेपाल कृषिप्रधान देश भनिए पनि खाद्यान्नको आयात ठूलो मात्रामा हुने गरेको छ । जबसम्म देशमा उद्योग र उत्पादनहरू बढ्दैनन् तबसम्म विश्वबजारमा हुने यस्ता खालका हलचलले नेपाललाई असर गर्छ ।

युद्धविराम नभएसम्म मूल्यवृद्धिले निरन्तरता पाउँछ
मनोज दास
वरिष्ठ उपाध्यक्ष, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ

दुई देशहरू रूस र युक्रेनको युद्धको प्रभाव अहिले धनी तथा गरिब सबै खालका राष्ट्रमा परेको छ । सातौं दिनसम्म आइपुग्दा विश्वव्यापी रूपमा पेट्रोलियम, गहुँ तथा गहुँजन्य सामग्रीहरू, खाना पकाउने तेलमा प्रभाव देखिइसकेको छ । युद्धविराम नभएसम्मका लागि मूल्यवृद्धिले निरन्तरता पाउँछ । हाम्रो जस्तो अर्थतन्त्र जहाँ सबैजसो सामान आयात गरेर मात्रै चल्छ । युद्ध, प्रकोप तथा दैबी विपत्तिका बेला सम्पन्न राष्ट्रका तुलनामा गरिब तथा विकासोन्मुख देशले धेरै नोक्सान बेहोर्नुपरेको मुख्य कारण नै आफ्नो देशमा उत्पादन नहुनु हो । अहिले पनि सम्पन्न राष्ट्रहरू आफूलाई चाहिने सामग्री स्टक राख्न सक्छन् भने उत्पादन गरेर आत्मनिर्भर बन्न सक्छन् । तर, नेपालजस्तो देशका लागि विश्वबजारमा मूल्य जतिसुकै पुगोस् तर खरिद गर्नुको विकल्प छैन । के हामीले सामान खरिद नगर्ने निधो गर्नुप¥यो, या त जतिसुकै मूल्यमा पनि तिर्नुपर्छ । आफ्नो देशमा उत्पादन हुने अवस्थामा नहुने देशका लागि पेट्रोलियम पदार्थ आपूर्तिमा ठुलो हिस्सा ओगट्ने देशहरूमा कुनै हलचल हुनु त्रासदी अवस्था नै हो भन्दा फरक पर्दैन । पेट्रोलियम पदार्थको मूल्य बढ्नासाथ चक्रिय असर देखिन्छ, जसका कारण हाम्रो सामान्य जीवनयापन नै महँगो बन्न जान्छ ।
नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तेलको मूल्य मंगलबार बढाएर पठाएको छ । रूस र युक्रेनबीचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल १ सय १० डलरसम्म पुगेको छ । निगमको तथ्यांकअनुसार ७ फागुनमा भएको मूल्य समायोजनको तुलनामा पेट्रोलमा ३.८९, डिजेलमा ३.०८, मटीतेलमा १०.३०, हवाई इन्धनमा ३.३२ रुपैयाँ प्रतिलिटर र एलपी ग्यासमा प्रतिसिलिन्डर ९९.१७ रुपैयाँले बढेर आएको छ । ७ फागुनमा गरेको मूल्य समायोजनअनुसार नै बिहीबारसम्म पेट्रोल १ सय ४५, डिजेल-मटीतेल १ सय २८, हवाई इन्धन आन्तरिक १ सय २६ रुपैयाँ प्रतिलिटर र ग्यासको १ हजार ५ सय ७५ रुपैयाँ छ । रूस र युक्रेनको युद्धका कारण आगामी दिनमा अझै के–कति मूल्यवृद्धि हो र त्यसको असर नेपाललाई पर्ने हो भन्न सकिने अवस्था छैन । हामीले पेट्रोलियम इन्डियन आयल कर्पाेरेसन (आईओसी) सँग किन्दै गर्दा भारत पनि यो युद्धको प्रभावबाट अछुतो रहन नसक्ने भएकाले हामीलाई प्रभाव नपर्ने भन्ने हुन सक्दैन । यो युद्धका विषयमा हामीले केही गर्न सक्ने अवस्था छैन । आफ्नो देशमा उत्पादन भएपछि जतिसुकै मूल्य पुगे पनि खरिद गर्नुको अन्य विकल्प केही छैन । रूस र युक्रेनको युद्ध अझै केही लम्बिन्छ जस्तो लाग्छ, किनकि वार्ता हुन सकेको छैन । पेट्रोलियम पदार्थमा पछिल्लो समय इरानले केही सहयोग गर्ने भनिए पनि मूल्य बढेरै आयो । यसरी सबै मालवस्तुको मूल्य बढ्दै जाने हो भने चालू वर्षमा १० प्रतिशत मुद्रास्फीति पुग्ने देखिन्छ ।

आर्थिक मन्दीसहितको मुद्रास्फीति देखा पर्छ
डा. रेशम थापा
उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय

रसिया र युक्रेन पेट्रोलियम र ग्यासमा आधारित अर्थतन्त्र भएका देशहरू हुन् । यस्ता खालका अर्थतन्त्र भएका देशमा केही अप्ठेरो गतिविधि भयो भने विश्वव्यापी रूपमा असर पर्छ । यसका लागि गतिलो उदाहरण सन् १९७३ मा अरब देशहरू र सन् १९७९ मा इरानमा यस्तै खालको समस्या आउँदा ‘ग्लोबल सक’ देखा परेको थियो, जबकि ती देशहरू साना थिए, तिनले विश्व अर्थतन्त्रमा पु¥याउने योगदान सानो अर्थात् १ प्रतिशत पनि थिएन । यसबाट के थाहा हुन्छ भने पेट्रोलियम र ग्यासमा आधारित अर्थतन्त्र भएका देशमा आएको समस्याले छिटो र धेरै प्रभाव पार्छ । अहिले युद्ध भएका देशमा आफंैमा क्षेत्रफलमा पनि ठूला र अर्थतन्त्रमा महŒवपूर्ण योगदान दिने देशहरू हुन । यी देशबीच भएको युद्धले नकारात्मक ‘सप्लाइ साइड सक’ सिर्जना गर्छ । विश्वव्यापी अर्थतन्त्र कारोना महामारीबाट भर्खरै मात्रै तंग्रिने अवस्थामा छ । केही सप्लाइ चेनहरू रोकिएका थिए, अहिले भर्खरै मात्र चल्न थालेका छन् । हामीले उपयोग गर्ने विविध वस्तु तथा सेवाहरू विश्वव्यापी रूपमा ‘कनेक्टेड’ छन् । कोरोना महामारीबाट पूरै तंग्रिन नसकेको अर्थतन्त्रलाई यसले अझै ठूलो ‘सक’ पैदा गर्छ भन्ने मलाई लाग्छ । संसारभरकै आर्थिक वृद्धि घट्छ र मूल्यवृद्धि बढाउँछ अर्थात् आर्थिक मन्दीसहितको मुद्रास्फीति देखा पर्छ । विश्वव्यापी रूपमा चलेका सेयर बजारहरू १० प्रतिशतसम्म हल्लिए भने हामी ‘करेक्सन स्टेज’ भन्छौँ । त्यसभन्दा माथि २०÷२५ सम्म पुगेको अवस्थामा ‘वियरिस स्टेज’ भनिन्छ अर्थात् अधोगतिमा गएको भनेर बुझ्नुपर्छ । विश्वव्यापी रूपमा चलेका सेयर बजारहरू ‘वियरीय ट्रेन्ड’ मा जानुले सेयर बजारमा नराम्रो समस्या ल्याउँछ । यसलाई अझै भन्दा आधुनिक अर्थतन्त्र अर्थात् सेयर बजारमा युद्धको प्रभाव प्रत्यक्ष रूपमा ठोकिन्छ भन्ने आकलन गरिएको छ । असको कुरा गर्दा रसिया र युक्रेनमा व्यापक नकारात्मक प्रभाव पर्छ । त्यसपछि युरोपियन युनियन हुँदै अमेरिकी बजारमा र अन्य राष्ट्रमा समस्या पर्छ । ठूलो क्रयशक्ति भएका देशका लागि यो युद्धले ठूलै असर गर्छ । अमेरिकन, युरोपियन देशको अर्थतन्त्र कहीं न कहीं खुम्चिन्छ भन्ने आकलन छ । नेपालजस्तो देशका लागि व्यापार, रेमिन्ट्यान्स, पर्यटन र अनुदान वा ऋणजस्ता सहयोगमा नकारात्मक असर पर्न सक्छ । हिजोका अभ्यासहरूमा पनि रेमिट्यान्स र पर्यटनमा धेरै समस्या परेको देखिएको थियो । छिमेकी मुलुकहरू भारत र चीनहरूले रूस र युक्रेनको युद्धमा फरक भूमिका देखिएका छन् । यसले पनि नेपालको अर्थतन्त्रमा भविष्यमा असर देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्