Logo

आम्दानीको स्रोत बन्दै बाख्रापालन

सन्धिखर्क-बिहान उठेपछि चुलोचौकोमै व्यस्त हुने अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिर्भनाका महिला आत्मनिर्भर बनेका छन् । श्रमका लागि विदेश गएका आफूहरूका श्रीमानको भन्दा धेरै कमाइ गाउँमै बसेर यहाँका महिलाले गरेका छन् ।
दैनिक घर गुजारा चलाउन एक रूपैयाँको आम्दानी नहुने र श्रीमानको भरमा पर्ने गरेका महिला पछिल्लो समयमा उन्नत जातका वोयर बोकाबाट समृद्ध बन्दै गएका छन् । न्यूनतम ३० हजारदेखि साढे ४ लाख रूपैयाँसम्म आम्दानी गरेका धेरै महिला उदाहरणीय बनेका छन् ।
१५३ घरधुरीले व्यावसायिक रूपमा बाख्रापालन गरेका यहाँका कृषकले गाउँबाटै राम्रो आम्दानी गरेका छन् । बोयर जातको बाख्रापालनबाट दुई वर्षको समयमा १० वटा पाठा र १ पाठी बिक्री गरी ४ लाख रूपैयाँ आम्दानी गरेको जालकाँडा बाखापालन समूहकी सदस्य गिता भुसालले बताइन् ।
जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीको प्राविधिक सहयोग तथा किसानका लागि उन्नत बीउविजन कार्यक्रमको आर्थिक सहयोगमा डिर्भनामा उत्पादित उन्नत जातका बोयर बोका अर्घाखाँचीसहित छिमेकी जिल्लामा पनि पुगेका छन् । चार महिनामा एक बोका बिक्री गर्दा ५० हजार कृषकले आम्दानी गर्ने भएकाले अर्घाखाँचीलाई नै बोयर बाख्राको रूपमा विकसित गरी अस्ट्रेलिया यहाँ नै बनाउन सकिने जालकाँडा बाख्रापालन समूहका अध्यक्ष गोपाल बस्याल बताउँछन् ।
बोयर जातको बाख्रापालनबाट महिलाहरू गाउँमै राम्रो आम्दानी गर्न सफल भएको केयुविकेका जिल्ला संयोजक राधा नेपालीले बताइन् । “विहानको समयमा चुलोचौकोको काम गरेर पनि बाख्रापालन व्यवसायप्रति महिला अग्रसर भएका छन्,” उनले भनिन्, “गाउँमै राम्रो आम्दानी हुन थालेको छ ।”
नेपालमा पहिलो पटक स्थानीयस्तरमा समूहले व्यवस्थापन गरेको प्रजनन्का लागि शुद्ध वोयर बोका अस्ट्रेलियाबाट ल्याएर स्थानीय बाख्रासँग क्रस गराएर ५० प्रतिशत वोयर बाख्रा उत्पादन गर्ने उद्देश्यले सुरुवात गरेको र मासुमा दोब्वर वृद्धि भएको केयुविकेका व्यवस्थापक कुशलकुमार पौडेलले बताए ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले नगरपालिकाका सवै वडालाई वोयर बाख्रापालनको हवको रूपमा विकास गर्नेमा जोड दिए ।
अर्घाखाँचीबाट उत्पादमा सुरु भएको बोयरबोका प्रदेश नम्बर ५ का सवै जिल्लामा पु¥याउने गरी प्रदेश सरकार अघि बढेको प्रदेशसभा सदस्य चेतनारायण आचार्यले बताए । उनले अर्घाखाँचीमा बोयर बोकालाई स्रोत केन्द्रको रूपमा विकसित गरी यहाँ उत्पादन भएको बोयर बोका देशभर विकसित गर्ने गरी योजनामा लागेको सांसद आचार्यको भनाइ छ ।
बोका उत्पादन गरी बिक्री गरेको रकम कृषकलाई वितरण गर्न कृषि तथा पशुपन्छीमन्त्री चक्रपाणि खनाल अर्घाखाँची पुगेका थिए । उनले रकम वितरण गर्दै महिलालाई आयआर्जनमा जोड्नका लागि बोयर जातको बाख्राले सहयोग पुगेको बताए ।
अर्घाखाँची डिर्भना गाउँ बोयर हवको रूपमा विकसित भइसकेको छ । केयुविकेको सहयोगमा यहाँ सुरु गरिएको बाख्रापालन आम्दानीको बलियो स्रोत बनेको छ । यहाँका बोका गुल्मी, प्युठान, रोल्पालगायतका जिल्लामा पनि पढाइएको छ । भगवतीमा १७ वटा र ढाकावाङ्गमा १२ वटा वितरण गर्न केयुविकेको आर्थिक सहयोगमा पठाइएको जालकाँडा बाख्रापालन समुह डिर्भनाका अध्यक्ष गोपाल बस्यालले जानकारी दिए । डिर्भनामा ६ समूहका तथा १५३ जना सदस्य रहेका डिर्भनाबासीको आम्दानीको स्रोत बाख्रापालन बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्