चीनमा कीर्तिमानी एफडीआई प्रवाह «
Logo

चीनमा कीर्तिमानी एफडीआई प्रवाह

गत वर्ष विश्वव्यापी रूपमा प्रवाह भएको प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले घटेको छ । २०१६ मा १.८१ ट्रिलियन डलरको एफडीआई प्रवाह भएकोमा २०१७ मा १.५२ ट्रिलियन डलर मात्रै कायम भएको व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसंघीय सम्मेलन (अंकटाड) ले जनाएको छ । अन्य सकारात्मक आर्थिक सूचकका बाबजुद एफडीआईमा भएको प्रवाह ओरालो लाग्नु आश्चर्यजनक भएको अंकटाडले सार्वजनिक गरेको ग्लोबल इन्भेस्टमेन्ट ट्रेन्ड्स मनिटरले जनाएको छ ।
“एफडीआईको सुधार लगातार नराम्रो भएको छ,” अंकटाडका महासचिव मुखिसा किट्यूले बताए । यद्यपि विकासशील मुलुकमा भएको एफडीआई प्रवाह भने अघिल्लो वर्षको समान रहेको छ ।
विकसित मुलुकमा एफडीआईको प्रवाहमा २७ प्रतिशतको गिरावट आएको छ । अमेरिकामा घटेको ३२ प्रतिशत र बेलायतमा घटेको ९० प्रतिशत विकसित मुलुकमा एफडीआई ओरालो लाग्नु प्रमुख कारण भएको छ ।
यद्यपि अस्ट्रेलियामा भएको ११ प्रतिशतको वृद्धिले यसमा केही पूर्ति गरेको छ ।
एसियामा सर्वाधिक बढी एफडीआईको प्रवाह भएको अंकटाडका लगानी विभागका निर्देशक जेम्स झानले बताए । चीनमा कीर्तिमानी तहमा एफडीआई प्रवाह भएको पनि उनले बताए ।
विकासशील मुलुकमा भने एफडीआई स्थिर रहेको छ । यी मुलुकमा अनुमानित ६५३ अर्ब डलरको एफडीआई प्रवाह भएको छ । यो अघिल्लो वर्षको तुलनामा २ प्रतिशत बढी हो ।
विशेष गरी विकासशील एसिया, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा लगानी प्रवाह उत्साहजनक भएको छ । विकासशील एसिया विश्वमै सर्वाधिक एफडीआई भिœयाउने क्षेत्र भएको छ । दोस्रोमा युरोपेली संघ र तेस्रोमा उत्तर अमेरिकी क्षेत्र परेका छन् ।
विश्वको संक्रमणको अवस्थामा रहेको अर्थतन्त्रमा एफडीआईमा १७ प्रतिशतको गिरावट आएर अनुमानित ५५ अर्ब डलर कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्