३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा
रुस –युक्रेन द्वन्द्व

– राजदूत खड्का र एनआरएनए अध्यक्ष पन्त सीमा क्षेत्रमा खटिए
– तीन सयभन्दा बढी नेपाली सुरक्षित स्थलमा
– राजधानी केभका सबै नेपालीले युक्रेन छोडे
लन्डन – रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए ।
समितिका अनुसार मंगलबारसम्म २ सय ३२ जना पोल्यान्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन् ।
यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरूलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।
बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले रुसमा रहेका नेपालीहरूले समेत नियमित रूपमा युक्रेनमा रहेका नेपालीहरूसँग सम्पर्क रहेको जानकारी दिए ।
उनले एनआरएनएका राष्ट्रिय समितिहरू उद्धार कार्यमा सकृय रुपमा लागि परेको जानकारी दिँदै एनआरएनए पोल्याण्डको सक्रियतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको जनाए ।
रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी केभमा रहेका सम्पूर्ण नेपालीहरूले युक्रेन छोडेको जानकारी दिए । उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विद्यार्थीहरू चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए । उनले पश्चिमी मुलुकहरूले रुससँगको हवाई उडानमा प्रतिवन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीहरूमा समेत संशय थपिएको बताए ।
बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिए । सुवेदीले युक्रेनमा रहेका नेपालीहरूको संख्या सोचेभन्दा अझ बढी हुनसक्ने बताए ।
समितिका सदस्य सचिव चिरन्जीबी खड्काले बैठकमा नेपालहरूको उद्धारको लागि सीमा क्षेत्रमा खटिएको अनुभव सुनाएका थिए । उनले अत्याधिक चिसोका कारणले युद्ध पीडित नेपालीहरू थप समस्यामा रहेको जानकारी दिए ।
एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीहरूलाई खाना बस्ने र परिचयपत्रलगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जनाकारी दिए । उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीहरूले आफ्नो संजाल बनाएर एक अर्कालाई सहयोग गरेको बताए । उनले युद्ध पीडित नेपालीहरूलाई आर्थिक अभाव रहेको बताए । उनले आफ्नै रेष्टुराँ खाली गरेर १६ जना नेपालीहरू बस्न र खानाको व्यवस्था गरेको जानकारी दिए ।
रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले नवराज पोखरेलले रोमानियमा आएका २३ जना नेपाली सुरक्षित गन्तव्य तिर लागेको जानकारी दिए । उनले केही नेपालीहरू अन्जानमा हंगेरीको सीमामा पुग्दा अलपत्र परेको समेत बताए ।
बैठकमा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकका अध्यक्ष यदु पन्थी, सुरेन्द्र श्रेष्ठ (हङग्रेरी), सन्तोष भट्राई (जर्मनी) सोनाम शेर्पा (स्लोभाकिया), संजय कार्की (हङगेरी), निलम आचार्य (जर्मनी), लगायतले आफ्नो भनाइहरू राखेका थिए ।
बैठकमा युक्रेनको युद्धबाट ४ दिन हिँडेर बाँचेका दाङका बिक्रम खड्काले युद्धमा परेका बेला सामना गरेको कठिनाइ सुनाए । उनले युक्रेनदेखि हङगेरी पुग्दा बाटोमा बम पड्केको र ठूल्ठूलो आवाज सुुने अनुभव सुनाए ।
यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त युद्ध पीडितको उद्धारका लागि सोमबारदेखि पोल्याण्डको सीमा क्षेत्रमा आफंै खटिनु भएको छ भने नेपाली राजदूत रामकाजी खड्काले बुधवारदेखि सीमा क्षेत्रमा आफै खटिएर नेपालीहरूको उद्धार गर्ने तयारीमा लाजेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।