Logo

सेबोन नेप्सेका नेतृत्वलाई ११ बुँदे निर्देशन

अर्थमन्त्रीको जोड बुक बिल्डिङमा

उत्पादनमूलक कम्पनीहरूलाई बुक बिल्डिङमार्फत सेयर बजारमा ल्याउन अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका नवनियुक्त प्रमुखहरूको स्वागत कार्यक्रममा अर्थमन्त्री शर्माले सेवनलाई ११ बुँदे निर्देशन दिएका हुन् । सरकारले बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।
धेरै उत्पादनमूलक कम्पनीहरू सेयर मार्केटभन्दा बाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्नुपर्ने शर्माले बताए । बोर्डले यसअघि नै सिवम् सिमेन्टको सेयर बुक बिल्डिङमार्फत जारी गर्ने प्रयास गरे पनि विवाद भएको थियो । अर्थमन्त्री शर्माले सेबोन तथा नेप्सेका नवनियुक्त नेतृत्वलाई कसैको दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन् । पुँजी बजारको समस्या समाधान गर्न तथा सर्वसाधारणको लगानी सुरक्षित बनाउन नयाँ नेतृत्व छनोट गरिएको बताउँदै उनले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजी बजारबाट आउने वातावरण सृजना गर्न निर्देशन दिएका छन् । “जनतामा भएको पैसा पुँजी बजारमा त आयो । अब यो पैसालाई पुँजी निर्माणमा लगाउन सक्नुप-यो । ठूला परियोजनामा पुँजी लगानी गर्ने विषयमा तपाईंहरू (बोर्ड र नेप्सेका अधिकारी)ले ध्यान दिनुपर्छ,” उनले भने ।
अर्थमन्त्री शर्माले कोभिड–१९ महामारीबीच पनि छिमेकी देशहरूले पुँजी बजारलाई कसरी लगानीकर्तामैत्री बनाएका छन् भन्ने विषयमा अध्ययन गर्न निर्देशन दिएका छन् । “नेपालको पुँजी बजारलाई कसरी अगाडि बढाउने भन्ने विषयमा भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा जस्ता देशको पुँजी बजार अध्ययन गर्नुहोस्,” उनले नवनियुक्त नेतृत्वलाई सुझाव दिए ।
कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्वले पुँजी बजारलाई सकारात्मक बाटोमा डो¥याउने विश्वास लिएको बताए । त्यस्तै राजस्व सचिव कृष्णहरि पुस्करले सेयर बजार धेरै सुधार हुँदै गएको र भएका कमीकमजोरीलाई अर्थ मन्त्रालयको निर्देशनमा पारदर्शी रूपमा सुधार्ने काम जारी रहेको बताए । उनले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धी हुने गरी नेपालको सेयर बजारलाई अगाडि बढाउन निर्देशन दिएका छन् ।
कार्यक्रममा धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालले वित्तीय साक्षरताका क्षेत्रमा धेरै काम गरेर सेयर लगानीकर्ताहरूलाई सुसूचित गर्ने बताए । “साक्षरताकै अभावमा लगानीकर्ता हल्ला गर्ने र हल्लाको पछि लाग्ने देखिएको छ । वित्तीय साक्षरताका क्षेत्रमा धेरै काम गर्नुपर्ने देखिएको छ,” उनले भने । नेप्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले लगानीकर्ताको गुनासो नआउने गरी काम अगाडि बढाउने प्रतिबद्धता जनाए ।

अर्थमन्त्रीका ११ निर्देशन
– बुक बिल्डिङ प्रणाली लागू गर्ने
– पुँजी बजारलाई लगानीकर्तामैत्री बनाउन छिमेकी मुलुकहरूको अध्ययन गर्ने
-पुँजी बजारबाट पुँजी निर्माण गर्ने विषयमा अध्ययन गर्ने
– टीएमएसमा देखिएका समस्या सुधार गर्ने
– साना कम्पनी तथा स्टार्टअपलाई पुँजी बजारमा प्रवेश गर्न बाटो खोल्ने
– पब्लिक लिमिटेड कम्पनीका लागि ओटीसी बजार विकास गर्ने
– इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणालीको सुधार गर्ने
– अटोमेसन अक्सन सुरु गर्ने
– ब्रोकरलाई सक्षम बनाउन ‘सब–ब्रोकर’ मोडल तयार गर्ने
– वैज्ञानिक तवरले निर्माण गरिएको नयाँ परिसूचक तयार गर्ने
– ब्रोकरलाई मार्जिन ल्यान्डिङ दिने कुरा लागू गर्ने
– सर्कुलर कारोबार, पम्प एड डम्प र इनसाइडर ट्रेडिङ रोक्ने

प्रतिक्रिया दिनुहोस्