माथिल्लो तामाकोसीबाट ठेकेदार फर्कन सकस «

माथिल्लो तामाकोसीबाट ठेकेदार फर्कन सकस

दोलखा-माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम पूरा भएको ७ महिना बितिसक्दा पनि ठेकेदार आयोजनास्थलबाट फर्कन पाएको छैन । काम पूरा भएपछि आयोजनाको संरचना बनाउन ल्याइएका मेसिन, उपकरणहरू फिर्ता लैजान नपाएपछि आयोजनास्थलमै आफ्ना सामग्रीको सुरक्षाका लागि ठेकेदारका प्रतिनिधि कुरिरहेका हुन् ।
आयोजनामा ४ वटा अन्तर्राष्ट्रिय ठेकेदारले काम गरे । जसमा सिभिलततर्फ चीनको सिनो हाइड्रो कर्पोरेसन, हाइड्रो मेकानिकाल र प्रसारण लाइनमा भारतीय कम्पनीहरू टेक्सम्याको एण्ड रेलवे इन्टरनेशनल र केइसी इन्टरनेशनलका साथै इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सको काम अष्ट्रियन कम्पनी एन्द्रिज हाइड्रोले काम गरेका थिए । आयोजनाको सुपरीवेक्षण मूल्याङ्कनमा जर्मन र नर्वेको ल्याह्मेर-नरकन्सल्टले परामर्शदाताको रुपमा काम गरेका छन् ।
एउटा ठेक्का लिएको ठेकेदारले अर्को ठाउँ लिएको ठेक्कामा काम सकिएका आयोजनास्थलबाट आफ्ना भएका यन्त्र, उपकरण र औजार लैजानुपर्छ । तर माथिल्लो तामाकोसीमा सबैभन्दा बढी औजार, उपकरण पनि सिनो हाइड्रोकै छ । यसले तनहुँको १४० मेगावाटको माथिल्लो सेती, रसुवाको २१६ मेगावाटको त्रिशुली र ७८ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको पनि ठेक्का पाएको छ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पनि सिनो हाइड्रोकै हो । ती आयोजनामा काम गर्न माथिल्लो तामाकोसीबाटै आफ्ना गाडी, औजार र उपकरण लैजानुपर्नेमा ७ महिनादेखि रोकिँदा नयाँ ठेक्का पाएको ठाउँमा पनि काम राम्रोसँग गर्न नपाएको सिनो हाइड्रो कर्पोरेसनका म्यानेजर झाङले गुनासो गरे ।
परामर्शदाताको सिफारिस, आयोजनाको पत्र र जिल्ला सुरक्षा समितिको बैठक समेतको निर्णयपछि आयोजनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको उपस्थितिमा ३ दिन लगाएर लोड भएर स्थलबाट सामान बोकेर निस्केका ८ वटा ट्रक नेपाली सेनाको गेटपास भए पनि ५३ दिन सिंगटीसम्म रोकिए । ती सामान गन्तव्यमा पु-याउन नसकेपछि पुनः आयोजनास्थल फर्काइयो । तर फर्केको कारण खोज्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुर नेतृत्वमा छानबिन समिति बनाएर त्यसको प्रतिवेदनपछि सामान आयोजनास्थलमा झारियो । प्रतिवेदन अहिलेसम्म गोप्य छ । स्थानीयले अवैध सामान भनेर ट्रक सिंगटीमा रोकेपछि १५ दिनपछि ट्रक प्रहरीकै सहयोगमा फर्काइएको थियो ।
तर प्रतिवेदनमा न सामान अवैध छ भनेर कसैलाई कारबाही गरियो न त सामान गन्तव्यमा पुग्न दियो । अहिले सिनो हाइड्रोले ५३ दिनसम्मको ट्रक भाडाबापत ३१ लाख ५४ हजार माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई दाबी गरेको छ । तर सिनो हाइड्रोका लागि यो सानो दाबी भएको तर सामान लैजान नपाउँदा अरु आयोजनाको क्षति करोडौंको हुने सिनो हाइड्रोका इन्जिनियर बालकृष्ण निरौलाले बताए ।
माथिल्लो तामाकोसीको विद्युत गृहमा काम गरेको सिभिल तर्फको ठेकेदार सिनो हाइड्रोपावर कर्पोरेसनको व्यूरो ६ को ठेकेदारले आफ्नो सामान स्थानीयका ८ वटा ट्रक कात्तिक ८ गतेदेखि १० गतेसम्म लोड गराएर सशस्त्र प्रहरी, नेपाल प्रहरीले सामान र कागज जाँचबुझ गरेर नेपाली सेनाको चेकपोष्टबाट गेट पास पाएर निस्किए । तर सोही दिन १० किलोमिटर टाढा भोर्ले भन्ने ठाउँमा स्थानीयको अवरोधका कारण रोकिए । ३ दिनपछि प्रहरीले स्कर्टिङ गरेर सिंगटी बजार पु¥याए पनि त्यहाँ पनि स्थानीयको नाममा रोकिएपछि ट्रक अघि बढ्न सकेनन् ।
भोर्लेमा रोकिएका ८ वटा ट्रकमध्ये २ वटा राजमार्गबाट गौरीशंकर गाउँपालिका वडा नं. ६ गुरुम्फी स्थानीयले जबरजस्ती पु¥याए । त्यहाँ प्रहरीकै उपस्थितिमा अनलोड भयो । ती सामान पुनः लोड गरेर २ दिनपछि सिंगटी ल्याए । सिनो हाइड्रोले आयोजना निर्माणका सिलसिलामा ल्याएर काम सकिएपछि फर्काउन लागेको इलेक्ट्रिकल प्यानल, ट्रान्सफरमर, स्टिल पाइप, र आल्मुनियम पाइप थिए ।
गत साउनमा पनि माथिल्लो तामाकोसीमा काम सकिएपछि यहाँका उपकरण तनहुँ र रसुवा लैजान खोजिएको थियो । तर ३ महिनादेखि आफ्ना उपकरण लैजान नपाएपछि उसले जिल्ला प्रशासन कार्यालय पटक पटक धाउने र पत्र समेत लेख्यो । तर उल्टै प्रशासनले नै आफ्ना सामान रोकेपछि गृह मन्त्रालय समेत गुहा-यो ।
गृह मन्त्रालयले साउन १३ गते तत्काल ठेकेदारका सामान लैजान दिनु भन्ने परिपत्र गरेपछि ३ दिनमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सर्वपक्षीय बैठक राखे । बैठकबाट कानुन बमोजिम माथिल्लो तामाकोसीको सामान लैजान दिने निर्णय भयो । बैठकको निर्णयलगत्तै लामाबगरबाट लोड भएका अस्थायी पुल बोकेका २ वटा टेलर फेरि ७ दिनसम्म माथिको आदेश भन्दै प्रहरीबाटै रोकिए ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रमुख प्राविधिक अधिकृत विमल गुरुङका अनुसार आयोजना र ठेकेदारबीचको सम्झौता अनुसार आयोजनाको संरचना बनाउन ल्याएका सामान प्रयोग भएर बाँकी रहेका बिग्रेका र स्क्राप भएका आयोजनाकै हुने र ती कवाडी पछि आयोजनाले बोलपत्र मार्फत लिलामी गर्छ । तर आयोजनामा आएका सामान प्रयोग नगरी स्क्राप नभएका सामान र आयोजना बनाउन ल्याएका गाडी, उपकरण, मेसिन ठेकेदारकै हुने उल्लेख छ ।
तामाकोसीको कवाडीमा राजनीतिक दलका नेता कार्यकर्तादेखि स्थानीयसम्मले आँखा लगाएका छन् । एक वर्षअघि तामाकोसी नदी सरसफाइ गरेर कवाडी उठाउने अनुमति नदिँदा तत्कालिन प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी सरुवा भएका थिए । त्यसपछि आएका बासुदेव घिमिरेको पालामा वैशाखमा एन्द्रिज हाइड्रोले अन्यत्र लैजाँदै गरेका फलामे बिमका ३ वटा ट्रक जबरजस्ती स्थानीयले भोर्लेमा रोकेर झारे । ती सामान अहिलेसम्म अलपत्र छन् ।
असोजमा घिमिरे सरुवा भएपछि आएका टेकराज निरौला पनि आफ्नो पालामा कुनै जोखिम नलिने र आफ्नो अबको १५ दिने जागिरे कसरी सहजै अन्त गर्नेमा मात्र लागेका छन् । आयोजनाका प्रमुख प्राविधिक अधिकृत गुरुङले ठेकेदारले आफ्नो सामान लिएर फिर्ता हुन प्रशासनले सहयोगी नबनेको आरोप लगाए ।
परामर्शदाताकै सिफारिसमा आयोजनाको पत्र अनुसार भएका सामान २ प्रहरी संगठनका प्रतिनिधिकै उपस्थितिमा लोड भएर गेट पास लिएका ट्रकको सुरक्षा दिएर गन्तव्यमा पठाउन नसक्नु र पुनः छानबिनको नाटक भएको उनले आरोप लगाए । प्रमुख जिल्ला अधिकारी निरौलाले भने रसुवा लैजान लागेको सामान सिंगटीमा रोकेको जानकारी आफूलाई नआएको र पुनः फर्काएर पछि छानविन समिति बनाउँदा समेत रोक्ने व्यक्ति र समूहको बारेमा कसैले उजुरी समेत नगरेको र नभनेको बताए ।
सिनो हाइड्रोले सामान लैजान खोज्दा आयोजनाले पटक पटक प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालय, ऊर्जा मन्त्रालय, स्थानीय सरकार समेतलाई गुहार मागेको छ । भदौदेखि असोजसम्म केही उपकरण बाहिर गए पनि कात्तिकदेखि रोकिएपछि ठेकेदारले अरु सामान लैजाने आँट समेत गरेको छैन । आयोजनाले बाहिर लैजाने सामान कहाँ कुन प्रयोजनका लागि केके लैजाने भनेर गन्तव्यस्थान समेत तोकेर लैजाने निर्णय गरेर लैजान खोज्दा समेत ठेकेदारले लैजान पाएन ।

प्रतिक्रिया दिनुहोस्