सेयर बजारमा एमसीसीको प्रभाव सकारात्मक

झन्डै ३ हजार दुई सयको आसपास पुगेको पुँजी बजार केही समय अगाडि ह्वात्तै घटेर दुई हजार २ सय ६० मा झरेको थियो । त्यसपछि पुनः उकालो लाग्यो र ३ हजारको आसपास पुगेर पुनः घटिरहेको छ । आइतबार सेयर बजार दुई हजार ६ सय ५३ अंकमा रोकिएको छ । यसलाई हेर्दा सेयर बजारमा व्यापक तलमाथि भइरहेको छ । राष्ट्र बैंकले लिएको नीतिका कारण सेयर बजारमा उतारचढाव देखियो भन्नेहरूको संख्या भने कम छैन । हुन त यसबीचमा सेयर बजारसँग सम्बन्धित धेरै नीतिमा राष्ट्र बैंकले परिवर्तन गरेको छ । त्यसैअन्तर्गत मौद्रिक समीक्षामार्फत सेयर धितो कर्जाको जोखिमभार बढाएर १ सय ५० बनाइएको छ । त्यसैको प्रभावअन्तर्गत सेयर बजार घटिरहेको भन्ने अभिव्यक्ति पनि पछिल्लो समय आइरहेका छन् । त्यसमा पनि बैंकिङ क्षेत्रमा देखिएको तरलता, एमसीसीले तातेको नेपाली राजनीति र समाज तथा नजिकिँदै गरेको चुनावले सेयर बजारमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा लगानीकर्ता तथा विज्ञसँग कारोबारकर्मीले गरेको कुराकानीको सार :
एमसीसीलगायतका कारणले सेयर बजारलाई प्रभाव पारिरहेको छ
छोटेलाल रौनियार
सेयर लगानीकर्ता
मौद्रिक नीतिको समीक्षा, तरलता, ब्याजदरमा आएको वृद्धि तथा एमसीसीलगायतका विभिन्न कारणले सेयर बजारलाई कुनै न कुनै रूपमा प्रभाव पारिरहेको छ । तर, यी कुरा पहिले नै अपेक्षित थिए । मौद्रिक नीतिमा राष्ट्र बैंकले कुनै नीतिमा गर्छ भन्ने हामीलाई लागेको थिएन । अन्य विषयमा पनि सुधार आउँदैन भन्ने पहिले नै अपेक्षित थियो । ४-१२ को कुरा पनि पुरानो भइसकेको छ । तरलताको समस्या पनि पुरानो भइसकेको छ । नयाँ विषय केही आएको थिएन । तर, अहिले सेयर धितो कर्जाको जोखिम भार सयबाट बढाएर १ सय ५० बनाइएको छ । पहिले पनि १ सय ५० नै थियो, त्यसलाई म अध्यक्ष हुँदा सय बनाएका थियौँ । तर, अहिले पुनः १ सय ५० बनाइएको छ । यी सबै विषयलाई हेर्ने हो भने राष्ट्र बैंकले पुँजी बजारलाई केन्द्रित गरेर नीति ल्याइरहेको छ । ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ । ल्याप्चे लगाएर आफ्नो धितो राखेर हामीले कर्जा लिएका हुन्छौँ । अर्को तीन–तीन महिनामा ब्याज तिर्नुपर्छ । हामीले डिफल्ट ग-यौँ भने उनीहरूले सेयर लिलाम गरेर बेच्दिन्छन् । अहिलेसम्म सेयरबाट कुन बैंक डुबेको छ ? बैंकहरूको एक नम्बरको कर्जा नै सेयर बजार हो । तर, सेयर बजारलाई अहिले हेपिएको छ । हामीले हाम्रो सम्पत्ति राखेर पनि कर्जा लिन नपाइने ? तीनवटा बैंकबाट १२ करोड पु-याउने कुरा छ । एउटाबाट लिए पनि त्यो कर्जा नै हो । तीनवटाबाट लिँदा पनि कर्जा नै हो ।
५० लाख डिम्याट भइसक्यो । ४० लाखले मेरो सेयर लिएका छन् । २६ लाखले आईपीओ भर्छन् । तर, राष्ट्र बैंकको नजर भने परिवर्तन भएको छैन । सेयर बजारमा ठूला–साना व्यापारीहरूले कर्जा लिएर लगानी गरिरहेका छन् । तर, राष्ट्र बैंकले डी ग्रेडको बजार भनेर राखिदियो । त्यसैले त्यसतर्फ ध्यानपूर्वक सोच्नु आवश्यक छ ।
अहिले बजारमा कर्जाको ब्याजदर बढिरहेको छ । तर, अहिले ब्याज बढे पनि पुँजी बजारलाई भने त्यति धेरै असर नपर्ने देखिन्छ । किनकि कर्जाको पैसा धेरैले तिर्दै गइरहेका छन् । एक त त्यसमा ४-१२ को प्रभाव प-यो । त्यसमा पनि अहिले नयाँ कर्जा लिने कोही पनि छैनन् । त्यसकारण ब्याज बढे पनि त्यसले केही असर गर्दैन ।
अर्को एमसीसी आयो भने पनि त्यसले पुँजीबजारमा सकारात्मक प्रभाव पार्नेछ । एमसीसी विकासको फड्को मार्ने चिज हो । यसलाई अनावश्यक विरोध भइरहेको छ । राष्ट्रिय सन्धि गर्दा नेपालका राजनीतिक दलसँगको विश्वास नभएर नै संसद्मा पास गर्ने भनिएको हो । अन्य बुँदाहरू पनि हामीले अन्य द्विपक्षीय तथा बहुपक्षीय सम्झौता गर्दा गरिने बुँदाहरू नै हुन् । यसलाई राजनीतीकरण गरियो । त्यो सम्झौता लागू भएका ४६ वटा देशमा हेर्ने हो भने आर्मी आएको छैन । तीन देशमा फिर्ता भएको हो । श्रीलंकामा नलिनुको उनीहरूकै आन्तरिक कारणले हो ।
नेपालले दुई हजार मेगावाट विद्युतमात्र खपत गर्न सक्छ । यो वर्ष नेपालको विद्युत उत्पादन बढेर ३५ सय मेगावाट पुग्दै छ । अब बाँकी रहेको विद्युत भारत र बंगलादेशले किनेन भने खेर जान्छ । त्यतातर्फ किन ध्यान नदिने ? त्यसैले एमसीसीलाई स्वीकार गर्नुपर्छ । त्यसले सेयर बजारलाई समेत माथि लैजानेछ । साथै, अहिले क्रिप्टो करेन्सीलाई पनि टाइट गरिएको छ । त्यसकारण उता लगानी भएको पैसा पनि सेयर बजारमा आउने देखिएको छ । त्यस्तै एनआरएनदेखि विदेशमा बस्ने नेपालीले पनि सेयरमा लगानी गरिरहेका छन् । त्यसैले सेयर बजारलाई थप विकास गर्दै अगाडि बढ्नुपर्छ ।
एमसीसीले पुँजी बजारलाई सकारात्मक प्रभाव पार्नेछ
अम्बिका पौडेल
सेयर लगानीकर्ता
पछिल्लो समय पुँजीबजारमा नेपाल राष्ट्र बैंकले ४-१२ को नीति ल्याएसँगै ठूला लगानीकर्ताले लिएको कर्जा भुक्तानी गरिसकेका छन् भने साना लगानीकर्ताले लिएको कर्जा भने केही हदसम्म बढेको देखिन्छ । त्यसले गर्दा बजारको क्षेत्र झनै फराकिलो भएको छ । पछिल्लो समय हेर्दा बैंक तथा वित्तीय संस्थाको कर्जा निकै टाइट हुँदै गएको र पुँजीबजारमा कर्जा प्रवाह नभएको नै देखिन्छ । त्यसैले लगानीकर्ताहरूले आफूसँग भएको बढीभन्दा बढी लगानी प्रयोग गरेको अवस्था हो । राष्ट्र बैंकले पुँजी बजारको विस्तार होला कि, बढ्ला कि भन्ने हेतुले धेरै पटक विभिन्न साधनहरू प्रयोग गरेको छ ।
यद्यपि केही अपवादलाई छोड्ने हो भने नेपालको पुँजी बजारको ठूलो हिस्सा अन्डरप्राइसिङमा रहेको छ । अन्य क्षेत्रमा लगानी गर्ने त्यस्तो वातावरण नभएका कारण मानिसहरूले पुँजी बजारमा परिचालन गरेको अवस्था हो ।
त्यस्तै अहिले राष्ट्र बैंकले जोखिम दर बढायो भन्ने कुरा छ । कर्जा नै लिन नपाएपछि जोखिम दरले खासै असर गर्दैन । अर्को मनन गर्नुपर्ने कुरा कुल प्रणालीको दुई प्रतिशतमात्र पुँजी बजारमा ऋण भएको छ । अर्थात् कर्जा एक खर्बभन्दा तल आइसकेको अवस्था छ । तर, ठूला व्यवसायी तथा घराना, जसले सेयर धितो राखेर लिएको कर्जा अन्य क्षेत्रमा लगानी गरिरहेका छन्, उनीहरूको सन्दर्भमा भने यसले केही समय लगानीकर्ताको मनोविज्ञानलाई असर पार्ने देखिन्छ । त्यसैले पनि केही दिनदेखि सेयर बजार घटिरहेको छ । तर, लामो समयमा यसले कुनै पनि लगानीकर्तालाई असर गर्ने छैन ।
त्यसमा पनि एमसीसीमा सकारात्मक कुरा आएको छ । त्यसले पुँजी बजारलाई पनि सकारात्मक प्रभाव पार्नेछ । निकट भविष्यमा हुन गइरहेको स्थानीय चुनाव र राष्ट्र बैंकले आयातमा गरेको कडाइका कारण आयातमा आएको कमीले शोधनान्तर स्थिति पनि विस्तारै कम हुँदै जानेछ । तरलता पनि एक हिसाबमा बढ्दै जाने र चुनाव आउँदै गर्दा भोलिका दिनहरू आशालाग्दा छन् ।
अहिले पुँजीबजारमा लगानी गर्ने लगानीकर्ताहरूले किनेपछि भोलि नै बढ्नुपर्ने, खातामा आएकै दिन बेच्नुपर्ने, नाफा कमाउनुपर्ने जस्तो प्रवृत्ति देखिएको छ । छोटो समयमा नाफा कमाउनेका लागि त भन्न सकिँदैन, तर दीर्घकालमा लगानी गर्नेहरूका लागि कहीँकतै आत्तिनुपर्ने अवस्था छैन ।
एमसीसीमार्फत आउने पैसा घुम्दैफिर्दै सेयर बजारमा आउँछ
राधा पोखरेल
सेयर लगानीकर्ता
पुँजी बजार निकै संवेदनशील क्षेत्र हो । यसलाई साना कुराले पनि असर गर्ने गर्छ । देशको राजनीतिक अवस्था, चुनाव तथा समय–समयमा परिवर्तन भइरहने नीतिहरूले धेरै नै असर गरिरहेका हुन्छन् । त्योसँगसँगै एमसीसीका कुरा पनि आइरहेको छ । चुनाव हुनै हुँदैन भन्ने कुरा पनि आइरहेका छन् । चुनावको समयमा बजारमा आर्थिक क्रियाकलाप बढ्छन् । मानिसहरूको हातमा पैसा आउँछ । आएको पैसालाई उनीहरूले सेयर बजारमा लगानी गर्छन् । त्यसले पुँजीबजारलाई बढाउँछ भन्ने कुरा हो ।
अहिले राष्ट्र बैंकले सेयर बजारलाई प्रत्यक्ष रूपमा असर पार्ने खालका नीतिहरू ल्याएको देखिन्छ । त्यसअन्तर्गत ४÷१२ को नीति लियो । त्योसँगसँगै ब्याजमा परेको चापको कुरा पनि छँदै छ । त्यसका साथसाथै सेयर बजारलाई चारैतिरबाट क्याप लगाइएको छ । हामीले सेयर धितो लिएर जुन कर्जा लिएका छौँ त्यो कोर क्यापिटलको ४० प्रतिशत मात्र बजारमा आउँछ । त्यसपछि मार्जिनको कुरा छँदै छ । क्याप लगाइरहेको समयमा पनि पुन ४÷१२ को नीति लिनु भनेको राष्ट्र बैंकले प्रत्यक्ष रूपमा सेयर बजार बढ्छ भनेर रोक्न खोजेको अवस्था हो । त्यसैले यस्ता कुराहरूले सेयर बजारलाई धेरै असर गरिरहेको हुन्छ । त्यस्तै अहिले पछिल्लो समय बजारमा एमसीसीको कुरा आएको छ । एमसीसीमार्पmत आउने पैसा घुम्दैफिर्दै सेयर बजारमा आउँछ भन्ने कुरा हो । तर, एमसीसीको रकमभन्दा त हामीले तिर्ने राजस्व धेरै छ । देश विभाजित भएको समयमा हामी एमसीसीका लागि यति धेरै लडिरहेका छाँै भने सेयर बजार पनि त एक सरकारको आम्दानीको क्षेत्र हो । त्यसका लागि हामीहरू किन नलड्ने ? त्यसैले सरकारले पुँजीबजारका विषयमा पनि सोच्नुपर्छ । यसलाई पनि महत्वको विषय बनाइनुपर्छ ।
हुन त अहिले धितोपत्र बोर्ड र नेप्सेमा नयाँ नेतृत्व आउनुभएको छ । अहिले बजारमा अपडेट गर्नुपर्ने कुराहरू धेरै छन् । त्यसैअनुसार जानुपर्ने हुन्छ जस्तो लाग्छ । अझै त्यसमा पनि यसअघि ५८ वटा बुँदाको समस्या बुझाएका थियौँ । ती सबै सुधारहरू समयमा नै भए भने पनि राम्रो हुन्छ । १२–१३ वटा बुँदा पूरा हुन अझै बाँकी नै छन् । ती मागहरू पनि समयमा पूरा हुनुपर्छ । अर्को मार्जिनल लोनको कुरा छ । ब्रोकरको कुरा छ । बुक बिल्डिङको कुरा छ । धेरै काम बाँकी छन् । हामीले पहिले बुझाएका बुँदाहरू पूरा भए पनि धेरै माग पूरा हुन्छन् ।
अहिले बजारमा तरलताको समस्या बढेको छ । जबसम्म तरलताको समस्या छ तबसम्म बजारले उचाइ लिन समस्या भइरहेको छ । त्यसपछि भने क्रमशः सुधार हुँदै जान्छ भन्ने लागेको छ ।
पुँजी बजार बढ्यो भने तरलता समस्या समाधान हुन्छ
विष्णुप्रसाद बस्याल
सेयर बजार विश्लेषक
जोखिम भारको कुरा गर्दा पहिले १ सय ५० नै थियो । बीचमा त्यसलाई खसालेर १ सय प्रतिशत पु¥याइएको हो । अब अहिले पुनः त्यसलाई १ सय ५० पु-याइएको हो । तर, त्यो त्यति ठूलो समस्या होइन । अहिले बैंकिङ प्रणालीमा आइरहेको क्रेडिट क्रन्चको समस्या नै पुँजी बजारको प्रमुख समस्या हो । यद्यपि बैंकहरूसँग पैसा नै नहुने भुक्तानी नै गर्न नसक्ने अवस्था पनि होइन । कर्जा प्रवाह गर्न नसकेको अवस्था मात्र हो । यसले सेयर बजारलाई मात्र नभएर सम्पूर्ण अर्थतन्त्रलाई नै असर गरेको छ र त्यसको एक प्रतिविम्ब सेयर बजार पनि हो । त्यसले फरक पार्छ ।
यसमा राष्ट्र बैंकको नीति पनि पुँजी बजारलाई टार्गेट गर्ने खालको देखिएको छ । राष्ट्र बैंकले बुझ्नुपर्ने कुरा के हो, नीति–नियमले सहयोग नगरी पुँजी बजारमाथि जान सक्दैन । पुँजी बजार बढ्छ भने त्यसले अहिले भइरहेको तरलता समस्याको पनि समाधान गर्छ । हाम्रो सम्पत्ति कति छ भन्ने कुरा ‘बजार पुँजीकरण’ले तय गर्ने कुरा हो । ‘बजार पुँजीकरण’ घट्दा निजी क्षेत्रहरूको बजार पुँजीकरण पनि घटिरहेको हुन्छ । त्यसले कुल सम्पत्ति नोक्सान भइरहेको छ । त्यस कारणले राष्ट्र बैंकले नीति ल्याउँदा पुँजी बजारमा एउटा ‘रिटर्न जेनेरेट’ भइरहनुपर्छ । लामो समयसम्म बजार तल आएन भने त्यसमा करेक्सन हुन्छ । तल पनि आउँछ । त्यसमा राष्ट्र बैंकले हस्तक्षेप गरेर नै घट्छ भन्ने होइन । तर, नीति पुँजी बजारलाई घटाउनुपर्छ भन्ने खालको हुनु हुँदैन ।
पुँजीबजारको सबै पैसा कानुनी पैसा नै हो । मूल्यमा अनावश्यक वृद्धि भएको क्षेत्र त घरजग्गामा हो । रियलस्टेटलाई केही बन्देज लगाउने पुँजी बजारलाई भने अझै सहज गर्ने, ताकि रियलस्टेटमा गएको पैसा फर्किएर पुँजी बजारमा नै आओस् । त्यो खालको नीति अवलम्बन गर्ने हो भने पुँजी बजारको धेरै विकास हुन्छ । रियलस्टेटमा पाँच करोडमा किनेको जग्गाको सरकारी भाउ ५० लाख हुन्छ । अर्थात् साढे ४ लाख रुपैयाँ क्यासमा कारोबार हुन्छ । यो हामी सबैले जानेको कुरा हो । भनेपछि त्यो साढे ४ लाख रुपैयाँ प्रणालीबाट बाहिरियो, तर प्रणालीमा फिर्ता त आएन नि । त्यो त्यहीं घुमिरहेको हुन्छ ।
तर, त्यो पैसा एकपटक पुँजी बजारमा आयो भने सम्पूर्ण कारोबार बैंकिङ प्रणालीबाट मात्रै हुन्छ । त्यसले गर्दा पुँजी बजारलाई इन्करेज गर्ने खालको नीति र अन्य अनुत्पादित क्षेत्रलाई डिस्करेज गर्ने खालको नीति हुनुपर्छ ।
वर्तमान अवस्थालाई हेर्दा बजार ३२ सयबाट घटेर २२ सय ६० मा पुगेको हो । आज विद्यमान जेजति समस्या छन् ती सबै समस्यालाई बजारले पहिले नै निरुत्साहन गरिसकेको छ । सेयर बजारले आउने ४-५ महिनाका घटनाक्रमहरू कस्ता हुन सक्छन् भन्ने कुराको पहिचान गरेर त्यसअघि नै मूल्य निर्धारण गरेको हुन्छ । त्यसैले मैले वर्तमान घटनाक्रमलाई हेर्दा दुई–चार अंक तलमाथि हुन्छ, तर २२ सयभन्दा तल आउँदैन ।
बैंकहरूले ब्याजदर बढाइरहेका छन् । बैंकहरूले १७-१८ प्रतिशत ब्याजदर पु¥याए भने कर्जा लिनेहरूका लागि निरुत्साहन हुन्छ । कर्जा लिँदैनन् । महँगो कर्जा नलिएपछि यता निक्षेपमा १४-१५ प्रतिशत कर्जा बढाएको छ भने डिपोजिटमा ह्वात्त पैसा आउँछ । यहाँ त रिटर्न राम्रो भयो । अहिले बढिरहेको ब्याजदरलाई नियन्त्रण गर्ने प्रयास गर्नु भएन । त्यो बजारलाई छोडौँ । वाणिज्य बैंकलाई स्वतन्त्र छोड्ने हो भने तीनदेखि चार महिनासम्ममा फेरि तरलताको समस्या हराएर जान्छ । यही कुरा ब्याजदरमा परिवर्तन नगरेको भए अहिलेसम्म तरलताको समस्या समाधान भएर जान्थ्यो ।