रुस–युक्रेन तनावले इन्धनमा मूल्यवृद्धि

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि तेलको मूल्य उकालो लागेको हो ।
बुधबार प्रतिब्यारेल ९४.१२ अमेरिकी डलर रहेको कच्चा तेलको मूल्य शनिबार १०५ डलर पुगेको छ । दुई देशबीचको द्वन्द्व अझै चर्कने देखिएकाले इन्धनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा समेत त्यसको प्रत्यक्ष असर पर्नेछ, किनभने नेपालमा खपत हुने सबै प्रकारको इन्धन आयात हुन्छ । नेपाल आयल निगमले भारतीय आयल निगमबाट इन्धन खरिद गरेर नेपाली बजारमा बिक्री गर्छ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले स्थानीय बजारमा इन्धनको मूल्य निर्धारण गर्दै आएको छ ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेर आएको भन्दै विगत एक वर्षदेखि स्थानीय बजारमा लगातार मूल्य बढाइरहेको छ । अघिल्लो वर्ष फागुन ४ मा पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ रहेकोमा हाल बढेर १४५ पुगेको छ । यस्तै, सो अवधिमा डिजेल प्रतिलिटर ९७ रुपैयाँ मूल्य रहेकोमा अहिले बढेर १२८ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले नेपालमा थप असर पुग्ने देखिन्छ । इन्धन उत्पादन गर्ने मुलुकमध्ये रुस दोस्रो नम्बरमा पर्छ । त्यसैगरी निर्यातका हिसाबले रुस तेस्रो ठूलो इन्धन निर्यातकर्ता देश हो । रुस युद्धमा होमिएपछि उत्पादन र निर्यात दुवै प्रभावित हुने भएकाले इन्धनको मूल्य स्वाभाविक रुपमा बढ्ने जानकारहरु बताउँछन् ।
रुसले विशेषगरी कच्चा तेल युरोपेली प्रशोधन कम्पनीहरुलाई बिक्री गर्छ । अमेरिका र युरोपेली युनियन सम्बद्ध देशहरुले रुसविरुद्ध नाकाबन्दी घोषणा गरेको र युक्रेनमा युद्ध सुरु भएका कारण कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको हो । रुसले युरोपेली देशहरुमा ग्याससमेत निर्यात गर्दै आएको छ । रुस र अरु मुलुकबीच तनाव बढेपछि युरोपेली देशहरुमा समेत ग्यासको मूल्यमा वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय बजारबाट ९० प्रतिशतभन्दा बढी नियन्त्रण गर्ने इन्डियन आयल कर्पोरेसन, भारत पेट्रोलियम कर्पोरेसन र हिन्दूस्तान पेट्रोलियम कर्पोरेसनले तीन महिनाभन्दा बढी समयदेखि पेट्रोल र डिजेलको मूल्य स्थिर राखेका थिए । अमेरिका र इरान भियनामा भएको अप्रत्यक्ष आणविक वार्तामा संलग्न छन्, जसमा भएको एक सम्झौताले इरानको तेल बिक्रीमा प्रतिबन्ध हटाउने र विश्वव्यापी आपूर्ति बढाउन सक्ने अनुमान गरिएको छ । युक्रेन संकटका कारण सो वार्तासमेत फलदायी नहुने अवस्था सिर्जना भएको छ । यसैबीच, युद्धका कारण पेट्रोलियम पदार्थ, मेटल, प्लास्टिक, दाना, क्रुड भेजिटेबल आयल लगायत वस्तुसँगै कोइलाको मूल्य पनि अकासिएको छ । उद्योगीका अनुसार सिमेन्ट उद्योगमा प्रयोग गरिने कोइलाको मूल्य एक हप्ताअघि २०० डलर रहेकोमा २३५ पुगेको छ । यस्तै, दुई देशबीच भएको युद्धका कारण सुनको मूल्यसमेत बढेको छ ।