अर्थतन्त्र संकटोन्मुख, तत्काल सुधारको आग्रह
निजी क्षेत्र निराश

मुलुकको अर्थतन्त्र संकटउन्मुख हुँदै गएका कारण उद्योगी तथा अर्थविद्हरूले तत्काल सुधारका उपाय खोज्न सुझाएका छन् ।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘संकटउन्मुख अर्थतन्त्रको सुधार र दिगो पुनरुत्थान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अर्थविद् तथा उद्योगीहरूले अर्थतन्त्रका सबै सूचकहरू नकारात्मक भएको तथा सरकारी संयन्त्र पनि अस्थिर नीतिले ग्रस्त भएका कारण मुलुकमा व्यापार घाटा बढ्दै गएको, रेमिट्यान्समा निरन्तर कमी आएको र बजारमा चरम तरलता अभाव भएको बताएका छन् ।
कार्यक्रममा अर्थविद् डा. अच्युत वाग्लेले पछिल्लो समय बैंकहरू आफैं सिर्जनशिल हुन नसकेको बताए । उनले बैंकहरू पछिल्लो समय थोरै लगानीसमेत गर्न सक्ने अवस्थामा नभएको भन्दै बैंकहरूले विदेशबाट पैसा ल्याउन नसकेको बताए । डा. वाग्लेले बैंकिङ प्रणालीबाट अत्यधिक मात्रामा कर्जा प्रवाह हुँदा बजारमा तरलता अभाव भएको जिकिर गर्दै तरलता अभाव भएसँगै पछिल्लो समय अन्तर बैंक ब्याजदर पनि करिब ७ प्रतिशत पुगिसकेको स्मरण गराए । “अर्थतन्त्र चलाउने सरकारका अर्थमन्त्री र गभर्नर दुवैसँग अर्थतन्त्रकोे ज्ञान नभएकाले समस्या आएको हो,” उनले भने ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा समस्या आएको बताए । उनले राजनीतिक अस्थिरताका कारण औपचारिक भन्दा अनौपचारिक क्षेत्रमा अर्थतन्त्र चलायमान भएको भन्दै पछिल्लो समय मुलुकको अर्थतन्त्र चलायमान भन्दा पनि उद्योगी–व्यवसायी, बैंकहरू नाफा कमाउनेतर्फ मात्र उन्मुख भएको बताए । बैंकहरूले नाफा बढी आउने आशाले कर्जा विस्तारलाई जोड दिएकाले बजारमा तरलता अभाव भएको भन्दै उनले उपभोग खर्च बढेर १ खर्बबाट हाल ७ खर्ब पुगिसकेको बताए । “उपभोगमा बैंकको कर्जा बढ्दा तरलतामा देखिएको समस्या जटिल बन्दै गएको हो,” उनले भने । क्षेत्रीले राष्ट्र बैंकले आयातमा अहिले गरिएको कडाइले व्यापार घाटा कम गर्न सहयोग नपुग्ने पनि बताए ।
अर्थविद् डा. पोषराज पाण्डेले बैंकिङ प्रणालीमा तरलता अभाव हुनुका पछाडि नेपाल राष्ट्र बैंक जिम्मेवार रहेको दाबी गरे । उनले राष्ट्र बैंककै कारण पछिल्लो समय बैंकिङ प्रणालीमा कर्जा प्रवाह अत्यधिक भएर बैंकहरू थप कर्जा दिन नसक्ने अवस्थामा पुगेको आरोप लगाउँदै राष्ट्र बैंकको मौद्रिक नीतिमा कर्जा प्रवाह १९ प्रतिशतमा सीमित गर्ने भनिए पनि पछिल्लो ७ महिनमा २७ प्रतिशत पुग्दा समेत राष्ट्र बैंक चुप लागेर बसेको बताए । “राष्ट्र बैंक आफैंले मौद्रिक नीति मार्फत २ प्रतिशत बिन्दुले ब्याजदर बढाएकाले अब असारसम्म १ प्रतिशत बढेर ३ प्रतिशत बिन्दुले बढ्छ,” उनले भने ।
त्यस्तै, अर्थविद् डा. गोविन्द नेपालले ठूलो आर्थिक संकट आउन सक्ने भन्दै सबैले आत्मसमीक्षा गर्नुपर्ने बताए । “आत्मसमीक्षा नगरे अर्थतन्त्रमा ठूलै संकट आउन सक्ने भएकाले सतर्क हुन आवश्यक छ,” उनले भने । उनले सरकारसँग वैदेशिक लगानी ल्याउने उचित नीति नभएका कारण पनि वैदेशिक लगानी ल्याउन नसकिएको बताए ।
कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले तरलता समस्या समाधान नभए चालू आर्थिक वर्षको असारमा कर्जाको ब्याजदर १८ प्रतिशत पुग्ने दाबी गरे । “तत्काल तरलता अभाव हट्ने अवस्था पनि छैन । प्रत्येक महिना १२, १३, १४ प्रतिशत हुँदै आगामी असारसम्म १८ प्रतिशतसम्म कर्जा ब्याजदर पुग्न सक्छ,” उनले भने । बज्राचार्यले बजारमा लगानीयोग्य तरलता अभाव तत्काल समाधान नहुने भएकाले व्यवसायीहरूले माग गरेजस्तो एकल विन्दुमा ब्याजदर सम्भव नभएको पनि बताए । बज्राचार्यले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उत्पादन क्षेत्रमा मात्रै कर्जा लगाउन भने पनि उत्पादन र अनुत्पादक क्षेत्र केलाई मान्ने भन्ने स्पष्ट नभएको धारणा राखे ।
त्यस्तै, रेमिट्यान्स एसोसिएसनका पूर्वअध्यक्ष सुमन पोखरेलले दुबईबाट आइफोन, ल्यापटप र सुन आयात रोक्नुपर्ने बताए । उनले पछिल्लो समय रेमिट्यान्स घटेको भन्दै त्यस्ता वस्तुको आयातमा रोक लगाउनुपर्ने बताएका हुन् ।
बैंकर्स पर्शुराम कुँवर क्षेत्रीले मुलुकमा अर्थतन्तको संकट बढ्दै गए औषधी किन्न पनि नसक्ने अवस्था आउने बताए । उनले आयातमा वृद्धि हुँदा विदेशी मुद्रा सञ्चिति घट्दै गएकोले बजारमा अभाव भएको लगानीयोग्य तरलता अभाव हटाउन बंैकिङ प्रणालीमा पैसा थप्नुपर्ने बताए ।
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बजारमा लगानीयोग्य तरलताको समस्या केन्द्र, प्रदेश र स्थानीय तहको सरकारले पुँजीगत खर्च कम गरेकाले भएको बताए । “तीनै तहका सरकारले पुँजीगत खर्च गर्ने मापदण्ड एउटै बनाउन आवश्यक रहेको छ,” उनले भने । ढकालले पुँजीगत खर्च गर्ने कुरामा राजनीतिक पार्टी र सरकारी कर्मचारी जिम्मेवार नभएको भन्दै सरकारले अर्थतन्त्र चलायमान गर्ने नीति स्थिर नभएको दाबी पनि गरे । ढकालले ७५३ वटै स्थानीय तहमा बैंक पुगेकाले विदेशमा जाने श्रमिकले बैंक खाता खोल्न लगाएर बैकमार्फत रेमिट्यान्स ल्याउन सकिने बताए ।