इजरायल र कोरियाले थप क्षेत्रमा नेपाली कामदार लिने

सरकारले कोरियाको कृषिमा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्रमा थप नेपालीलाई रोजगारीका अवसर दिन अध्ययन टोली गठन गरेर काम सुरु गरेको छ । कोरिया र इजरायलमा यसअघि पनि अन्य रोजगारीका क्षेत्रमा नेपाली श्रमिक गइरहेका छन् ।
इजरायलको केयरगिभर सेवा क्षेत्रमा हालै एक हजार १ सय ७५ नेपाली श्रमिक पठाउने तयारी पूरा गरेको नेपालले थप नेपाली पठाउन गृहकार्य सुरु गरेको छ । हालसम्म २ सय १९ नेपाली इजरायल प्रवेश गरिसकेका छन् भने बाँकी नौ सय नेपालीको अभिमुखीकरणको काम भइरहेको छ ।
यसैगरी रोजगार अनुमति प्रणालीअन्तर्गत श्रमिक गइरहेको कोरियामा समेत थप नेपालीलाई पठाउने तयारी भएको छ । कोरियाले वर्षको ६ महिना काम गर्ने गरी त्यहाँको कृषि क्षेत्रमा नेपाली कामदार माग गरेपछि नेपालले त्यसका लागि गृहकार्य सुरु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यसैगरी विगत दुई वर्षदेखि रोकिएको कोरियाको उडानसमेत सुचारु भएको छ । मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा अध्ययन गर्न मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । दक्षिण कोरियाका स्थानीय सरकार तथा नेपालका स्थानीय सरकारबीच भगिनी सम्बन्ध कायम गर्दै मौसमी कामदार पठाउने विषयमा अध्ययन गर्न कार्यदल बनाइएको हो । दक्षिण कोरियाको न्याय मन्त्रालयले त्यहाँको ग्रामीण क्षेत्रमा ३ देखि ५ महिनाका लागि मौसमी कामदारको रूपमा विदेशी नागरिक ल्याउने नयाँ नियम हालै जारी गरेको छ । नेपालीहरू इमान्दारिताका साथ काम गर्ने रेकर्ड भएका कारण कोरियाले नेपाललाई प्राथमिकताको सूचीमा राखेको छ ।
मन्त्रालयले इजरायलको निर्माण क्षेत्रमा श्रमिक पठाउन संयुक्त कार्य समूहमा प्रतिनिधित्वका लागि मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको छ । इजरायलको निर्माण क्षेत्रमा श्रमिक लैजाने प्रयोजनका लागि इजरायलले यसअघि नै द्विपक्षीय वार्ता र छलफलका लागि वार्ता टोली गठन गरिसकेको छ । टोलीले निर्माण क्षेत्रमा माग गरिएको श्रमिक संख्या, न्यूनतम योग्यता, तालिम, छनोटको विधि, न्यूनतम पारिश्रमिकजस्ता विषयमा इजरायली टोलीसँग छलफल गर्ने जनाइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न विभिन्न कार्यदल तथा वार्ता समिति गठन गरेको हो । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न ६ वटा कार्यदल तथा समिति गठन गरेर वैदेशिक रोजगारीका नयाँ रोजगार गन्तव्य खोजी सुरु गरेको बताएका छन ।
वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन, २०६४ मा समसामयिक सुधार एवं परिमार्जन गर्न मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन सरोकारवालासँग छलफल गरी कानुन र परराष्ट्र मन्त्रालयको राय लिई मन्त्रिपरिषद्मा पेस गर्न अन्तिम मस्यौदा प्रस्तुत गर्ने तयारी गरेको छ ।
साथै, वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवारका सदस्यलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने विषयमा अध्ययन गर्न वैदेशिक रोजगार विभागका महानिर्देशकको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिको परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने र श्रम स्वीकृति प्रदान गर्ने क्रममा नै स्वास्थ्य बिमा गराएको परिचयपत्र अनिवार्य गर्ने तयारी गरिएको छ ।