Logo

नेपाल विश्वकप छनोटको सेमिफाइनलमा

ओमनमा जारी आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा क्यानडालाई ८ विकेटले हराउँदै समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बीमा रहेको नेपालले तीन खेलबाट शतप्रतिशत जित निकाल्दै ५ अंक बनाएर सेमिफाइनलमा स्थान बनाएको हो ।
सोमबार क्यानडाबाट पाएको ८१ रनको लक्ष्य नेपालले १४ ओभरमा एक बलमा दुई विकेट गुमाएर पूरा गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । अब नेपालले भोलि हुने सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ ।
नेपालविरुद्ध मैदानमा उत्रिएको क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्दै १५ ओभरमै सम्पूर्ण विकेट गुमाएर ८० रन बनाएको थियो । क्यानडालाई हराउन नेपालका कुशल भुर्तेलले सर्वाधिक ३४ रन बनाएका थिए । उनले ३७ बलमा तीन चौकाका साथ सो रन जोडेका हुन् ।
त्यस्तै, चौथो नम्बरमा मैदान प्रवेश गरेका दीपेन्द्रसिंह ऐरीले पनि २७ रन बनाए । समग्रमा उनीहरुले ५८ रनको साझेदारी गरे । ओपनिङमा आएका आसिफ शेखले पनि १७ रनको योगदान दिए । उनले एक छक्का र एक चौकाको सहयोगमा सो रन जोडे । अर्का ओपनर आसिफलाई सलमान नगरले एलबीडब्लूको धरापमा परेका थिए । त्यसपछि मैदानमा आएका कुशल मल्ल भने डगआउट भएका थिए । उनलाई कलिम सानाले पेवेलियन फर्काए ।
ओमनको अल अमरेत मैदानमा भएको खेलमा नेपालले सुरुमा बलिङको निम्तो पाएको थियो । नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए भने कमल ऐरी र अभिनास बोहराले समान दुई–दुई विकेट गिराए । त्यस्तै, कुशल मल्लले एक विकेट लिए। साद र पठान चाहिँ रनआउट भएका थिए ।
यसैबीच, नेपाल टिमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई तथा शुभकामना दिएका छन् । क्यानडाविरुद्ध जित निकाल्दै टि२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गर्न सफल भएकोमा प्रधानमन्त्रीले ट्विटरमार्फत बधाई दिएका हुन् । मंगलबार हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुन देउवाले शुभकामना पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्