बृहत् सहरीकरणको तयारीमा मरिण «

बृहत् सहरीकरणको तयारीमा मरिण

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि २०७३ साल फागुन २७ गतेबाट मुलुक संघीयतामा गएपछि साबिकको महादेवीस्थान, कपिलाकोट र कल्पवृक्ष गाउँविकास समिति मिलाएर गठन भएको हो— मरिण गाउँपालिका । २०७४ जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएपछि मरिण गाउँपालिकामा धेरै परिवर्तन गर्न सफल भएका छौँ ।
एक वर्षसम्म संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन बनाउन ढिला ग¥यो । एक वर्षसम्म हामी अलमलियौँ । त्यसमा पनि स्थानीय सरकारलाई कानुन बनाउन दिने अधिकार दियो । देशभरका ७ सय ५३ वटा स्थानीय तहका छुट्टाछुट्टै कानुन भयो । आफैंलाई कानुन बनाउने अधिकार दिँदा त्यो कानुन गलत पनि हुने गरेको पाइयो । कानुनी कुराले चाहिँ समस्या नै भयो ।
निर्वाचनको मैदानमा जाने क्रममा घोषणपत्रमा समावेश गरेका विषयलाई नै सम्बोधन गरेर अगाडि बढेका छौँ । समस्या धेरै र स्रोत कम भएकाले भनेअनुसारका काम पूरा गर्न सकेनौँ । शून्यप्रायः अवस्थाबाट काम सुरु गरेको भएर हामीले गरेका काम झट्ट देखिँदैन । तर, हामीले राम्रा कामको थालनी गरेका छौं । त्यसको परिणाम देखिन थालेको छ ।
पहिलो त हामीले गाउँपालिकामा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम ग-यौँ । पालिकाका प्रत्येक वडामा स्वास्थ्यचौकी निर्माण गरेका छौँ । दक्ष जनशक्तिसहित प्रत्येक स्वास्थ्यचौकीमा केही औषधि निःशुल्क पठाएका छौँ । हिजोको दिनमा घण्टौं हिँडेर स्वास्थ्य सेवा लिने नागरिकले अहिले आफ्नै ठाउँमा सहज रूपमा सेवा लिइरहेका छन् ।
एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्ग र अनाथ बालबालिकालाई निःशुल्क अतिरिक्त औषधि र स्वास्थ्य बिमाको व्यवस्था गरेका छौँ । गाउँपालिकाको ४८ वटा सामुदायिक विद्यालयमा बालविकास केन्द्र स्थापना भएका छन् । बालविकास सहजकर्ताको मनोबल बढाउन मासिक १३ हजार रुपैयाँ दिइरहेका छौँ ।
शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन स्थानीय पाठ्यक्रम र शिक्षा योजना निर्माण गर्न सफल भयौँ । हरेक विद्यालयमा विद्यार्थीका आधारमा विषयगत शिक्षकको व्यवस्था गरिएको छ । शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरेका छौँ, जसअन्तर्गत शिक्षकको मनोबल बढाउन मासिक भत्ता उपलब्ध गराइरहेका छौँ ।
विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयसम्म पु¥याएका छौँ । शिक्षाको क्षेत्रमा सुधार भएको छ । विद्यालयमा आवश्यक खानेपानी, खेलमैदान, विद्यालय भवन, खेलकुदका सामग्री, दक्ष शिक्षक, विषयगत शिक्षक साथै शिक्षिकाको व्यवस्थाले शिक्षा क्षेत्रलाई झन् मजबुत बनाएको छ ।
गाउँपालिकाभित्र सुविधासम्पन्न विद्यालय भवन निर्माण भएका छन् । खासै हामीले बेरोजगारीको समस्यामा परिवर्तन गर्न भने सकेनांै । युवा तथा युवती रोजगारीका लागि बिदेसिएका छन् । हामीसँग रोजगारी दिनका लागि उद्योग, कम्पनी छैन । तर पनि हामीले युवालाई कृषिमा प्रेरित गर्नका लागि कृषिमा अनुदान दिने तथा केही लगानी गरिरहेका छौँ ।
हामी निर्वाचित भइसकेपछि स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्राकृतिक स्रोतसाधनको भरपूर प्रयोग गर्ने, त्यसको कर संकलन गर्ने विषयलाई मध्यनजर राखेर हाम्रो गाउँ कार्यपालिकाको बैठकबाटै निर्णय गरी गाउँपालिका क्षेत्रका ढुंगा, गिट्टीलगायत बालुवाको हामीले आईईई गराएका छौँ ।
जिल्ला समन्वय समितिबाट पास भइसकेपछि त्यसको अनुमानित एक वर्षको ठेक्का निकाल्ने र प्रदेश सरकारले नै पास गरेको क्युफिट अनुसार माग संकलन गरेका छौँ । विकास निर्माणलाई पनि प्राथमिकता दिएर काम ग-यौँ । घण्टौँ पैदल हिँडेर सदरमुकाम आउने नागरिकको घरघरमा अहिले बाटो पुगेको छ । कृषि सडक नागरिकको बस्तीबस्तीमा पुगेको छ ।
बाटो पुगेसँगै स्थानीय उत्पादनले बजार पाएको छ । अँध्यारोमा बसिरहेका नागरिकको घरघरमा बिजुली बत्ती पुगेको छ । बिजुली नपुगेको केही ठाउँमा धमाधम काम भइरहेका छन् । पालिकाले मात्रै विद्युतीकरणका लागि झन्डै ४ करोड लागतमा खर्च गरिसकेको छ । यही चैतसम्म पालिकाका सम्पूर्ण क्षेत्रमा बिजुली बत्ती पुगिसक्नेछ ।
करोडौँ लागतमा खानेपानीका योजना धमाधम निर्माण भइरहेका छन् । ती आयोजना निर्माण भएपछि खानेपानीको समस्या समाधान हुनेछ । गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन निर्माण भएको छ । वडाको आफ्नै भवन निर्माण भएको छ । भाडाबाट सेवा सञ्चालन भइरहेका केही वडाको पनि भवन निर्माण गर्ने तयारी गरेका छौँ । ऐतिहासिक र धार्मिक पर्यटकका लागि साँगाचुली गुम्बा, पञ्चकन्यालाई व्यवस्थित बनाउन सुरु गरेका छौँ । बृहत् मरिण सहरीकरणका लागि डीपीआरको तयारी भएको छ । जनताले संघीयताको अनुभूत गर्ने गरी काम गर्न सफल भएका छौँ ।
प्रस्तुतीः उर्मीला भट्टराई

प्रतिक्रिया दिनुहोस्