सेयरमा लगानी गर्दा लगानीकर्ताहरू नै सजग, सचेत, चनाखो र जानकार हुनुपर्छ
बैंकको ब्याजदरले नेप्सेमा पर्ने प्रभाव

नेप्सेलाई बैंकको ब्याजदरसँग तुलना गर्ने गरिन्छ । नेपालको सेयर बजारमा बैंकको ब्याजदर बढे नेप्से घट्ने र बैंकको ब्याजदर घटे नेप्से बढ्ने भएको देखिन्छ । सिद्धान्तत पनि बैंकको ब्याजदर र सेयरबजारमा उल्टो सम्बनध नै हुन्छ । बैंकको ब्याजदर बढे नेप्से घट्ने र बैंकको ब्याजदर घटे नेप्से बढ्ने नै हो । यो लगानीकर्ताहरूमा पर्ने मनोविज्ञानको प्रभाव मात्र होइन । त्यसो त यस्तो हल्ला चलाएर सेयर बजारमा चलखेल गर्नेहरू नभएका भने होइनन्, हल्ला फिँजाएर सेयर बजारमा चलखेल भइ नै रहन्छ । १ प्रतिशत बैंकको ब्याजदर बढ्दैमा लगानीकर्ताहरू धेरै डराएर नेप्से नै १०१ अंक घट्ने हल्लाकै कारण हो । किनकि कारोबार रकम त बढेको छ । त्यसो हो भने त कारोबार रकम पनि घट्नुपर्ने हो । सस्तोमा सेयर हात पार्न किन्न यस्तो चलखेल गर्ने गरिन्छ भन्ने लगानीकर्ताहरूले बुझ्नु पर्दछ ।
त्यसो त सेयर बजारका कतिपय लगानीकर्तालाई चित्त बुझाउन गाह्रो रहेको धेरैको भनाइ छ । कतिपय अवस्थामा नेप्सेले नेगेटिभ वा पोजटिभ सर्किट हान्यो कि यसलाई अस्वाभाविक चलखेल मान्ने गरेका पनि छन् । कतिपय अवस्थामा सर्किट हान्दा अस्वाभाविक रूपमा चलखेल पनि हुने गरेको छ । यसका लागि त लगानीकर्ताहरू नै सचेत र सतर्क हुनुपर्ने हुन्छ । साथै, कतिपय अवस्थामा ठूलाबडा सेयर बजारका माहिर–माहिर खेलाडीहरूले नेप्सेलाई आफ्नो अनुकूल बनाउन चलखेल पनि गर्ने गर्दछन् । सेयर बजारलाई आफूअनुकूल बनाउनका लागि कतिपय मिडियालाई पनि प्रयोग गरिन्छ भनेर पनि भन्ने गरिन्छ । केही लगानीकर्ताले कतिपय मिडियामा आएर यो सेयर किनु, यो सेयर नकिन्नु भन्ने पनि गरेको देखिन्छ । सेयर बजार ठूलाबडा लगानीकर्ताहरूको चक्रव्यूहमा पार्न हल्ला बढी हुने गरेको छ । कतिपय अवस्थामा हल्लाले नै नेप्सेलाई तलमाथि पार्ने गरेको पनि छ । त्यसो त आफूलाई सेयर बजारका सेयर लगानीकर्ताका नेता भन्न रुचाउने सेयर लगानीकर्ताका नेता तथा सेयर बजारका स्वघोषित विश्लेषक ज्यातिषीहरूले नै बढी हल्ला गर्ने गर्दछन् । केही बुद्धिजीवी भनिनेहरू पनि नेपालको सेयर बजार ७ सय अंकभन्दा माथि जान नहुने बताउँछन् । सेयर बजारका आम लगानीकर्ताहरू भने नेप्सेका बारेमा हल्ला गर्ने, भविष्यवाणी गर्ने जोकोहीलाई पनि कारबाही गर्नुपर्ने बताउँछन् । नेप्से भनेको घटबढ भइरहन्छ । किनकि यो माग र आपूर्तिमा भर पर्दछ ।
लकडाउनको समयमा सेयर बजारले रेकर्डका रेकर्ड कायम गरेको थियो । सेयर बजारमा एकै दिन २१ अर्बको कारोबार भएको थियो भने नेप्से पनि ३२ सय अंक नाघेको थियो । सेयर बजार सकारात्मक रूपमा अगाडि बढिरहेका बेला नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि अचानक ब्रेक लाग्यो । कतिपयले यसको दोष नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिलाई दिए भने केही लगानीकर्ताहरू त विभिन्न १८ बँुदे माग राखी आन्दोलनमा समेत उत्रिए । सेयर बजार ओरालो लागेर नेप्से घटेकाले आन्दोलन गरेको भन्नेहरू पनि नभएका होइनन् । नेप्से घटेको बेला आन्दोलन गर्ने गरेको विगतको रेकर्ड पनि छ । सेयर बजार घटबढ भइरहन्छ । लगानीकर्ताहरूले कहिले कमाउँछन् त कहिले गुमाउँछन् । त्यसैले सेयर बजारलाई जोखिमको व्यवसाय पनि भन्ने गरिन्छ । सेयर बजारमा जोखिम भए पनि यसले प्रतिफल पनि राम्रो दिने गरेका कारण लगानीकर्ताले लगानी गर्ने हो । नो रिक्स नो गेन भनेर पनि भनिन्छ । कतिपयको भनाइमा पछिल्लो समयमा नियामक निकायहरू र सरकार पँुजीबजारमैत्री हुन नसकेका कारण सेयर बजारले चाहेको गति लिन नसकेको हो भन्ने आरोप पनि छ । सेयर बजारका बारेमा बेलाबेलामा नियामक निकायहरूले ल्याउने÷जारी गर्ने नीति–नियमहरूले पनि सेयर बजारमा प्रभाव पारेका हुन्छन् नै । यसपालिको मौद्रिक नीतिले पनि सेयर बजारमा प्रभाव भने पारेकै होे भन्दा फरक नपर्ला । साथै, नेप्सेलाई लिएर, कम्पनीहरूको गतिविधिलाई लिएर, सेयर बजारमा हुने उतारचढावलाई लिएर बजारमा बढी हल्ला हुने गर्दछ । हल्लाले नै सेयर बजारलाई हल्लाउने गर्दछ । त्यसैले हल्लाकै पछि लागेर सेयर बजारमा लगानी गर्नुहुन्न ।
कतिपय सम्बन्धित सरोकारवालाहरूले कम्पनीको सूचना चुहाएर नेप्सेमा प्रभाव पारेका हुन्छन् । यसले कतिपयले कमाउँछन् त कतिपय लगानीकर्ताले गुमाउँछन् पनि । नेप्से बढेको बेला अझ बढ्छ र घटिरहेको बेला अझ घट्छ भनेर हल्ला गरेर सेयर बजारमा चलखेल पनि गर्ने गर्छन् । यसले गर्दा साना र नयाँ इमानदार लगानीकर्ताहरू डराउने, आत्तिने गर्छन् र अझ घट्छ कि भनेर घाटा खाएर भए पनि सेयर बिक्री गर्छन् भने लगानी गर्नेहरू पनि लगानी गर्न डराउँछन् । यसले नेप्से घट्नेमा सहयोग गर्छ ।
कतिपय अवस्थामा सेयर बजारमा विभिन्न कारणहरूले पनि प्रभाव पारेको हुन्छ । कतिपय अवस्थामा सरकार परिवर्तन, राजनीतिक कारण र राजनीतिक खिचातानीले नियामक निकायहरूले अस्वाभाविक नीति नियमहरू पँुजीबजारमा लाद्नाले र कतिपय अवस्थामा अचानक आएको विभिन्न प्राकृतिक प्रकोप, स्वास्थ्यसम्बन्धी महामारीले पनि सेयर बजारमा असर गरेका हुन्छन् । तर, नेप्से घट्ने÷बढ्ने भइ नै रहन्छ । यो स्वाभाविक पनि हो । सेयर बजार भनेको सधैं बढ्ने र सधैं घट्ने मात्र पनि भइरहँदैन । घट्नु÷बढ्नु भनेको स्वाभाविक हो । सेयर बजार घट्यो भन्दैमा लगानीकर्ताहरू आत्तिनुपर्ने, डराउनुपर्नेचाहिँ होइन । नेप्से घट्यो भनेर फेरि घट्छ कि भनेर आत्तिएर सस्तोमा बेच्ने गरे सेयर बजार कसरी उकालो लाग्ला र ? सेयर बजारका लगानीकर्ताहरूमा धैर्यता भने हुनुपर्छ र चाहिन्छ पनि । तर, अस्वाभाविक र नाटकीय रूपमा घट्ने÷बढ्ने भएमा भने लगानीकर्ताहरूले विचार भने गर्नुपर्ने हुन्छ । सेयर बजारमा लगानी गर्न धैर्यता, सचेतता र सेयर बजार र कम्पनीहरूका बारेमा राम्रो जानकारी हुनुपर्छ । नयाँ र साना लगानीकर्ताहरू सचेत हुनुपर्छ । आफूले लगानी गर्न लागेको कम्पनीका बारेमा राम्ररी जानकारी र सूचना लिएर मात्र लगानी गर्नुपर्छ । सेयर बजारमा प्रवेश गर्नुअघि पँुजीबजारका बारेमा सम्पूर्ण जानकारी लिएर मात्र प्रवेश गरे नयाँ लगानीकर्ताहरूलाई सजिलो हुनेछ । आफूले लगानी गर्न लागेको कम्पनीको आर्थिक स्थितिका बारेमा सम्पूर्ण जानकारी लिएर मात्र लगानी गर्नुपर्छ ।