शुक्रबारदेखि क्यालिब्रेसन फ्लाइट

भैरहवा-निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि क्यालिब्रेसन फ्लाइट हुने भएको छ । यसका लागि थाइल्याण्डबाट एरो थाई कम्पनीको जहाज बिहीबार काठमाडांै आइपुग्ने नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।
विमानस्थल कार्यालयले फागुन ६ देखि १५ गतेसम्म क्यालिब्रेसन फ्लाइट हुने भन्दै विमानसेवा कम्पनीहरुलाई नोटिस फर एयरम्यान (नोटाम) पठाइसकेको छ । “यहाँबाट उडान गर्ने सबै कम्पनीहरुलाई नोटाम पठाइसकिएको छ । अब उहाँहरुले क्यालिब्रेसन फ्लाइट हुने समय बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म उडान गर्नु हुँदैन र सोहिअनुसार उडान तालिका मिलाउनु हुनेछ,” राउतले भने । अहिले भैरहवाबाट काठमाडांै, पोखरा, चितवन र विराटनगरका लागि दैनिक औसत १८ वटासम्म उडान हुने गरेको छ ।
क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा जडान गरिएका आईएलएस, भीओआर तथा अन्य सञ्चार तथा नेभिगेसन उपकरण तथा प्रविधिले ठीक ढंगले काम गरिरहेको छ÷छैन भनेर जाँच्ने प्रविधि हो । यो परीक्षण हवाई उडान गरेर मात्र गर्न सकिन्छ र जडान भएका उपकरणले काम गरे नगरेको उडान गर्दामात्र थाहा हुने भएकाले मरमत गर्नुपर्ने वा फेर्नुपर्ने भए तत्काल गर्न सकिन्छ । त्यसैले परीक्षण उडान भन्दा अघि क्यालिब्रेसन फ्लाइट अनिवार्य छ । क्यालिब्रेसन फ्लाइटपछि नेपाल एयरलाइन्सको एयरबस ३३० बाट परीक्षण उडान गर्ने तयारी भइरहेको विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले बताए ।
उडान बिहान र बेलुकामात्र
अहिले मौसम सुधार भइरहेको र काठमाडौँको त्रिभुवन विमानस्थल पनि बिहानै खुल्ने भएकाले क्यालिब्रेसनको समयमा बिहान र बेलुका उडान भर्ने गरी तयारी विमानसेवा कम्पनीले गरेका छन् । भैरहवाबाट सबैभन्दा बढी उडान गर्दै आएको बुद्ध एयरले कुनै पनि उडान कटौती नगरेको जनाएको छ । बुद्ध एयर भैरहवाका प्रमुख दर्शन घिमिरेले भैरहवाबाट काठमाडांैका लागि बिहान ७ः४५, ८ र ९ बजे तथा बेलुका ४ः४५ पछि उडान हुने र पोखराका लागि बिहान ८ः४५ बजे उडान गरिने जानकारी दिए ।
त्यसै गरी श्री एयरलाइन्सका भैरहवा स्टेसन प्रमुखले दिउँसोको उडानलाई बिहान र बेलुका गरिएको र कुनै पनि उडान कटौती नगरेको जनाए । यती एअरले पनि दिउँसोको उडान बिहान गर्ने भएको छ । भैरहवाबाट बुद्ध, यती, श्री, सौर्य र गुणले काठमाडांैसहित पोखरा, चितवन र विराटनगरमा उडान गर्दै आएका छन् ।