वैशाखदेखि पोखरामा ई–टिकेटिङ

पोखरा-आगामी वैशाख १ गतेदेखि पोखराका बसमा ई–टिकेटिङ सिस्टम लागू हुने भएको छ । पोखरा महानगरपालिकाको समन्वयमा काठमाडौंको एन क्लाउड र पोखरा क्षेत्रका सार्वजनिक यातयात व्यवसायीहरूबीच भएको सम्झौतापछि वैशाख १ गतेदेखि लागू हुने गरी पोखरा क्षेत्रका बस सेवामा ई–टिकेटिङ सिस्टम लागू हुने भएको हो ।
पोखरामा सञ्चालन भएका सार्वजनिक यातायात व्यवसायीहरूले सञ्चालनमा ल्याएका सवारी साधनहरूमा बिधुतिय टिकेटिङ प्रणालि (ई–टिकेटिङ सिस्टम) को प्रयोग गरी यात्रुहरूलाई सेवा र सुविधा पु-याउने उद्देश्यले विद्युतीय टिकेटिङ प्रणाली जडान गरिने भएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । पोखरालाई स्मार्ट सिटी बनाउने अभियानमा उक्त सिस्टमले थप सहयोग पुग्ने उनले जनाए ।
उक्त प्रविधि सुरु भएपछि व्यवसायीले प्रत्येक यात्रुलाई विशेष प्रकारको कार्ड उपलब्ध गराउनु पर्नेछ । इच्छुक यात्रुले लिएको उक्त कार्ड बसका सहयोगीले मेसिनमा ‘टच’ गराउनेछन् भने जसमा जीपीएससमेत जडान गरिएको हुनेछ । यात्रा गरेको ठाउँको रकम स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुने भएको छ ।
१ हजार रुपैयाँसम्म राख्न मिल्ने उक्त कार्ड बनाउँदा १ सय ५० रुपैयाँ शुल्क लाग्ने भएको छ । टिकेटिङ सिस्टम जडान र नियमित सुचारु गर्नका लागि कम्पनीले पोखराका प्रत्येक बसबाट २ हजार २ सय रुपैयाँका दरले शुल्क उठाउने भएको कम्पनीका सीईओ दीपेन्द्र नारायण श्रेष्ठले बताए । कम्पनीले मेसिन चलाउने तालिमसमेत दिने भएको छ ।
आम पोखरेलीहरूलाई उक्त कार्डको प्रयोग गर्न उनले आग्रह गरे । मेयर जिसीले घर–घरमा हुने बस स्टेसन यो व्यवस्थापछि अन्त्य हुने जनाए । पोखराको ट्राफिक व्यवस्थापनमा उक्त सिस्टमले थप सहयोग पुग्ने मेयर जिसीको भनाइ छ । राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष एवं पृथ्वीराज मार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले पहिलो चरणमा पोखरा क्षेत्रमा केन्द्रित हुने गरी उक्त कार्ड सिस्टम लागू गरेपछि प्रभावकारी भएको खण्डमा अन्य ठाउँमा समेत लागू गर्न सकिने बताए ।
पोखरामा रहेका पृथ्वीराजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, स्थानीय श्रृंगा यातायात व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी व्यवसायी समितिले ई–टिकेटिङ सिस्टममा जाने भएका हुन् । यसैबीच, उक्त सिस्टम लागू भएपछि यातायात व्यवसायीहरू माथि भाडाको विषयमा हुने विवाद अन्त्य हुने भएको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले बताए ।