एउटै उपभोक्ता समितिलाई ११ योजना

खोटाङ-सरकारी बजेट उपभोक्ताले पनि खर्च गर्छन् । विगतदेखि नै उपभोक्ता समितिले सरकारी बजेट खर्च गर्दै आएका हुन् । तर, कमिसनको भरमा काम गर्नु, समितिहरू नै दलीय भागबण्डामा चयन गरिनु, हरहिसाब फेहरिस्त नराख्नु र फस्र्योट नगर्नु उपभोक्ता समितिका साझा दुर्गुण हुन् । संघीयतामा स्थानीय तह नै पंगु हुनेगरी भ्रष्टाचार बढेको सरकारी निकायले बताउँदै आएका छन् । यस्तै, भ्रष्टाचारलाई प्रश्रय दिने गरी खोटाङको जन्तेढुंगा गाउँपालिकाले एउटै उपभोक्ता समितिलाई ११ योजना सुम्पेको छ ।
गाउँपालिकाले अलग–अलग उपभोक्ता समितिमार्फत् गर्नुपर्ने काम एउटैलाई दिएको छ । उपभोक्ता समिति गठन निर्देशिकाविपरीत एउटै उपभोक्ता समितिमार्फत २८ लाख ५० हजारको ११ योजना सञ्चालन गरेर काम सुरु गरेको पाइएको हो । जन्तेढुंगा गाउँपालिकाको वडा नम्बर–५ चिसापानी बजारमा रहेको कार्यपालिकाले ११ सडक योजनाका लागि एउटै उपभोक्ता समिति गठन गरेर कार्य सुरु गरेपछि यतिबेला कमिसनको खेलमा एउटा उपभोक्ता समितिलाई धेरै वटा योजना दिइएको भन्दै स्थानीयले चौतर्फी विरोध गरेका छन् ।
बाजगरादेखि काभ्रे कृषि सडक (३ लाख), जुम्ल्याहाडाँडादेखि कार्कीभञ्ज्याङ कृषि सडक (१ लाख ३ हजार), घोडेडाँडा फोक्तुङ सडक ट्र्याक (२ लाख), भीरगाउँ–कार्कीगाउँ (१ लाख ५० हजार), डिहीडाँडादेखि भानुमति दोभान सडक बिस्तार (१ लाख ५० हजार)का लागि छुट्टाछुट्टै उपभोक्ता समिति गठन गर्नुपर्नेमा एउटै उपभोक्ता समितिमार्फत काम अघि बढाइएको छ ।
सुरुङखेल–हुम्मापोखरी सडक (१ लाख ४० हजार), खर्क–पाथीभरा सडक मर्मत (३ लाख ५० हजार), डाँडाखर्क–मार्से कृषि सडक निर्माण (१ लाख), मालबासे–काजीधारादेखि बस्नेतबीच टोल कृषि सडक (१ लाख ३० हजार, पार्टीगैरादेखि काभ्रेखोला सडक स्तरोन्नति (४ लाख)को काम जीवन तामाङको अध्यक्षतामा बनेको उपभोक्ता समितिलाई जिम्मा दिइएको पाइएको हो ।
यस्तै, नाकेपानी–सुरुङ्खेल सडक स्तरोन्नतिका लागि सडक विभागमार्फत प्राप्त भएको ८ लाख बजेट समेत सोही उपभोक्ता समितिमार्फत सञ्चालन प्रक्रिया अघि बढाइएको पाइएको छ । हरेक योजनाको छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरेर काम गर्नका लागि गाउँपालिका समक्ष माग राख्दा सुनुवाइ नभएको नेकपाका नेता याम राईले बताए । “गाउँपालिका अध्यक्ष र वडाध्यक्षको बैठकमा मैले एउटा उपभोक्ता समितिलाई सबै योजना जिम्मा लगाउन हुँदैन, नियमविपरीत हुन्छ भनेर कुरा राखेको थिएँ,” राईले भने, “तर, हाम्रो कुरा सुनिएन र आफूखुसी काम गरिएको छ ।” हरेक योजनाका लागि छुट्टा–छुट्टै उपभोक्ता समिति गठनको माग गर्दै नेकपाकै नेता तिलक बस्नेतले गाउँपालिकामा निवेदन दिएका थिए ।’
गाउँपालिका अध्यक्ष शंकर राईले भने हरेक उपभोक्ता समितिको खाता खोल्दा तीन हजारका दरले लाग्ने शुल्क बचाउनका लागि एउटा मूल उपभोक्ता समितिमार्फत काम अघि बढाउने निर्णय गरिएको बताए । “उपभोक्ता समितिको खाता खोल्न खोटेहाङ गाउँपालिका पुग्नुपर्छ, हरेक उपभोक्ता समितिको खाता खोल्दा तीन-तीन हजार लाग्छ, खाता खोल्न जाँदा आउँदा कम्तीमा ३० जनाले दुःख पाउनुपर्ने हुन्छ,” गाउँपालिका अध्यक्ष राईले भने, “एउटा उपभोक्ता समितिमार्फत बजेट निकासा गर्ने व्यवस्था भए एउटै खाताबाट सबैको काम हुन्छ । घेरै जनाले झन्झट बेहोर्नुपर्दैन भन्ने हेतुले मूल उपभोक्ता समितिलाई सबै कामको जिम्मा दिइएको हो ।” अध्यक्ष राई तत्कालीन एमालेबाट निर्वाचित भएका हुन् । ११ योजनाको काम एउटा उपभोक्ता समितिलाई सुम्पिएपछि नेकपाकै नेता तथा कार्यकर्तामा बढी असन्तुष्टि पाइएको छ ।
गाउँपालिका प्रमुखप्रति पार्टीकै नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालबाटै असन्तुष्टि पोख्न थालेका छन् ।