Logo

तातोपानीमा ७३ किमी सडक निर्माण

जुम्ला – विकासको मेरुदण्ड मानिने सडक निर्माणलाई स्थानीय सरकारले विशेष प्रथामिकता दिएर लगानी गर्दै आएका छन् । भौगोलिक रुपले विकट गाउँबस्तीमा यातायातको पहुँच पुराउने उद्देश्यले सडक निर्माणलाई जोड दिँदै आएका हुन् । बितेको साढे चार वर्षमा जुम्लाका आठ स्थानीयतहका ६० वटै वडामा ग्रामिण सडक निर्माण भएका छन् । यद्यपि, सडक निर्माण भएका अधिकांश वडामा अझै यातायातको पहुँच पुग्न बाँकी छ ।
जसअन्तर्गत जुम्लाको तातोपानी गाउँपालिकाले बितेको साढे चार वर्षमा झन्डै ७३ किलोमिटर सडक निर्माण गरेको छ । पालिकाका ८ वटै वडामा सडक सञ्जाल पुराइ यातायातको पहुँच विस्तार गर्ने उद्देश्यले करोडौं रकम खर्चेर साढे चार वर्षमा ७३ दशमलव ३ किलामिटर सडक निर्माण भएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले बताए ।

उनका अनुसार साढे चार वर्षमा सबैभन्दा बढी वडा नं. ४ को हाँकु, गौतमबाडा, नियापानी १९ दशमलब ९५ किलोमिटर र सबैभन्दा कम वडा नंं २ जर्मी, बाबिरा, डाँगीबाडामा ३ दशमलब ३७ किलोमिटर मात्रै सडक निर्माण भएको छ ।
त्यस्तै भौगोलिक हिसाबले जिल्लाकै विकट मानिने तातोपानी वडा नंं ७ मा ७ दशमलव २८ किमी, वडा नंंं. ८ मा ९ दशमलव ६७ किमी सडक निर्माण भएको छ । भने, वडा नं. १ राँका बाइराँकामा ९ दशमलव २१ किमी, वडा नंं. ३ लिताकोटमा ६ दशमलव ९१ किमी, वडा नंं. ५ मा ९ दशमलव ५७ किमी र वडा नंं. ६ मा ७ दशमलव ७ किमी गरी जम्मा ७३ दशमलब ३ किमी सडक निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत बुड्थापाले जानकारी दिए ।
उनले भने, “पालिकाको विटक क्षेत्र भनेको भेरीखोला हो । ८ नम्बर वडाको थलाले गाउँ बाहेक अन्य गाउँ सडक पहुँचमा पुगेका छन् । चालू आवमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थलालेमा बाटो निर्माण गरिनेछ ।”
गाउँगाउँमा सडक पुगेका छन् । कतै फिनिसिङ हुन बाँकी छ भने केही ठाउँमा स्तरवृद्धि गर्ने कार्यक्रम छ । गाउँका कृषि उत्पादनलाइ बजारसम्म पुराउने र स्थानीय नागरिकको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्य रहेको तातोपानी गाउँपालिकाले जनाएको छ ।
गाउँगाउँमा सडक निर्माण गरिए पनि तिला नदीमाथि पुल निर्माण नभएका कारण गाउँमा अझै यातायात पहुँच पुग्न समय लाग्ने देखिन्छ । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने, “पालिकाको लगानीमा पक्की पुल निर्माण सम्भव छैन् । हामीले आधारभुत विकास गरिरहेका छौं । पुल निर्माणका लागि संघ प्रदेशमा धाइरहेका छौ । ढिलो चाडो गाउँगाउँमा गाडी पुग्छन् ।”
सडक निर्माण गरेर यातायात पहुँच नपुगेले चाडो स्तरबृद्धि गरेर छिट्टै गाडी गुडाउन स्थानीयले माग गरेका छन् । सडक पुगे पनि अझै कृषि उत्पादन थन्कीएको यातायात पहुँच नहुँदा बजार नपाएको स्थानीय लोकबहादुर दमाईको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्