Logo

कांग्रेसमा निर्वाचन केन्द्रित छलफल सुरु


सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीको केन्द्रिय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने भएको छ ।
बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले बिहीबार बोलाइएको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको हो । स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर केन्द्रिय कार्य सम्पादन समितिको बैठकको एजेन्डा तय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकमा कोभिडका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने गरी आवश्यक निर्णय गर्ने एजेन्डा पनि राखिएको छ । प्रवक्ता महतले भातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिई गतिशील बनाउने विषयमा पनि सो बैठकमा छलफल हुने बताए ।
बिहीबार बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट चुनावी रणनीति तय गर्ने योजना कांग्रेसको छ । प्रवक्ता महतले आफ्नो दलका नेता कार्यकर्ता जनताको घरदैलोमा जाने कार्यक्रम सुरु भइसकेको बताए । ‘माघ २७ मा बस्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चुनावी एजेन्डाबारे छलफल गर्नेछ । हामीले कार्यकर्तालाई कसरी परिचालन गर्ने भनेर रणनीति बनाउनेछौं,’ उनले भने ।
उनले कांग्रेस जनताकै माझमा रहेको र यसअघिका गतिविधिले कांग्रेसले मात्रै देशको भलो गर्न सक्ने कुराको पुष्टि भइसकेकाले सबै नेताकार्यकर्ताले जनतालाई यो कुरा बुझाउन सक्नुपर्ने बताए ।
कांग्रेसजस्तै एमाले, माओवादी लगायत सबैजसो दल स्थानीय निर्वाचनको तयारीमा जुटिसकेका छन् । सरकारले स्थानीय तहको निर्वाचन ०७९ वैशाख ३० गते शुक्रबार एकै चरणमा गर्ने घोषणा गरेपछि निर्वाचनको माहोल बनेको हो । आयोगले पनि आफ्नो तयारी थालिकसकेको छ । आयोगले ७७ वटै जिल्लाका निर्वाचन कार्यालयका प्रमुखलाई मतदाता नामावली संकलन कार्यक्रम स्थगनका लागि निर्देशन दिएको छ ।
सोमबारसम्म १८ वर्ष पुगेका करिब ११ लाख जनाको मतदाता नामावलीमा नाम सूचीकृत भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले १८ वर्ष माथिका १० लाख जति मतदाता नामावलीमा सूचीकृत गराउने अनुमान लगाए पनि ११ लाखले नाम सूचीकृत गराएका हुन् । एक करोड ६४ लाख मतदातामा अव थप १० लाख नयाँ मतदाता थपिने आयोगको अनुमान छ ।
आउँदो स्थानीय तहको चुनावमा एक करोड ७३-७४ लाख मतदाता हुने आयोगको अनुमान छ । आयोगले सोमबारसम्म १६ वर्ष पुगेका नेपाली नागरिकको नामसमेत सूचीकृत गरेको थियो । १६ वर्ष पुगेर नागरिकता बनाइसकेपछि मतदाताका रूपमा सूचीकृत भएका छन् । त्यसरी नाम दर्ता गरेका नागरिक माघ २४ गते सोमबार जन्मदिन मनाएका अर्थात् १८ वर्ष पुगेका भोटर लिस्टमा सफ्टवेयरबाटै नाम स्वतः चढ्ने भएकाले निर्वाचनमा भाग लिन पाउने सहायक प्रवक्ता आर्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्