पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ ।
संघीय संसद अन्तरगतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न सांसद दुर्गा पौडेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ । सो समितिमा खेम लोहनी र लक्ष्मी परियार सदस्य रहेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको वैकल्पिक व्यवस्था गरेर जनतालाई राहत दिने गरी सरकारलाई आवश्यक सुझाव दिन सो उपसमिति गठन गरेको समितिकी सभापति निरादेवी जैरुले जानकारी दिइन् ।
बैठकमा समितिका सदस्यहरुले आयातित पेट्रोलियम पदार्थका कारण जनता मारमा परेको उल्लेख गर्दै त्यसबाट निकास दिन नेपाल भित्र पेट्रोलियम पदार्थको अन्वेषणको काम अघि बढाउन सरकारसँग माग गरे ।
एमाले नेता एवम् सांसद भीम रावलले नेपाल भित्र पेट्रोलियम पदार्थको अन्वेषण गरेर त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे । उनले दैलेख र दाङमा पेट्रोल उत्खनन् गर्ने भनिएपनि त्यो कामलाई सरकारले अघि नबढाएको भन्दै आपत्ति जनाए ।
नेपाली कांग्रेस नेता एवम् सांसद राधेश्याम अधिकारीले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराए । उनले घाटामा गएको नेपाल आयल निगमलाई अघि बढाउन त्यसको मूल्यवृद्धि गर्नु बाध्यात्मक अवस्था रहेको उल्लेख गर्दै त्यसको चुहावट नियन्त्रणलगायतका कामलाई प्रभावकारी बनाउन छुट्टै नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थबाट हुने घाटा कम गर्दै लैजान सरकारसँग माग गरे । उनले त्यसका लागि सरकारले नीतिगत, कानुनी र संरचनागत कामहरु गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
यता, नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले खरिद भन्दा बिक्री मूल्य कम भएकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु परेको बताए । उनले आयल निगम घाटामा गएकाले सरकारसँग आवश्यक कोषको व्यवस्था गर्न आग्रह गरिएको पनि बताए । निगमले सरकारलाई कर बुझाउनुपर्ने अवस्था भएकाले पनि झनै घाटाको सामना गर्नुपरेको जनाएको छ ।