Logo

१८ हजार घरमध्ये १६ हजारमा स्याउ

जुम्ला, जुम्लामा स्याउ खेती गर्नेहरुको संख्या बढ्दै गएको छ । पछिल्लो समय यातायातको सुविधा विस्तार हुँदै जान थालेपछि स्याउको बजारसमेत बढ्दै जाँदा यसप्रति किसान आकर्षित भएका हुन् । जुम्लामा रहेका झन्डै १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरीलो स्याउ खेती गरेका छन् ।
जुम्लाका अधिकांश पाखो जमिन स्याउको बगैंचाले ढाकिएका छन् । जुम्ला सडक सञ्जालमा जोडिएसँगै स्याउ उत्पादनमासमेत वृद्धि हुँदै आएको छ । “जिल्लाका १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरी स्याउ बगैंचा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेका छन्,” जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी बालकराम देवकोटाले भने, “किसानले राम्रो मूल्य पाउन थालेपछि स्याउ खेतीतर्फ आकर्षित भएका हुन् ।”
यो वर्ष जुम्लाबाट झन्डै १७ करोड रुपैयाँ बराबरको स्याउ निर्यात भएको छ । पछिल्लो समय स्याउ उत्पादनमा कृषकको लगाव बढ्दै गएका कारण उत्पादनमा वृद्धि हुँदै गएको हो । यसले किसानको आम्दानीसमेत बढाएको छ । गतवर्षको तुलनामा यस वर्ष एक करोड रुपैयाँ बढीको स्याउ उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ । व्यवस्थित कोल्ड स्टोर नभएका कारण परिपक्व नभएको स्याउ नै किसानले बिक्री गर्ने गरेका छन् । सूचना अधिकारी देवकोटाले उत्पादित स्याउ कोल्ड स्टोरमा राखेर बेमौसममा बिक्री गर्न सकिए किसानले झन् धेरै आम्दानी बढाउन सक्ने बताए ।
जुम्लाको स्याउ बिक्री गर्न बजारका समस्या छैन । व्यापारीहरुले किसानको घरमै पुगेर स्याउ खरिद गर्ने गरेका छन् । जुम्लामा उत्पादित स्याउलाई तीन वर्गमा विभाजन गर्ने गरिएको छ । ‘ए’ र ‘बी’ ग्रेडको स्याउ बाहिरी जिल्लामा निर्यात हुने गरेको छ भने ‘सी’ ग्रेडको स्याउबाट जुस, साइटर र ब्रान्डि बनाएर बिक्री गर्ने गरिएको छ । “स्याउ बिक्रीबाट यस वर्ष मात्रै झन्डै १० लाख रुपैयाँ आम्दानी गरेको छु,” तातोपानी गाउँपालिका–२ का किसान कालो बुढाले भने, “जुम्लामा उत्पादित स्याउ सुर्खेत, नेपालगन्ज, विराटनगर, काठमाडौंलगायतका बजारमा पुग्ने गरेको छ ।” जुम्लामा यस वर्ष ३ हजार ७ सय टन स्याउ बिक्री भएको छ । जसमध्ये २ हजार २ सय टन स्याउ जिल्लाबाहिर पठाइएको थियो ।
पछिल्लो समय जुम्लीको प्रमुख आयस्रोत नै स्याउ बन्न थालेको छ । स्याउको बजार व्यवस्थापन सुधारिँदै गएपछि यस वर्ष स्याउ बगैंचामै पुगेर व्यापारीले खरिद गरेका थिए । सिजनमा प्रतिकेजी ५० रुपैयाँ पर्ने स्याउ अहिले एक सय रुपैयाँ नाघेको छ । जुम्लाको अग्र्यानिक स्याउ भन्दै जिल्लामा पुग्ने पर्यटकले प्रतिकेजी १ सय २० रुपैयाँसम्म मूल्य तिरेर खरिद गर्ने गरेको स्थानीयबासिन्दा बताउँछन् ।
स्याउबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू यसप्रति आकर्षित भएका छन् । करिब १० बोट स्याउबाट वर्षभरीकै खर्च उठ्ने भएपछि किसानले अन्न फल्ने बारीमासमेत स्याउ खेती थालेका छन् ।
स्याउ व्यवसायलाई जोड दिन सरकारले स्याउ आत्मनिर्भर कार्यक्रममार्फत बर्सेनि करोडौं रुपैयाँ खर्च गरिरहेको छ । जुम्लाको एक नगरपालिका र सातवटै गाउँपालिकाको कृषि कार्यक्रमअन्तर्गत स्याउ बगैंचा व्यवस्थापन कार्यक्रमलाई प्रभावकारी बनाइएको छ । गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतले स्याउ उत्पादनमा वृद्धि भएको छ ।

शीत भण्डारण निर्माणाधीन
स्याउ भण्डारणमा समस्या भएपछि जुम्लामा ६ करोड रुपैयाँको लगानीमा बहुउद्देश्यीय कोल्ड स्टोर निर्माण हुने भएको हो । कर्णाली जनरल स्टोर प्रालिका प्रोपाईटर देउऋषि चौलागाईंले नीजि लगानीमै कर्णाली अञ्चलकै ठूलो ६ तलाको कोल्ट स्टोर निर्माण गरी बेमौसमीमा जुम्लाका उत्पादन विक्री वितरण गर्ने लक्ष्य राखेका छन् । “स्याउको सिजनमा बढी मूल्य नपाइने भएकाले शीत भण्डारणस्थलमा राखेर बेमौसमी सिजनमा बिक्री गर्ने उद्देश्यले शीत भण्डारण स्थल बनाउन लागेका हौं,” उनले भने, “बेमौसममा स्याउ बिक्री गरेर राम्रो आम्दानी गर्ने लक्ष्य राखिएको छ ।” शीत भण्डारणमा ६ सय टन स्याउ राख्न सकिने बताइएको छ । “जिल्लाका अन्य उत्पादन पनि भण्डारण गरी राख्ने व्यवस्था मिलाइँदै छ,” चौलागाईंले भने । शीत भण्डारण बनाउन राष्ट्रिय वाणिज्य बैंकले ऋण सहयोग गरेको छ ।

सागर परियार

प्रतिक्रिया दिनुहोस्