पूर्व डिआईजी सिलवालको हुलिया १९२ देशमा सर्कुलर

इन्टरपोलले नेपाल प्रहरीका पूर्वडीआईजी तथा नेकपा एमालेका सांसद नवराज सिलवाल पक्राउ गर्न उनको हुलिया १९२ मुलुकका प्रहरीलाई सर्कूलर गरेको छ । आइतबार साँझ सिलवाल विरूद्द डिफ्युजन नोटिस जारी भए लगत्तै इन्टरपोल मूख्यालयले १९२ सदस्य राष्ट्रका प्रहरी मार्फत जन्ममिति र राहदानी नम्बर सहित सिलवाल लाई पक्राउ गर्न परिपत्र गरेको हो ।
इन्टरपोलको डिफ्युजन नोटिसमा सिलवाललाई सरकारी कागजात किर्ते अभियोगमा फरार अभियुक्त उल्लेख गरिएको छ । नोटिसको स्टाटसमा सिलवाललाई ‘वान्टेड’ उल्लेख गरिएको छ । इन्टरपोलको यो नोटिससँगै सिलवाल जुनसुकै मुलुकमा भएपनि सम्बन्धित देशका प्रहरी र अध्यागमनको निगरानीमा हुनेछन् । आईजीपी बढुवासम्बन्धी कार्यसम्पादन मूल्याङ्कन किर्तेमा सिलवाल विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा सिलवाल खोज्न देशभरका प्रहरी कार्यालयलाई परिपत्र गरिएपनि नभेटिएपछि नेपाल प्रहरीले खोजीका लागि अन्तर्राष्ट्रिय प्रहरीहरूको साझा संगठन इन्टरपोल गुहारेको थियो ।