Logo

लापरबाहीले बढायो वन्यजन्तुमा क्षति


यो साता चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नालीमा खसेर मरेको गैंडाको विषयलाई लिएर निर्माण व्यवसायीलाई पक्राउ पूर्जी जारी गरियो ।
निर्माण व्यवसायीहरूको विरोध तथा कार्यदल बनाउने प्रस्तावका बीच निकुञ्जको मध्यवर्ती क्षेत्र र डिभिजन वनबीचको क्षेत्रमा आइतबार एउटा भाले गैंडा सडक छेउ खनिएको नालीमा खसेर मरेको विषयमा सामाजिक सञ्जालमा निकै चर्चा र विरोध अझै भइरहेको छ । नेपाल आउने पर्यटकको प्रमुख आकर्षण रहेको गैंडाको राज्यकै निकायको लापरबाहीका कारण मृत्यु भएका थुप्रै घटना छन् । गैंडामात्र नभएर अन्य वन्यजन्तु पनि यस्ता दुर्घटनाका शिकार भएका छन् । यस्ता दुर्घटनाले वातावरणमात्र नभएर अर्थतन्त्रमा पनि नकारात्मक असर पार्दछ ।
तर, मानवीय लापरबाही बढ्ने र अझै यस्ता घटना बढ्ने सम्भावना रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकाल बताउँछन् । “नीतिगत रूपमा सुधारको जरुरी छ, अहिले वन्यजन्तुमैत्री पूर्वाधार निर्माणसम्बन्धी निर्देशिका मस्यौदा तयार भएको छ, यो स्वीकृत भएपछि यस्ता घटनाहरू कम हुँदै जाने छ,” उनले भने, “पूर्वाधार निर्माण गर्दा सम्बन्धित पक्षको लापरबाहीले गर्दा वन्यजन्तुको मृत्यु हुन्छ, यसैले दोषीको पहिचान गरेर कारबाहीको दायरा फराकिलो बनाउनुपर्छ ।”
आव २०७७÷०७८ को तथ्यांक हेर्ने हो भने सडक दुर्घटनाका कारणमात्रै १ सय ३० वन्यजन्तुको मृत्यु भएको पाइन्छ । नहरमा डुबेर २० को मृत्यु भएको छ । तार जालीमा परेर १४ वटा वन्यजन्तुको मृत्यु भएको पाइन्छ । प्राकृतिक रूपमा मृत्यु हुने मध्ये २ सय ४० वटा वन्यजन्तु रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकोे तथ्यांक छ । ३१ वटा वन्यजन्तु चोरी शिकारी भएको तथ्यांक छ । कुकुरको आक्रमणबाट १ सय ६ र कारण नखुलेकोबाट १३ गरी अघिल्लो वर्ष जम्मा ५ सय ७३ वटा वन्यजन्तुको मृत्यु भएको तथ्यांक छ ।
अघिल्लो आवमा मृत्यु हुने वन्यजन्तुमा सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्ज रहेको विभागको तथ्यांकमा उल्लेख छ । चितवन राष्ट्रिय निकुञ्जमा, १ सय ५९ वन्यजन्तुको मृत्यु भएको छ । यसैगरी श्ुाक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १ सय १४, बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय १०, बाँकेमा ७१, पर्सा राष्ट्रिय निकुञ्जमा १५, कोसीमा १०, मकालु राष्ट्रिय निकुञ्जमा ४, शिवपुरी राष्ट्रिय निकुञ्जमा ११, रारा राष्ट्रिय निकुञ्जमा ४, लाम्टाङ राष्ट्रिय निकुञ्जमा ११ वन्यजन्तुको मृत्यु भएकोे पाइन्छ ।
विभागको तथ्यांकअनुसार शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा २, खप्तड राष्ट्रिय निकुञ्जमा १, सगरमाथा राष्ट्रिय निकुञ्जमा ४, अपिनाम्पा संरक्षण क्षेत्रमा १, अन्नपूर्ण संरक्षण क्षेत्रमा १२, गैरीशंकर संरक्षण क्षेत्रमा ६, मनास्लु संरक्षण क्षेत्रमा २०, कृष्णसार संरक्षण क्षेत्रमा १०, कञ्चनजंगा संरक्षण क्षेत्रमा ३, ढोरपाटन शिकार आरक्षमा ५ गरी जम्मा ५ सय ७३ वन्यजन्तुको मृत्यु भएको तथ्यांक छ ।
वनजन्तु संरक्षणकर्मी राजु आचार्यले नीतिगत तहबाट नै गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को प्रभावकारी कार्यान्वयन हुन नसक्दा लापरबाही बढिरहेको र वन्यजन्तुको मृत्यु पनि बढेको बताए । “संरक्षित क्षेत्र वा त्यसको आसपासमा कुनै पनि विकासका पूर्वाधार बनाउने क्रममा ईआईए गर्ने प्रावधान छ, तर त्यो ईआईए कार्यान्वयन भएको छ कि छैन भनेर अनुगमन प्रभावकारी हुन नसक्दा लापरबाही बढेको छ,” उनले भने, “यही लापरबाहीका कारण वन्यजन्तुको वासस्थान धरापमा छ, निर्माणमा ध्यान दिन नसक्दा खाल्टोमा पुरिएर वन्यजन्तुको मृत्यु हुने, लापरबाही तरिकाले सवारी चलाउँदा वन्यजन्तुको सडक दुर्घटनाबाट मृत्यु हुनेलगायतका समस्याले वन्यजन्तु नासिएका छन् ।”
आचार्यले यसमा सबै राज्यका निकाय चनाखो भएर लापरबाहीका कारण हुने क्षति कम गर्न कारबाहीको दायरालाई फराकिलो बनाउन आवश्यक रहेको बताए ।

आव २०७७-०७८ मा वन्यजन्तुको क्षति

क्षेत्र
वन्यजन्तुको मृत्यु
चितवन राष्ट्रिय निकुञ्ज
१५९
बर्दिया राष्ट्रिय निकुञ्ज
११०
बाँके राष्ट्रिय निकुञ्ज
७१
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
११४
पर्सा राष्ट्रिय निकुञ्ज
१५
कोसी वन्यजन्तु आरक्ष
१०
मकालु राष्ट्रिय निकुञ्ज

शिवपुरी राष्ट्रिय निकुञ्ज
११
रारा राष्ट्रिय निकुञ्ज

लामटाङ राष्ट्रिय निकुञ्ज
११
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज

खप्तड राष्ट्रिय निकुञ्ज

सगरमाथा राष्ट्रिय निकुञ्ज

अपिनाम्पा संरक्षण क्षेत्र

अन्नपूर्ण संरक्षण क्षेत्र
१२
गैरीशंकर संरक्षण क्षेत्र

मनास्लु संरक्षण क्षेत्र
२०
कृष्णसार संरक्षण क्षेत्र
१०
कञ्चनजंगा संरक्षण क्षेत्र

ढोरपान शिकार आरक्ष

जम्मा
५७३

स्रोत– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

प्रतिक्रिया दिनुहोस्