वर्षको एकपटक नुन पाउँदा मुगाली खुसी «

वर्षको एकपटक नुन पाउँदा मुगाली खुसी




‘सुनको सिरानी गरी नुनको खोजी गर्ने’ हिमाली जिल्ला मुगुको खत्याड गाउँपालिकाका स्थानीय वर्षमा एकपटक अनुदानको नुन पाउँदा पनि खुसी हुन्छन् । विगतका वर्षमा अन्य जिल्लाबाट ल्याएर नुन खानुपथ्र्यो । यस वर्ष भने सरकारले मुगुमै नुन पठाएको छ ।
“पहिले पहिले अछाम, बाजुरा, नेपालगन्ज, सुर्खेतबाट नुन लिएर आउनुपथ्र्यो । यो वर्ष घरआँगनमै २० किलो नुन पाउँदा खुसी छौं,” मुगुको खत्याड गाउँपालिका–१ का स्थानीय मानबहादुर बुढाले भने ।
सरकारले एक परिवारलाई दिएको २० किलो नुन अपर्याप्त रहेको उनले बताए । “घरआँगनमै नुन आउँदा निकै खुसी भएका छैं तैपनि यो नुन निकै कम भएको छ । घरमा भेडाबाख्र्रा, भैंसीलगाएत अन्य पशु चौपाया भएको यसले पुग्दैन,” उनले थपे । हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लाहरुमा नेपाल सरकारले विगतका वर्षहरुदेखि आयोडिन युक्त नुन अनुदानमा वितरण गर्दै आइरहेको छ । विकट हिमाली जिल्ला मुगुमा रहेका छायानाथ रारा नगरपालिका र मुगमकामारोङ गाउँपाालिकामा रहेका स्थानीय नागरिकहरुलाई साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कम्पनीको डिपो कार्यालय गमगढी बजारबाट नियमित नुन वितरण गरिन्छ । सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा भने वार्षिक रुपमा कम्पनीबाट अनुदानको आयोडिन नुनको कोटा छुट्याएको हुन्छ । सोहीअनुसार चालू आव २०७८-०७९ मा खत्याड गाउँपालिकाको लागि स्वीकृत एक हजार क्विन्टल अनुदानको नुन ४२ सय घरधुरीलाई ९ रुपैयाँको दरले प्रतिघर २० किलो र अन्य कर्मचारीहरुलाई मिलाएर वितरण गरिएको छ । सोरु गाउँपालिकामा माघ महिनाको अन्तिमसम्म नुन वितरण गरिने साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड शाखा मुगुका डिपो प्रमुख खगेन्द्र कार्कीले बताए ।
माथिल्लो मुगुमा भने स्थानीयले तिब्बतबाट ढिके नुन ल्याएर उपभोग गर्दै आएका छन् । सहजै आयोडिनयुक्त नुन नपाइने भएपछि ५ गाविसका स्थानीय तिब्बत जाने गरेका हुन् । साल्ट ट्रेडिङले भने गोदाम आइपुग्ने जोसुकैलाई आवश्यकताअनुसार नुन दिने गरिएको जनाएको छ । जिल्लामा वार्षिक नुनको स्वीकृत कोटा ५ हजार ८ सय क्विन्टल छ । सोरु र खत्याड भेगका १४ गाविसका लागि ठेकेदारले साँफेबगरबाट नुन ढुवानी गर्ने गरेका छन् । सदरमुकाममा भने नेपालगन्जबाट गाडीमार्फत ढुवानी हुने गरेको छ ।
सोरु र खत्याड भेगका लागि नुन अझै पर्याप्त छैन । सोरु र खत्याड भेगका लागि करिब १० हजार क्विन्टल नुन आवश्यक देखिएको छ । सोरु भेगका ७ गाविसका निम्ति पर्याप्त नुन नहुँदा स्थानीय दुई दिन हिँडेर सदरमुकाम आई भेडा र खच्चरमा बोकाएर नुन लैजाने गरेका छन् । गमगढीमा पनि लामो समय पालो कुरेपछि मात्र नुन पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्