Logo

खोप अभियानको एक वर्ष

आर्थिक गतिविधि चलायमान

सिमकोट-जिल्ला अस्पताल हुम्लामा कोरोना विरुद्धको दोस्रो मात्राको भेरोसेल खोप लगाउँदै महिला । तस्वीर : दाने बोहरा, रासस

सरकारले कोरोना संक्रमण नियन्त्रण रोकथामसहित खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेका कारण गत एक वर्षमा आर्थिक गतिविधिमा पूर्ण रूपमा अवरोध भएन । संक्रमण नियन्त्रण गर्न खोप अभियान र स्मार्ट लकडाउनका कारण आर्थिक गतिविधि पूर्ण रूपमा अवरोध नभएको हो ।
सरकारले तीन करोड ७० लाख मात्रा खोप वितरण गरिसकेको छ । नेपालमा खोप अभियान सुरु भएको एक वर्ष पूरा भएका कारण आर्थिक गतिविधि सुस्त भए पनि अवरोध भने देखिएको छैन । सरकारले दोस्रो लहरपछि आर्थिक गतिविधिमा अवरोध हुने जनाउँदै स्मार्ट लकडाउन लागू गरेपछि आर्थिक क्रियाकलाप सुस्त भए पनि नरोकिएको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित जनसंख्या एक करोड ९९ लाख २२ को ७१ प्रतिशत अर्थात् एक करोड ४२ लाख चार हजारलाई पूर्ण मात्राको खोप वितरण गरिसकेको छ । यसैगरी एक करोड ६६ लाख ७० हजार अर्थात् ८३ प्रतिशतलाई एक मात्राको खोप वितरण गरिएको छ । यसैगरी तीन लाख ६९ हजार २ सय २६ अतिरिक्त मात्राको खोप लगाइसकिएको छ ।
विगत दुई वर्षदेखि कोभिड–१९ संक्रमण विश्वव्यापी रूपमा चुनौती बन्दै आएपछि सरकारले संक्रमणको क्षति कम गर्न खोप अभियानलाई तीव्रता दिएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोना संक्रमण नियन्त्रणका लागि रोकथाम, उपचार र खोप अभियानलाई अवलम्बन गर्दै नागरिकको जीवन रक्षा गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । सरकारले संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचारमा प्रमाणित उपायहरूको प्रयोग गर्दै जोखिम कम गर्न नेपाल सरकारले गत वर्षको माघबाट पहिलो पटक अग्रपंक्तिमा रहेर काम गर्नेका लागि कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ गरेको थियो । अभियान सुरु भएको एक वर्षको अवसरमा मन्त्री खतिवडाले नेपाल खोप उत्पादक देशभन्दा पछि खोप अभियान सुरुवात गर्ने विश्वका सीमित देशमा सबैभन्दा अगाडि रहेको सन्देश दिएका छन् । यो एक वर्षमा नेपालमा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन, मोडर्ना र फाइजर खोपहरू प्रयोगमा आएका छन् ।
हाल १२ वर्ष माथिका सबैका लागि खोप अभियान सुरु गरिसकिएको मन्त्रालयले जनाएको छ । नेपालमा चार करोड २० लाख ८९ हजार ६ सय ४० मात्रा खोप विभिन्न विधिबाट प्राप्त भएको मन्त्री खतिवडाको सन्देशमा उल्लेख छ । जसमध्ये तीन करोड ६ लाख चार हजार १ सय ५२ मात्रा प्रयोग भइसकेको छ । अठार वर्षमाथिको लक्षित जनसंख्याको ७० प्रतिशत जनसंख्याले पूर्णमात्रा र ८३ प्रतिशतले एक मात्रा खोप लगाइसकेका छन् । १२ वर्षदेखि १७ वर्षका १८ लाख ७२ हजार ६ सय ७० जना बालबालिकाले पहिलो मात्रा २३ लाख ५८ हजार २ सय ९८ जना बालबालिकाले पूर्णमात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने पेसाका झण्डै तीन लाख ५७ हजारलाई अतिरिक्त मात्रा खोप लगाइसकिएको छ । खोप अभियानका कारण दोस्रो तथा तेस्रो लहरमा हुनसक्ने ठूलो जोखिमलाई कम गर्न सकिएको मन्त्रालयको भनाइ छ । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको तथा अभैm कोभिड–१९ को खोप लगाउन बाँकी रहेकाले बाँकीलाई समेत खोपको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्