बजारमा अस्वाभाविक मूल्यवृद्धि «

बजारमा अस्वाभाविक मूल्यवृद्धि

बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक रूपमा मूल्य बढ्न थालेको छ । कोभिड संक्रमण बढिरहेका बेला कृत्रिम अभाव गराएर व्यवसायीले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।
औषधि, दाल, खानेतेल, पाउरोटी, आटा चिनी, निर्माण सामग्रीलगायतका अन्य दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । कमजोर नियमन र अनुगमनको फाइदा उठाउँदै र इन्धनको मूल्य बढेको भन्दै खुद्रा व्यवसायीले दाल, खाने तेलको मूल्य बढी लिन थालेका छन् ।
नेपाल खुद्रा व्यापार संघका अनुसार कोभिड सुरु हुनुभन्दा भटमासको तेलको प्रतिलिटर खुद्रा मूल्य १ सय ४० रुपैयाँ रहेकोमा ७१ प्रतिशतभन्दा धेरैले बढेर २ सय ४० पुगेको छ ।
वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि साढे पाँच प्रतिशतभन्दा कम रहेको अवस्थामा खाद्यान्नको मूल्य वर्षमै ३६ प्रतिशतसम्म बढेको छ ।
यस्तै, करिब दुई वर्षअघि लिटरको १ सय ७५ रुपैयाँ रहेको तोरीको तेल (काँचो) को खुद्रा मूल्य अहिले त्यसमा झन्डै ५० प्रतिशतले बढेर २ सय ६० रुपैयाँ पुगेको छ । यसमा पनि वार्षिक औसतमा ५० प्रतिशतको वृद्धि भएको छ । भुटेको तोरीको तेल पनि ३३ प्रतिशत महँगिँदै लिटरको २ सय ७० बाट ३६० रुपैयाँमा उक्लिएको छ । नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रमान वज्रचार्यले होलसेल मूल्य नै बढेर आएकाले तेलको मूल्य बढ्न गएको बताए ।
कोभिड महामारीकै बीच दसैं–तिहार सकिएलगत्तै खाद्य उद्योगहरूले क्रमिक रूपमा मूल्य बढाउन सुरु गरेका हुन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालू वर्ष २०७७-०७८ मा घ्यू तथा तेलमा सबैभन्दा धेरै (२८.५ प्रतिशत) मूल्यवृद्धि भएको छ । यस्तै, यातायातमा १६.२५ प्रतिशत र दाल तथा गेडागुडीमा ११.७९ प्रतिशत मूल्यवृद्धि छ ।
यसैगरी उपभोग्य वस्तुमा ९.२२, मध्यवर्ती वस्तुमा ६.११ र पुँजीगत वस्तुमा थोक मूल्यवृद्धि ७.२४ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार, २०७७ मंसिरमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.३३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६९ प्रतिशत थियो । यो अवधिमा उपभोग्य वस्तु ५.८१, मध्यवर्ती वस्तु ७.७० र पुँजीगत वस्तु २.७७ प्रतिशत भएको थियो ।
यसैबीच, बजारमा निर्माण सामग्रीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको देखाउँदै स्थानीय बजारमा मूल्य बढाएका हुन ।
कच्चा पदार्थको मूल्यवृद्धि देखाउँदै व्यवसायीहरूले छड, सिमेन्टको मूल्य बढाए । निर्माण सामग्रीको भाउ अचाक्ली महँगिएपछि घर, पुल, सडक निर्माण महँगो भयो ।
कोभिड सुरु हुनुभन्दा अघि प्रतिकिलो छडको भाउ ७७.२५ देखि ९७.२५ रुपैयाँसम्म थियो । गत असोजमा भने नेपालमा बिक्री हुने सबै ब्राण्डका डन्डीको मूल्य प्रतिकिलो १ सय ५ रुपैयाँ माथि पुग्यो । अहिले पनि किलोको सय रुपैयाँ हाराहारीमा डन्डी छ ।
पछिल्लो समय अनुगमन प्रभावकारी नहुँदा बजारमा दैनिक उपभोग्य वस्तुसँगै निर्माण सामग्रीको मूल्य पनि बढ्न गएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेना कमजोर अनुमगन र नियमनको फाइदा उठाँउदै व्यवसायीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका छन् । बजार अनुगमन निमयनको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता हरि पंगेनी दैनिक दुई वटा टोली बनाएर बजार अनुगमन गरिरहेको बताए । पछिल्लो समय स्वाथ्य सामग्रीको अभाव भइरहेकाले त्यसमा अनुगमन केन्द्रित गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्