दैनिक थपिने संक्रमित काठमाडौंमा बढी

पछिल्लो २४ घण्टामा थप १० हजार २ सय ५४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण थपिएका छन् । २४ घण्टामा १६ जना संक्रमिको मृत्यु भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ पुगेको छ ।
एन्टिजेनबाट ५ हजार ७ सय २५ जना र पीसीआर विधिबाट १४ हजार ४ सय ६२ जना गरी २० हजार १ सय ८७ परीक्षण हुँदा १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । १४ हजार ४ सय ६२ पीसीआर परीक्षण हुँदा आठ हजार २ सय १२ र ५ हजार ७ सय २५ एन्टिजेन परीक्षणमा २ हजार ४२ जनामा गरी कुल १० हजार २ सय ५४ मा नयाँ संक्रिमत थपिएका हुन् ।
सबैभन्दा बढी संक्रमित उपत्यकामा छन् । काठमाडौंमा ३ हजार ७ सय ६२, ललितपुरमा १ हजार १ सय १० र भक्तपुरमा ४ सय ३४ जना संक्रमित थपिएका छन् । विगत २४ घण्टामा निको हुने संक्रमितको संख्या ७ सय ८ रहेको छ । शनिबारसम्म आईसीयूमा २ सय १० जना र भेन्टिलेटरमा ३७ जना बिरामी उपचारमा रहेकोे मन्त्रालयले जनाएको छ ।