नेपाल टेलिकमको विन्टर अफर «

नेपाल टेलिकमको विन्टर अफर

नेपाल टेलिकमले ३ माघदेखि लागु हुने गरी विन्टर अफर ल्याएको छ ।
कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरूको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको टेलिकमले जनाएको छ ।
अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ । पहिले २८ दिनका लागि ५९९ रुपैयाँमा लिन सकिने ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध भइरहेकोमा अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’ र ‘सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याक समेत उपलब्ध हुने भएको छ । यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरू उपलब्ध गराइएको छ । डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरूको मुख्य विशेषता हो ।
सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने छ । यस अन्तर्गत २९९ रुपैयाँमा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटासमेत चलाउन सकिने छ ।
यसैगरी टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताहरूका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने छ । पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने छन् ।
फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रूपमा लिन सकिने बेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने प्रवक्ता राजेश जोशीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्