लमजुङ जिल्ला अस्पतालमा फिभर क्लिनिक सुरु

लमजुङ – कोभिड–१९ संक्रमण जोखिमको तेस्रो लहर सुुरु भएसँगै लमजुङ जिल्ला अस्पतालमा पुनः फिभर क्लिनिक शुरु भएको छ । अस्पतालमा आएका बिरामीहरूमा कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि अस्थायीरुपमा फिभर क्लिनिक स्थापना गरिएको अस्पतालले जनाएको हो ।
अस्पतालमा आएका विरामीहरूमा पहिलो चरणमा फिभर क्लिनिकबाट परिक्षण गरि थप उपचार सुुरु गरिने अस्पतालका प्रशासकिय प्रमुख हेमन्त श्रेष्ठले बताए । फिभर क्लिनिकसँगै अस्पतालमा कोभिड संक्रमितहरूका लागि होल्डिङ सेन्टर र कोभिड वार्डको व्यवस्थापन गरिएको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ ।
अस्पतालका अनुसार अस्पताल आएका बिरामी तथा विरामीहरूका अन्य सहयोगीहरूलाई रुघाखोकी लागे नलागेको बारेमा सोधपुछ गरिने र फिभर क्लिनिकमा ज्वरो परिक्षण गरी कोभिडको शंका लागेमा तत्कालै कोभिड परिक्षण गर्ने व्यवस्था मिलाईएको छ । कोभिड परीक्षणका क्रममा संक्रमण देखिएमा अस्पतालमा अलग्गै कोठामा राख्ने व्यवस्था गरिएको समेत अस्पताल प्रमूख श्रेष्ठले बताए ।
कोभिड वार्डमा पुगेका संक्रमितहरूलाई स्वास्थ्यकर्मीहरूले रोगका लक्षण तथा जोखिमको अवस्था बारेमा जानकारी दिनुको साथै सुरक्षित हुने तरिकाका बारेमा जानकारी गराउने अस्पताल प्रशासकिय प्रमूख श्रेष्ठले बताए ।
जिल्ला अस्पतालको आइसोलेसनमा हाल दुईजना मात्रै कोरोना संक्रमित छन् । कोभिड संक्रमित मध्ये अवस्था गम्भीर बनेका विरामीहरूलाई आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्थासमेत गरेको अस्पतालले जनाएको छ भने सामान्य अवस्थाका संक्रमितहरूलाई सुरक्षाको मापदण्ड पालना गर्ने गरी होम आइसोलेसन पठाउने गरिएको छ ।
जिल्लामा कोरोना संक्रमण बढ्नसक्ने भन्दै सम्भावीत विरामीहरूको उपचारको निम्ती जिल्ला अस्पतालमा २५ शैयाको आईसोलेसन कक्ष तयार भएको छ । जिल्लास्थित डिसिसिएमसी बैठकको निर्णयानुसार जिल्ला अस्पतालमा आईशोलेसन कक्ष तयार गरिएको अस्पताल प्रमूख श्रेष्ठले बताए ।
जिल्ला अस्पताको नयाँ भवनमा तयार गरिएको आईशोलेसन कक्षमा प्रत्येक शय्याका लागि मनिटर र अक्सिजनको पनि व्यवस्था गरिएको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ । आइसोलेसन कक्षसँगै कोभिड संक्रमितको उपचारका लागि आवश्यक जनशक्ती पनि तयारी अवस्थामा राखिएको अस्ले जनाएको छ ।
कोरोना संक्रमणको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लाभर मेला महोत्सव, भेला तथा अन्य सामुहिक भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । संक्रमण जोखिमकै कारण जिल्लाका विद्यालयहरू भने बन्द भइसकेका छन् ।