विदेशमा नेपाली स्वास्थ्यकर्मीको माग «

विदेशमा नेपाली स्वास्थ्यकर्मीको माग

दशकौंदेखि नेपालबाट विदेशमा अदक्ष श्रमिकमात्र काम खोज्न जान्छन् भन्ने तथ्य पछिल्ला वर्षहरूमा परिवर्तन हुँदै आइरहेको छ । विगतमा डर्टी, डेन्जरस, डिफिकल्ट गरेर थ्री डी कामका लागि मात्र नेपाली श्रमिकको माग रहेको छ भन्ने गरिन्थ्यो भने पछिल्ला वर्षहरूमा अर्धदक्ष तथा भाषा जानेका एवं सीप पनि जानेका नेपाली श्रमिकको माग बढिरहेको छ । झन् कोरोना कहरपछि त दक्ष तथा भाषा जानेका स्वास्थ्यकर्मीको माग पनि बढेको छ । अन्य मुलुकका कामदारको तुलनामा नेपालीहरू इमानदारी तथा मेहेनती प्रवृत्तिका भएका कारण पनि केही वर्षअघिसम्म अदक्ष श्रमिक माग गर्ने श्रम गन्तव्यले पनि पछिल्लो समय नेपालबाट स्वास्थ्य क्षेत्रमा काम गर्ने दक्ष स्वास्थ्यकर्मीको माग गर्न थालेका हुन् । कोरोना संक्रमणको पछिल्लो दुई वर्षले विश्वभर स्वास्थ्यकर्मीको आवश्यकता तथा महत्व बढाएको छ । नेपालमा नै पनि पहिलो लहर होस् वा दोस्रो वा तेस्रो लहर, पहिलो पंक्तिमा खटिएर धेरै स्वास्थ्यकर्मीहरू संक्रमित भएका छन् । उनीहरूको लगन तथा मेहेनतका कारण धेरैको जीवन जोगिएको छ । कोरोनाको पहिलो लहरदेखि नै उनीहरूले बिना कुनै सरकारी प्रोत्साहन एवं उपकरण एवं औषधि दिनरात खटिएर सेवा गरेका थिए ।
विश्वभर कोरोना महामारीले समस्या पार्दा विश्व श्रम बजारमा स्वास्थ्य क्षेत्रका जनशक्ति महँगो हुन थालेपछि नेपालबाट स्वास्थ्य क्षेत्रमा काम गर्ने नर्सलगायतका दक्ष कर्मचारी माग हुन थालेको हो । यसअघि अदक्ष श्रमिक माग गर्ने खाडीका केही मुलुक तथा इजरायल, बेलायत तथा युरोपलगायतका देशले नेपालबाट बीएस्सी नर्स, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स (पीसीएल), डेन्टल टेक्निसियन, डेन्टल हाइजिनिस्ट, डेन्टल एक्सरे र केयर गिभरलगायतका क्षेत्रमा रोजगारी दिने गरी नेपाली नर्स लैजाने इच्छा देखाउन थालेका छन् ।
विश्वभर नै कोरोना संक्रमणपछि अन्तर्राष्ट्रिय श्रम बजारमा देखिएको दक्ष स्वास्थ्यकर्मी तथा प्राविधिक श्रमिकको अभाव पूरा गर्न नेपालले कतिको मद्दत गर्न सक्छ भन्ने एउटा पाटो हो भने नेपालकै पनि आवश्यकताअनुरूप कति स्वास्थ्यकर्मी उत्पादन भइरहेका छन्, अर्को महत्वपूर्ण विषय हो । नेपाली नर्स तथा स्वास्थ्यकर्मी अन्य मुलुकका तुलनामा मेहनती, इमानदार र सस्तो भएका कारण पछिल्लो समय नेपालबाट नर्स तथा केयर गिभरको माग हुन थालेको परिप्रेक्ष्यमा नेपालमा भने आन्तरिक आवश्यकता तथा त्यसको आपूर्ति कसरी हुन्छ, सरकारले बेलैमा सोच्न आवश्यक छ । विश्व बैंकको सन् २०१९ को तथ्यांकअनुसार नेपालमा प्रति १ हजार जनालाई ३.३० नर्स तथा मिडवाइफ रहेका छन्, जबकि संयुक्त अधिराज्यमा प्रति १ हजार जनालाई १०.३० नर्स तथा मिडवाइफ रहेका छन् ।
त्यसैले पछिल्लो दुई दशकदेखि अदक्ष श्रमिक स्रोत मुलुकका रूपमा रहेको नेपालबाट बेलायत, इजरायल तथा खाडी देशबाट नर्स तथा स्वास्थ्य प्राविधिकको माग आउनु सकारात्मक भए तापनि नेपालभित्रको आवश्यकताको पनि सरकारले ध्यान दिनु आवश्यक छ । हाल इजरायलले अस्पताल तथा केयर गिभर संस्थाका लागि नेपालबाट १ हजार १ सय ७५ श्रमिकसँग रोजगार सम्झौता गरिसकेको छ, जसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने तयारी अन्तिम चरणमा पुगेको छ । जसमध्ये कतिपयसँग इजरायलको अस्पतालले रोजगार सम्झौतासमेत गरिसकेको छ । यसैगरी कुबेतको स्वास्थ्य मन्त्रालयको समन्वयमा त्यहाँका विभिन्न अस्पतालमा काम गर्न पनि माग आएको विभागले जनाएको छ ।
त्यसैले काम, पारिश्रमिक तथा सेवा–सुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा दुई पक्षबीच भएको औपचारिक छलफलबाट श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने क्रममा उनीहरू नठगिऊन् भन्नेतर्फ पनि सरकारले ध्यान दिनु आवश्यक छ । हुन त सरकारले नेपाल र बेलायतबीच सरकारी स्तरबाट मात्र नेपाली नर्स रोजगारीका लागि बेलायत पठाउने, रोजगार सम्झौताको अवधि पाँच वर्षको हुने र रोजगारीका लागि बेलायत जाने नर्सले कुनै सेवाशुल्क भने बुझाउनु नपर्ने जनाएको छ । तर, सरकार कमजोर भएको फाइदा उठाउँदै यसअघि पनि इजरायल वा जापानका नाममा नेपाली युवा ठगिएका कारण बेलायतलगायत विभिन्न मुलुकमा जाने स्वास्थ्यकर्मी नठगिऊन् भनेर सरकार सचेत हुनुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्