जनमत संग्रह मान्य हुँदैन : सभापति देउवा

म्याग्दी-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकरात्मक रहे पनि सम्झौता गरिएको जनमत संग्रह मान्य नहुने बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले देशको केही भूभागको विषयमा जनमत संग्रह हुन नसक्ने बताएका हुन् ।
मुलुकको अखण्डतालाई स्विकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउन सरकार र सिके राउतको वार्ता सकारात्मक पक्ष रहेको बताए । सरकार र राउत समूहबीच भएको सहमतिपत्रको बुँदामा प्रयोग गरिएको जनअभिमत शब्दलाई जनमत संग्रहको रुपमा स्विकार गर्न भने नसकिने उनको भनाइ छ ।
“सरकारले सहमति गरेको सबै बुँदा पढेको छैन, केही बुँदामा अस्पष्टता भए त्यसलाई सरकारले प्रष्ट पार्नुपर्छ,” उनले भने । कार्यक्रममा नेता देउवाले आफूले पार्टीमा कसैको अधिकार नखोसेको बताए । पार्टीको विधान अनुसार नै आफू चलेको बताउँदै पार्टीको नेतृत्वको लािग सहमति नभए चुनाव लड्न सबैलाई अधिकार रहेको प्रष्ट पारे ।
वाइडबडी भ्रष्टाचारमा तत्कालिन सरकारको नेतृत्व आफूले गरेको भएपनि मन्त्रालय आफूसँग नजोडिएकाले आफूलाई केही जानकारी नरहेको प्रतिक्रिया उनले दिए । नेविसंघभित्रको उमेरहद र निर्वाचनको विवाद संगठनभित्रको आन्तरिक विवाद रहेको बताउँदै उनले विवाद हटाउन विधानअनुसार नै संघलाई अघि बढाइने जानकारी दिए । नेपालका बहुसंख्यक नागरिक हिन्दू भएपनि नेपाललाई हिन्दू राज्य घोषणा गर्न सम्भव नरहेको पनि उनले बताए ।