कोभिडपछि कम्पनी दर्ता उत्साहजनक «

कोभिडपछि कम्पनी दर्ता उत्साहजनक

कोभिड महामारीपछि मुलुकको व्यावसायिक क्षेत्रमा चुनौती थपिए पनि नयाँ कम्पनी खोल्ने क्रम भने उत्साहजक रुपमा बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार आफ्नै व्यापार–व्यवसाय सुरु गर्न कम्पनी दर्ताको क्रम बढेको हो । कोभिड महामारी सुरु भएपछि गत आर्थिक वर्ष २०७७-०७८ तथा चालू आवको पाँच महिनासम्मको तथ्यांक हेर्दा देशमा कम्पनी दर्ता उत्साहजनक रुपमा बढेको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार गत आथिक वर्ष २०७७-०७८ मा २६ हजार ४ सय ९८ कम्पनी दर्ता भएका थिए, जुन अघिल्लो आव २०७६-०७७ भन्दा ८ हजार बढी हो । सो वर्ष १८ हजार ५ सय ९५ कम्पनी दर्ता भएका थिए । चालू आवको साउनमा पनि ३ हजार ८ सय कम्पनी दर्ता भएका छन् । अघिल्लो वर्षको साउनमा २ हजार ६ सय ५२ कम्पनी दर्ता भएकोमा चालु वर्षको सुरुमै करिब १ हजार २ सय बढी कम्पनी दर्ता भएको तथ्यांक छ । यस्तै, २०७७ भदौ महिनामा १ हजार ३ सय ४४ कम्पनी दर्ता भएकोमा यस वर्षको भदौमा भने झन्डै तीन गुणा बढी अर्थात ३ हजार ७ सय ६२ कम्पनी दर्ता भएका छन् । असोज महिनामा भने कम्पनी दर्तामा केही कमी आएको देखिन्छ । गत वर्षको असोजमा ३ हजार ४ सय ९८ कम्पनी दर्ता भएकोमा चालु वर्षमा भने यो संख्या २ हजार ७ सय ६९ मा सीमित छ ।
कोभिड महामारीपछि विदेशमा गएका नेपाली फर्केर आफैं स्वरोजगारमूलक काम गरेका कारण कम्पनी दर्ता बढेको हुन सक्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन् । उनका अनुसार मुलुकमा उद्यमशीलताको विकासका लागि सरकार र निजी क्षेत्रले कार्यक्रम अघि सारिरहेकाले पनि व्यवसाय गर्नेको संख्या बढिरहेको अवस्था छ । यसका साथै महिला उद्यमी तथा नव उद्यमीका लागि सरकारले सहुलियतमा ऋण प्रदान गर्नु पनि अर्काे सकारात्मक पक्ष भएको व्यवसायीहरुको भनाइ छ ।
कार्यालयको तथ्यांक अनुसार चालु आवको कात्तिकमा २ हजार १ सय ४५ कम्पनी दर्ता भएका थिए, जुन अघिल्लो वर्षको कात्तिकको तुलनामा बढी हो । अघिल्लो वर्ष १ हजार ९ सय ४६ कम्पनी दर्ता भएका थिए । यस्तै, मंसिर महिनामा २ हजार ६ सय ८१ कम्पनी दर्ता भएका छन् । अघिल्लो वर्षको मंसिरमा २ हजार ४ सय ७८ कम्पनी मात्र दर्ता भएका थिए । पुस महिनामा भने नयाँ कम्पनी दर्ताभन्दा पुराना कम्पनी अद्यावधिक र नवीकरणको काम प्राथमिकतामा पर्ने गरेको छ । कार्यालयले पब्लिक लिमिटेड, प्राइभेट लिमिटेड, मुनाफा वितरण नगर्ने कम्पनी तथा विदेशी कम्पनीको शाखा वा सम्पर्क कार्यालय शीर्षकमा छुट्टाछुटै कम्पनी दर्ता गर्ने गर्छ । कुल दर्ताको ९० प्रतिशतभन्दा बढी प्रालि शीर्षकमा दर्ता हुने गरेको कार्यालयका सूचना अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्