सामाजिक सुरक्षा योजनामा १२ अर्ब संकलन


योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको ३ वर्षमा ११ अर्ब ८७ करोड रुपैयाँ श्रमिकको योगदान रकम संकलन भएको छ । संकलित रकममध्ये ६० करोड ४४ लाख रुपैयाँ बराबर लाभग्राही दाबी भुक्तानी गरिएको छ ।
योजना कार्यान्वयनमा आएको २ वर्ष अर्थात अघिल्लो वर्षको मंसिरसम्म योगदान रकम ३ अर्ब १० करोड रुपैयाँ संकलन भएको थियो । हालसम्म जम्मा रकम योजनामा सूचीकृत भएका लगभग १६ हजार २३४ रोजगार प्रतिष्ठान मध्येबाट २ लाख ४ हजार श्रमिकले जम्मा रहेको रकम हो यो । योजनामा लगभग ३ लाख ४ हजार २४१ श्रमिक सूचीकृत भए पनि २ लाख ४ हजारको मात्र रकम जम्मा भएको छ । सामाजिक सुरक्षा योजनामा सूचीकृत भएका रोजगारदाताले २० र श्रमिकको तर्फबाट ११ प्रतिशत गरी ३१ प्रतिशत मासिक रुपमा जम्मा गर्नुपर्ने नियम छ ।
कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले पछिल्लो समय सूचीकरणकासाथै नियमित योगदान गर्ने योगदानकर्ताहरूको संख्यामा समेत उल्लेख्य सुधार भई पुुस मसान्तसम्ममा योगदानकर्ता २ लाख ४ हजार भन्दा बढी पुगेको जानकारी दिए । कोषको विभिन्न ४ योजना अन्तर्गत हालसम्म १३ हजार ६४ लाभग्राहीले दाबी रकम भुक्तानी पाइसकेका छन ।
२०७७ मंसिरसम्म कोषमा सूचीकृत प्रतिष्ठानहरूको संख्या १२ हजार ९ सय १५ पुगेकोमा हाल १६ हजार २ सय ३४ पुगेको छ । कार्यकारी निर्देशक ज्ञवालीले कोषले सञ्चालन गरिरहेका सुरक्षा योजना अन्तर्गत लाभग्राही योगदानकर्तालाई सुविधा दिने कार्य निरन्तर बढिरहेको बताए ।
कोषले सञ्चालन गरेको औषधोपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा हालसम्ममा ४ हजार ७ सय ८९ वटा दाबीबापत ८ करोड ३६ लाख ४९ हजार कोषबाट विभिन्न योगदानकर्तालाई भुक्तानी भएको छ । त्यसैगरी, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा हालसम्ममा १ सय ६४ वटा दाबीबापत ७८ लाख २५ हजार, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत १ सय ४० वटा दाबी अन्तर्गत १ करोड ५२ लाख २१ हजार र वृद्धावस्था सुरक्षा योजना अन्तर्गत ७ हजार ९ सय ७१ ओटा दाबीबापत ४९ करोड ७७ लाख ९५ हजार गरी जम्मा ६० करोड ४४ लाख भन्दा बढी दाबी भुक्तानी भएको कोषले जनाएको छ । लकडाउन अवधिमा कोषमा आबद्ध योगदानकर्ता तथा रोजगारदाताबाट कोषमा जम्मा गर्नुपर्ने सरकारले भुक्तानी गरेको थियो ।