सरकार लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री «

सरकार लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री


स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।
बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए । उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजानेसमेत बताए । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकाले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए ।
मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे । मन्त्री खतिवडाले विज्ञहरूले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकाले माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए । उनले माघको दोस्रो हप्तामा ६० वर्षमाथिको उमेर समूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज उपलब्ध गराउने दाबी गरे ।
मन्त्री खतिवडाले स्वास्थ्य केन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे । कोरोना खोप लगाउन अस्पतालमा भीड भइरहेको प्रसंगमा मन्त्री खतिवडाले विभिन्न अस्पताललाई खोप केन्द्र बनाइएको र अझै थप गरेर भीड हुन नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्