Logo

लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री

कोरोना संक्रमण तिब्र गतिमा फैलिए पनि सरकारले सबै ठप्प बनाउने गरी लकडाउन नगर्ने भएको छ ।
संक्रमण बढ्यो भन्दैमा सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले स्पष्ट पारेका हुन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए । उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने स्पष्ट पारे । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए ।
मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे । मन्त्री खतिवडाले विज्ञहरुको राय बमोजिम माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षकर्मी लगायतलाई बुस्टर डोजको व्यवस्था गरिने बताए । उनले माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेरसमूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरुलाई कोरोना बिरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए ।
स्वास्थ्य मन्त्री खतिवडाले स्वास्थ्यकेन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे । कोरोना खोप लगाउन अस्पतालमा भीड भइरहेको प्रशंगमा मन्त्री खतिवडाले विभिन्न अस्पताललाई खोप केन्द्र बनाइएको र अझै थप गरेर भीड हुन नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्