नेप्से परिसूचक ५४.१२ अंकले वृद्धि «

नेप्से परिसूचक ५४.१२ अंकले वृद्धि

बुधबार ३० अंकले गिरावट भएको सेयर बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार बढेको छ ।
बुधबारको कारोबारमा ३०.५१ अंक घटेको नेप्से, बिहीबार नेप्से परिसूचक ५४.१२ अंक बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेको छ । यसदिन ठूला कम्पनीको मूल्य मापक सेन्सेटिभ इण्डेक्स पनि ८.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३४ अंकले बढेको छ ।
बिहीबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार कित्ता सेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से पसिूचक बढे पनि कारोबार रकम भने घटेको छ । बुधबार नेप्सेमा ८ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ । अन्य उपसमूहको परिसूचक भने सामान्य घटेको छ । जसमा जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी ४.९ प्रतिशत बढेको छ । लगानी, वित्त र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै व्यापार, विकास बैंक, निर्जीवन बिमा र जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
यसदिन कारोबारमा आएकामध्ये मध्य भोटेकोसीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै माउन्टेन हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर नारायणी डेभलपमेन्ट बैंक र राष्ट्रिय बिमा कम्पनीको सेयरमूल्य भने १ प्रतिशत घटेको छ । बिहीबार कारोबार रकमका आधारमा ३४ करोड ३१ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर कारोबार गरेर अपर तामाकोसी शीर्ष स्थानमा रहेको छ । त्यस्तै अपि पावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पनि २१ करोडभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्