सेयर बजारमा नयाँ कम्पनीको आकर्षण बढ्दो «

सेयर बजारमा नयाँ कम्पनीको आकर्षण बढ्दो

बजारप्रति सरकारको दृष्टिकोण तथा स्वायत्ततासहितको नियामक निकायको अभावमा भने सेयर बजारले अपेक्षाकृत प्रगति गर्न सक्दैन ।

विश्वभर उद्योगी–व्यवसायीहरूले आफ्नो व्यवसाय विस्तार गर्न प्रयोग गर्ने तथा निश्चित आय भएका आम सर्वसाधारणले आफ्नो सानो–सानो लगानी गरी प्रतिफल सुनिश्चित गर्ने पुँजीबजारमा पछिल्ला वर्षहरूमा नेपाली लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको छ । कोरोनाको कहरका बीच अन्य क्षेत्रमा लगानीको वातावरण नहुँदा अर्थतन्त्रका लगभग सबै क्षेत्र ठप्प हुँदा पनि सेयर बजारले भने अर्थतन्त्रमा एक प्रकारको उत्साह ल्याइ नै रहेको थियो । करिब–करिब अर्थतन्त्रको आकारबराबर पुगेको बजार पुँजीकरणसहितको सेयर बजारले लगानीकर्तालाई मात्र नभएर सरकारलाई पनि ठूलो धनराशि राजस्वका रूपमा योगदान गरेको थियो ।
करिब १५ अर्बभन्दा बढी कर तिर्ने सेयर बजारको नियामक निकाय तथा लगानीकर्ताका लागि सरकारको कुनै गम्भीर लगाव नभए तापनि बजारले सरकार तथा लगानीकर्ता तथा प्रवद्र्धन सबैलाई प्रतिफल दिइरहेको छ । सरकारको आफ्नो अनुमानमा करिब ५० अर्ब राजस्व उठाउन सकिने सेयर बजारप्रति सरकार तथा सरकारमा रहेका राजनीतिक दलका नेतृत्वको चासो भने नकारात्मक मात्र छ । बजारलाई लगानीकर्ताका लागि झन् सुरक्षित बनाउन सके राजस्वमा योगदान पनि बढ्ने तथा नयाँ उद्योग व्यवसायी पनि पुँजीबजारमा आफ्ना कम्पनीलाई सूचीकृत गराएर पब्लिक लिमिटेड बनाउन आकर्षित हुने अवस्था बन्छ । तर, सरकारको ध्यान अध्यक्ष नियुक्तिमा कसको मान्छे पर्छ भन्ने अल्पकालीन सोचबाट ग्रस्त भएका कारण बजार विस्तारमा बाधा पुगिरहेको छ । लामो समयदेखि धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जको नेतृत्व खाली राखेर सरकारले आफ्नो तलब तथा भत्ता कमाएर दिने पुँजीबजारप्रति गम्भीर नभएको स्पष्ट गरिसकेको छ । यसका साथै, शीर्ष नेतादेखि मन्त्रीसम्मले बजारका बारेमा अनावश्यक टिप्पणी गर्दै हिँडेबाट पनि सरकारको बजारप्रतिको दृष्टिकोण बुझ्न सकिन्छ ।
यस्ता अप्ठ्याराका बीच पनि नयाँ जलविद्युत् कम्पनी, उत्पादनमूलक कम्पनी तथा होटलहरू सेयर बजारमा सूचीकृत हुन आकर्षित हुनु भनेको सकारात्मक कुरा हो । हालै होटल लगानीकर्ता पनि सेयर बजारमा सूचीकृत हुन आकर्षित भएका छन् । हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)को होटल तथा पर्यटन समूहमा सोल्टी, याक एन्ड यती, ओरियन्टल होटल्स (होटल ¥याडिसन) तथा तारागाउँ रिजेन्सी (होटल हयात) मात्र सूचीकृत भएकोमा अब थप तीन होटलले पनि साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । पाँचतारे होटल काठमाडौं मेरियटले प्राइभेटबाट पब्लिक कम्पनीमा जाने निर्णय गरिसकेको छ भने होटल फेयर फिल्ड मेरियट होटल र अलफ्ट होटलले पनि पब्लिक कम्पनीमा गएर सर्वसाधारणका लागि सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएका छन् ।
यी तीन कम्पनीको सेयर जारी भएसँगै नेप्सेमा सूचीकृत पर्यटन तथा होटल समूहका कम्पनीको संख्या थपिएर नेप्सेमा होटल समूहको वर्चस्व बढ्ने देखिन्छ । पाँचतारे होटल काठमाडौं मेरियटको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ भने तीनतारे होटल फेयर फिल्डको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ । अलफ्ट होटलको पनि करिब १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । यी सबै होटलले आफ्नो कुल पुँजीको करिब १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गरे भने पनि बजारमा होटल समूह प्रभावकारी देखिन्छ । बैंक तथा वित्त समूहको वर्चस्व रहेको नेपालको सेयर बजारमा अन्य समूहहरू पनि प्रभावशाली रूपमा आउँदा सेयर बजारले वास्तविक रूपमा अर्थतन्त्रको ऐना बन्ने कुरामा दुईमत छैन । हालसम्म नेप्सेको होटल तथा पर्यटन समूहमा सूचीकृत भएका दि सोल्टी होटल, तारागाउँ रिजेन्सी (होटल हयात), ओरियन्टल होटल्स (होटल -याडिसन) र चन्द्रागिरी हिल्सले राम्रो कारेबार गरिरहेका छन् ।
तर, याक एन्ड यती होटल भने लामो समयदेखि निष्क्रिय छ । तर, थप तीन नयाँ होटलसहित सेयर बजारमा यो समूहको बलियो उपस्थिति रहन्छ । साथै, सरकारी स्वामित्वमा रहेको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी पनि तीन वर्षयतादेखि नाफामा गएपछि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासनको तयारीमा लागेका कारण उत्पादन समूह पनि प्रभावहाली बन्ने देखिन्छ । तर, बजारप्रति सरकारको दृष्टिकोण तथा स्वायत्ततासहितको नियामक निकायको अभावमा भने सेयर बजारले अपेक्षाकृत प्रगति गर्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्