कोभिडको तेस्रो लहर रोक्न प्रदेश सरकारको द्रुत कार्ययोजना

धनगढी – कोभिड–१९ को सम्भावित तेस्रो लहरको संक्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले द्रुत कार्ययोजना बनाएर लागू गरेको छ ।
भारतसहित विश्वका विभिन्न राष्ट्रमा कोरोना महामारीको तेस्रो लहर फैलन लागेको बेला नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा तेस्रो लहरलाई महामारीको रुपमा फैलिन नदिएन कार्ययोजना बनाएर लागू गरेको हो ।
प्रदेश सरकारले मुख्यतः सिमा नाका र प्रवेश विन्दुलाई व्यवस्थापन गर्ने गरी कार्ययोजना तयार गरेर लागु गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘प्रवेश विन्दुमा बालबालिकासहित सबैको एन्टिजेन परिक्षण गर्ने व्यवस्था गराउन सम्बन्धित स्वास्थ्य कार्यालय र स्थानीय पालिकाको जिम्मेवारी रहेको छ,’ सो कार्ययोजनामा उल्लेख छ ।
‘संघ, प्रदेश र स्थानीय तहको समन्वयमा सीमा नाकाहरूमा होल्डिङ सेन्टर सञ्चालन र व्यवस्थापन गर्ने, सेन्टरमा स्तनपान कक्षको व्यस्था गर्ने, २४ सै घण्टा हेल्थ डेस्क सञ्चालन गर्ने, नाकाबाट भित्रिएका सम्पूर्ण व्यक्तिहरूको डिजिटल अभिलेख राख्ने, संक्रमितहरूको पहिचान गर्ने, एन्टिजेन पोजिटिभ देखिएका बालबालिका सहित अभिभावलाई सुरक्षित रुपमा आइसोलेसन केन्द्र वा अस्पतालसम्म पु¥याउन बस वा एम्बुलेन्स उपलब्ध गराउने व्यवस्था गरिनेछ ।’
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले कार्ययोजना अनुसार सीमानामा चेकजाँच बढाइएको बताए । उनले संक्रमणलाई प्रदेशमा फैलिन नदिन नाकामा एन्टिजेन पोजिटिभ आएका सबैलाई होल्डिङ सेन्टरमा राख्ने गरिएको बताए । उनले नामामा चौबीसै घण्टा एन्टिजेन परीक्षणको व्यवस्था गरिएको बताए । उनले संक्रमण पुष्टी भएका, लक्षण देखिएका, नयाँ आएका मासिनहरूलाई छुट्टा छुट्टै ठाउँमा राख्ने व्यवस्था भएको बताए ।
तेस्रो लहरको महामारीलाई लक्षित गरी महिला तथा बालबालिका केन्द्रित एक सय बेडको आइसोलेसन केन्द्र सञ्चालन गर्ने तयारी सामाजिक विकास मन्त्रालयले गरेको छ । प्रदेश सरकारले धनगढीस्थित आयुर्वेद चिकित्सालयको भवनलाई बालबालिका तथा महिला आइसोलेसन केन्द्र बनाउन लागेको हो । कार्कीले महिला र बालबालिकालाई यसपाली छुट्टै आइसोलेन तयार गर्न लागेको बताए ।
सो कार्ययोजनामा प्रत्येक स्थानीय तहमा आवश्यकता अनुसार वडा तहमासमेत मापदण्डअनुसारको आइसोलेसन सेन्टर तथा क्वारेन्टाइन सञ्चालन गर्नुपर्ने उल्लेख छ । ‘स्थानीय तहहरूले उच्च संक्रमण रहेको स्थानबाट आएका व्यक्तिहरूलाई कम्तीमा १० दिनसम्म सम्बन्धित स्थानीय तहमै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनुपर्ने’ कार्ययोजनामा उल्लेख छ ।
प्रदेश सरकारले तेस्रो लहरमा जम्मा संक्रमितहरूमध्ये २० प्रतिशत बालबालिकाहरू (१८ वर्षमुनिका) संक्रमित हुन सक्ने प्रक्षेपण गरेको छ । सोही प्रक्षेपणलाई आधार बनाउँदै परीक्षणको दायरा बनाउनुपर्ने, एन्टिजेन तथा पीसीआर परीक्षणका लागि टेस्ट किट र जनशक्तिको व्यवस्थापनमा जोड दिनुपर्ने उल्लेख छ ।
स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरूले शहरी टोलको पाँच घरमा र ग्रामीण टोलको सात घरमा काभिड–१९ बाट संक्रमित बालबालिका लगायत अन्य व्यक्ति फेला परेमा दु्रत केस अनुसन्धान र खोजपड्ताल गरी संक्रमित व्यक्ति, बालबालिकाको सम्पर्कमा आएका टोलका सबैलाई परिक्षण गर्नुपर्ने उल्लेख छ । सोका लागि एक जना प्रयोगशालाकर्मी, स्वास्थ्यकर्मी र सहयोगी गरी तीन जनाको टिम तयारी अवस्थामा राखी परिचालन गर्नुपर्ने जनाइएको छ ।
प्रदेश सरकारले सेती प्रादेशिक, महाकाली प्रादेशिक र टीकापुर अस्पतालमा क्रमशः ४०, २५, २५ वेडको बालबालिका विशेष कोभिड–१९ आइसोलेसन वेडहरू तयारी अवस्थामा राख्नुपर्ने र जिल्ला अस्पताल तथा स्थानीय तहको अस्पताहरूले १० बेड बालबालिकालाई छुट्याएर राख्नुपर्ने जनाइएको छ । ‘सेती र महाकाली प्रादेशिक अस्पतालहरूलाई केस व्यवस्थापनका लागि स्रोत केन्द्रको (हब) रुपमा विकास गरी प्रदेशका अन्य अस्पतालहरूलाई जोडेर नियमित वेविनार तथा टेली मेडिसिन सेवा सञ्चालन गरिने छ,’ कार्कीले भने, ‘कार्यायोजनानुसार सबै अस्पतालहरूले आइसोलेसन सेन्टरमा आवश्यक पर्ने औषधिको उपलब्धता सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।’
प्रदेशमा करिव तीन हजार पाँच वर्ष मुनिका बालबालिकाहरू कोभिड–१९ बाट संक्रमित हुन सक्ने प्रक्षेपण गर्दै बालबालिकालाई पोषण खाना निःशुल्क उपलब्ध गराउने व्यवस्था गराइने कार्ययोजना बनाइएको उनले बताए । आइसोलेनका लागि चाइल्ड फेस मास्क खरिद गर्ने, विद्यालयमा कार्यरत शिक्षक तथा स्वास्थ्यकर्मीहरूमध्ये एक जनालाई कोभिड फोकल पर्सन तोक्ने र सेती तथा महाकाली प्रादेशिक अस्पतालमा दुई-दुई र जिल्ला अस्पतालहरू र टीकापुर अस्पतालमा एक-एक शव बाहनको व्यवस्था गरिने सो कार्ययोजनामा उल्लेख छ ।
एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणमा एक सातामा ५१५ जनामा संक्रमण पुष्टी भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतबाट रोजगारी गरेर फर्किरहेका नेपालीहरू मध्ये एक सातामा ४१२ जनालाई संक्रमण पुष्टि भएको छ ।