Logo

कोरोना बढे पनि लकडाउन नहुने

कोभिड–१९ संक्रमण बढे पनि लकडाउन नहुने भएको छ । अर्थतन्त्र जोगाउनका लागि लकडाउनको विकल्पमा जान नसकिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले अब मुलुकले कुनै हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताए । अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन भएको भन्दै उनले लकडाउनका कारण नै अहिले आर्थिक क्षेत्र प्रभावित भएको तर्क गरे ।
मन्त्री शर्माले अब फेरि पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने भन्दै लकडाउन नभएर उचित रुपमा सुरक्षाका उपायहरु अपनाएर अर्थतन्त्रलाई चलायमान बनाउने बताए । “अहिले कोरोना संक्रमण विस्तारै बढ्दै गएकाले अर्थतन्त्रको विषयमा सबैले चिन्ता व्यक्त गर्न थालेका छन्,” उनले भने, “यो चिन्ता भनेको फेरि लकडाउन हुने हो कि भन्ने हो तर, हाम्रो बीचमा चुनौतीहरु धेरै भए पनि कोरोनाका कारण अब हामी लकडाउनको बाटो अपनाउँदैनौं ।”
कोरोनाका कारण दुई वर्ष थलिएको अर्थतन्त्र चलायमान हुने लागेको अवस्था भएका कारण यस विषयमा सरकार संवेदनशील रहेको उनले बताए । अर्थमन्त्रीले यस्तो बताइरहँदा कोरोना संक्रमण बढेर आम मानिसको दैनिकीमा प्रभाव परेपछि यसको असर व्यक्तिको आर्थिक क्रियाकलापमा पर्न थालेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले मानिसको भेटघाट र भेलालाई सीमित व्यक्तिमा केन्द्रित गर्न सरकारलाई सिफारिस गरेका कारण समूहमा हुने आर्थिक गतिविधिमा प्रभाव पर्ने देखिएको छ । सीसीएमसीले सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, एयरपोर्ट, पार्क आदि प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने सिफारिस गरेको छ । हाल देशभरको कुल जनसंख्याको ५० प्रतिशतले समेत पूर्णमात्राको खोप लगाउन नपाएका कारण यसको असर यस्ता व्यावसायिक क्षेत्रमा पर्ने देखिने भएको छ । यो व्यवस्था ३ माघदेखि लागू गर्ने व्यवस्थाका लागि सबै जिल्ला कोभिड व्यवस्थापन समन्वयन केन्द्रलाई गृह मन्त्रालयमार्फत सिफारिस गरिने भएको छ । यसैगरी सरकारले १५ माघसम्मका लागि माध्यमिक तहसम्मको अध्ययन अध्यापन बन्द गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले पछिल्लो समय कोभिड संक्रमणका विभिन्न भेरियन्ट फेला परिरहेको र यसको असर नेपालमा समेत देखिन थालेकोले अनावश्यक भिडभाड नगर्न अनुरोध गरेको बताइन् । सीसीएमसीले कोभिड–१९ संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि र एकीकृत कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सुझाव दिएकोे छ । कार्यविधि अनुसार ५०० भन्दा बढी संक्रमित भएका जिल्लामा लकडाउनमा कडाइ गरिने र अत्यावश्यक बाहेकका व्यवसाय तथा सेवा आंशिक वा पूर्ण रुपमा बन्द हुने छन् ।
आइतबारको तुलनामा सोमबार संक्रमणदर ३.४२ प्रतिशत वृद्धि भएर १२.६५ प्रतिशत पुगेको छ । आइतबार १ हजार १ सय ६७ संक्रमित भएकोमा सो संख्या सोमबार १ हजार ४ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण दर बढ्दै जाँदा संक्रमितको संख्या समेत वृद्धि भएको छ । युनिफाइड कोभिड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकृत भुपेन्द्रकुमार बस्नेतले एक हप्ताअघिको तुलनामा संक्रमितको संख्या दोब्बर बढेको जानकारी दिए । उनले देशभर संक्रमणको अवस्था र संक्रमितको संख्यालाई मूल्यांकन गरेर अत्यावश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्