नेप्से परिसूचक १९.४३ अंकले वृद्धि

सेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन पनि वृद्धि भएको छ ।
पछिल्लो दुई सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचकले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार नेप्से परिसूचक १९.४३ अंक बढेर २ हजार ७८४.९५ विन्दुमा पुगेको छ । यस दिन ठूला कम्पनीको मूल्य मापक सेन्सेटिभ इण्डेक्स ३.१६ अंक, फ्लोट इण्डेक्स ०.६३ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१४ अंक घटेको छ ।
सोमबार कारोबारमा आएका २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार कित्ता सेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक भने घटेको छ । जसमा अन्य उपसमूहको परिसूचक सबैभन्दा बढी ५.४८ प्रतिशत बढेको छ । त्यस्तै, वित्त उपसमूह ३.३१ प्रतिशत बढेको छ । व्यापार, जलविद्युत, निर्जीवन बिमा, जीवन बिमा, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक भने १ प्रतिशतभन्दा बढी बढेको छ । यता होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१८ प्रतिशत, बैंकिङको ०.८२ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.६६ प्रतिशत घटेको छ ।
सोमबारको कारोबारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मध्ये भोटेकोसी जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, खानीखोला र हिमालयन उर्जाको सेयर मूल्य भने ८ प्रतिशतभन्दा बढी बढेको छ ।
यसदिन प्रभु सेलेक्ट फण्डको इकाई मूल्य ३.१७ प्रतिशत घटेको छ । त्यसैगरी, चन्द्रागिरि हिल्स, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, सेञ्चुरी कमर्सियल बैंक, आरएसडिसी लघुवित्त र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य २ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा २२ करोड ७७ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कोरोबार गरेर गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ ।