महिला हिंसा कहिलेसम्म ?

लैंगिक विभेदका कारणले महिलामाथि हुने हिंसालाई महिला हिंसा हो । महिलामाथि शारीरिक, मानसिक र संवेगात्मक रूपमा क्षति पु¥याउने कुनै पनि कार्य हिंसा हो । सामान्य अर्थमा हिंसा भनेको कुट्नु, पिट्नु वा ज्यान मार्नु मात्रै होइन, बोली–व्यवहारबाट पनि कसैको भावनामाथि चोट पु-याउने कार्य हिंसा हो ।
हिंसा कुनै व्यक्ति वा समुदायमार्फत अर्को कुनै व्यक्ति वा समुदायमा हुन सक्छ । यसअन्तर्गत कुटपिट गर्नु, झगडा गरेर बाझ्नु, असहयोग, दबाब, चेलीबेटी वेचबिखन गर्नु, फोहोर शब्द प्रयोग गरेर गाली गर्नु कुनै पनि हुन सक्छ ।
लैंगिक दृष्टिकोणले हेर्दा महिलामाथि विभिन्न प्रकारका हिंसात्मक कार्यहरू भएको पाइन्छ । यस्ता हिंसामा शारीरिक र मानसिक दुवै खालका हिंसा हुने गर्छन् । बलात्कार, यौनशोषण, बालविवाह, बहुविवाह र दाइजोजस्ता कुराबाट हुने हिंसा शारीरिक हिंसा हुन् भने कार्यालय र अन्य ठाउँमा हुने खालका बोली, सङ्केत अन्य आदिबाट गरिने दुव्र्यवहार, अपमान, भेदभाव आदि मानसिक हिंसाका रूपमा रहेका छन् । यस्ता हिंसाहरू उचित मात्रामा चेतनाको अभाव, अधिकारको अभाव तथा अन्य वातावरणले समेत बढेको देखिन्छ । खासगरी एकल महिलामाथि हुने दुव्र्यवहार र मानसिक पीडा पनि यसैअन्तर्गत पर्छन् ।
आजभोलि महिला हिंसाविरुद्ध चर्को आवाज उठे पनि यसको नियन्त्रणभन्दा बढोत्तरी भएको देखिन्छ । महिलामाथि हुने गरेका हिंसात्मक कार्यहरू दिन–प्रतिदिन बढ्दै गएको पाइन्छ । महिलामाथि शोषण, दमन, यौन–दुव्र्यवहार र श्रमशोषण गर्न पाइँदैन, नारी–पुरुष समान हुन् भनेर आन्दोलन गरे पनि महिलाले हिंसाबाट मुक्ति पाउन सकेका छैनन् । हाम्रो समाजमा पुरुषले रक्सी खाएर आएर श्रीमती र छोराछोरीलाई कुट्ने, पिट्ने र अप्रिय शब्दहरू बोल्ने गरेको पाइन्छ । यसले परिवारको बेइज्जत हुँदा महिलामा मानसिक असर पार्छ ।
कतिपय ग्रामीण भेगका महिलाहरूलाई बोक्सीको आरोप लगाउने, कुटपिट गर्ने र बोक्सी भनेर समाजबाट बहिष्कार गर्नेजस्ता हिंसात्मक घटना हाम्रो समाजमा हुने गरेका छन् । बोक्सी भनी कसैलाई आरोप लगाउनु सामाजिक अपराध हो । बोक्सी भनी कसैलाई यातना दिन पाइँदैन । बिनासित्ति सोझासीधा एकल (विधवा) महिलालाई बोक्सी भनी आरोप लगाउने अपराधीलाई समाजबाट बहिष्कार गर्नुपर्छ । यदि कसैमाथि हिंसा भएको छ भने पीडित शोषित महिलाका लागि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला तथा बालबालिका सेवा निर्देशनालयझमा उजुरी गरौं । यसको ढोका सधैं खुला गरिएको छ ।
आम ग्रामीण भेगका पीडित महिलाहरूका लागि हिजोआज विवाह गरेर ल्याएको बुहारीले पर्याप्त मात्रामा दाइजो नल्याएको भनेर हेंला गर्ने, उसमाथि सौता हाल्ने मात्रै नभएर दाइजोको निहुँमा मार्ने गरेको पाइन्छ । दाइजो नल्याएको निहुँमा तराईमा जलाउने, मार्ने र घरबाट निकाल्ने जस्ता अप्रिय व्यवहार दैनिक रूपमा महिलाले भोग्नुपरेको छ ।
नारी दिवसमा महिला हिंसाविरुद्ध जनचेतना जगाउने विभिन्न कार्यक्रमहरू गर्दै आइएको छ । विश्वमा एकतिहाइ महिला जीवनमा कुनै न कुनै समयमा हिंसाबाट पीडित छन् । नेपालमा सरदर घरेलु हिंसा ११ हजार ७ सय ३८ महिला पीडित छन् । संक्रमित महिलाहरू घरबाट लखेटिने गरेका छन् । खास गरी दलित र एकल (विधवा) महिला सबैभन्दा बढी हिंसा पीडित छन् । तराई क्षेत्रमा दाइजो नल्याएको भनी यातना दिने हिंसाका घटना धेरै हुन्छन् ।
हिंसामा शारीरिक मारपिट, यौनशोषण र बलात्कार, आर्थिक हिंसा तथा मानसिक हिंसा हुने गरेका छन् । यसमध्ये ८० प्रतिशत शारीरिक हिंसा हुने गरेको तथ्यांकबाट खुल्न आउँछ । पितृसत्तात्मक परम्परागत र सामाजिक मान्यता तथा विभिन्न रुढिवादी परम्पराले महिलामाथि हिंसाका घटना हुने गरेका छन् । छाउपडी वा रजस्वलाको अवस्थामा गुफा बस्नुपर्नेजस्ता कुरीतिले गर्दासमेत हिंसा हुने गरेका छन् । महिला हिंसाका कारण सम्बन्ध–विच्छेदका घटनाहरू वृद्धि हुँदै गएको छ । समाजमा व्याप्त रहेका हिंसाहरू जस्तै— देउकी, भुमा, कुमारी, बहुविवाह, दाइजो, बोक्सीवादी र छाउपडीको अन्त्य गरौं, नागरिकको परिचय दिऊँ ।