उखुको समर्थन मूल्य तोक्न ढिलाइ «

उखुको समर्थन मूल्य तोक्न ढिलाइ


उखुको क्रसिङ सिजन सुरु भइसक्दा पनि सरकारले उखुको समर्थन मूल्य निर्धारण नगर्दा किसान मारमा परेका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उखुको मूल्य निर्धारणमा ढिलाइ गर्दा उखु उत्पादक मारमा परेका हुन् । सरोकारवाला निकायसँग छलफल गरेर एक साता अघि नै मूल्य निर्धारण गर्ने भनिए पनि मन्त्रालयले अझै मूल्य प्रस्ताव गरेको छैन ।
नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले सरकारले समयमा उखुको मूल्य निर्धारण नगर्दा किसानलाई समस्या परेको बताए । यो वर्ष प्रतिक्विन्टल उखुको मूल्य ६ सय ८० रुपैयाँ निर्धारण गर्न माग गरेको उनले जानकारी दिए । उखुको लागत मूल्य बढेको र खेती गर्ने किसान पलायन भइसकेकाले पनि मूल्य बढाउनुपर्ने उनको भनाइ छ । उखुको क्रसिङ सुरु भइसकेर चिनी उद्योगले उखु पेल्न सुरु गरिसकेकाले किसानले अघिल्लो वर्षकै बक्यौता रकम पाउन नसकेको उनको भनाइ छ ।
समयमा उखुको मूल्य निर्धारण नहुँदा किसानको उखु बिक्री नहुने र उपभोक्ताले महंगो बजारमा मूल्यमा चिनी खरिद गर्नुपरेको छ । बजारमा प्रतिकिलो चिनीको मूल्य एक सय रुपैयाँ रहेको छ । वैज्ञानिक र व्यवहारिक ढंगले उखुको मूल्य निर्धारण गरिने मन्त्रालयले जानकारी दिएको छ । प्रत्येक वर्ष सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्दै आएको छ । यस वर्षको उखुको मूल्य तोक्न उखुको पकेट क्षेत्र मानिने तराईका १० जिल्लामा गएर स्थलगत अध्ययन समेत गरिएको छ । प्रत्येक जिल्लाबाट ३० भन्दा बढी अध्ययन नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ ।
गत वर्ष सरकारले उखुको प्रतिक्विन्टिल न्यूनतम मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो । उखुको मूल्य ३ सय ८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च र मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले प्रतिक्विन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा थियो । गत वर्ष अघिल्लो वर्षको तुलनामा क्विन्टलमा जम्मा ८ रुपैयाँ मूल्य बढेको थियो । मन्त्रालयले भने किसानको लागत मूल्य अनुसार उखुको मूल्य निर्धारण गरिने बताएको छ ।
मन्त्रालयले मूल्य तय गरेर वाणिज्य मन्त्रालयमा पेश गर्छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि उखुको मूल्य लागु हुन्छ । अध्यययन प्रतिवेदनको आधारमा उखुको मूल्य बढाएर तोकिने मन्त्रालयले जानकारी दिएको छ ।
यस वर्ष उखुको मूल्य प्रतिक्विन्टिल ६ सय रुपैयाँ भन्दा बढी हुनुपर्ने नेपाल उखु उत्पादक महासंघको माग छ । मन्त्रालयले भने किसानको लागत मूल्य अनुसार उखुको मूल्य निर्धारण गरिने बताएको छ । गत वर्ष उखुको उत्पादन कम हुँदा बजारमा चिनीको मूल्य बढेको छ । मुलुकमा वार्षिक करिब साढे दुई लाख क्विन्टल चिनीको माग छ ।

प्रतिक्रिया दिनुहोस्