व्यावसायिक हब बन्दै बिच रिसोर्टहरू

पछिल्लो समय बिच रिसोर्टहरू व्यावसायिक रूपमा फस्टाउँदै गएका छन् । कोरोना भाइरसको जोखिम र मुलुकको लकडाउनको अवस्थाले थला परेका बिच रिसोर्टहरू पछिल्लो समय भने व्यावसायिक रूपमा धमाधम फस्टाउँदै गइरहेको अवस्था छ । साधारण अर्थमा कुनै पनि नदीको किनार, तालतलैयाको किनार तथा समुद्रलगायतका छेउमा आन्तरिक तथा बाह्य पर्यटकका लागि खान, बस्न तथा मनोरञ्जन गर्नका लागि तयार पारिएका ससाना घरजस्ता आकार भएका रिसोर्टहरू नै बिच रिसोर्ट हुन् । यी रिसोर्ट प्रायः गरी नदी तथा तालतलैयाको छेउमा हुने गर्छन् ।
विशेष गरी गर्मी मौसममा या हिउँदमा यी व्यवसायहरू फस्टाउने गर्छन् । तर, समयको मागसँगै प्रतिस्पर्धात्मक रूपमा पनि यस्ता व्यवसायहरू मुलुकभित्रका धेरै नै नदी वा तालतलैयाको किनारमा भेटिन्छन् । राजधानीबाट केही टाढा भएका कारण पनि मानिसहरू प्रायः रात बस्ने गरी जान्छन् भने विशेष गरी यी रिसोर्टहरूमा रातभरि आगो बालेर, म्युजिक बजाएर, खाइपिइ गरेर विभिन्न तनावमुक्त वातावरणमा रमाउन धेरै मानिसहरू यी रिसोर्टहरूमा आउने गर्छन् । मुलुकभित्र रहेका विभिन्न रिसोर्टहरूमध्ये पूर्वतर्फ भोटेकोसी बिच रिसोर्ट, सुकुटे बिच रिसोर्ट, सुनकोसी बिच रिसोर्टलगायत परिचित छन् भने पश्चिमतर्फ गल्छी बिच रिसोर्ट, गजुरी बिच रिसोर्टलगाएत धेरै बिच रिसोर्टहरू भेटिन्छन् ।
स्वच्छ वातावरणमा सफा खानेकुरा, आर्थिक रूपमा केही सस्तो तथा पारिवारिक वातावरणमा समेत उपलब्ध हुने भएकाले सबैको आकर्षण बिच रिसोर्ट नै भएको छ । पछिल्लो समय बिच रिसोर्टहरू व्यावसायिक रूपमा आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि मुख्य हब बनेको छ । तर, वर्षाको समयमा चाहिँ बिच रिसोर्टहरूमा नदी उर्लिने हुँदा भौतिक रूपमा बनाएका स–साना टहराहरू बगाउने गरेको र केही भौतिक संरचनाहरूमा समेत क्षति पुग्ने गरेको व्यवसायीहरू बताउँछन् । बर्खाको समयभन्दा हिउँदमा नदीको सतह कम हुने र फराकिलो बालुवाको मैदान बन्ने गरेकाले त्यस्तो मैदानमा आन्तरिक तथा बाह्य पर्यटकहरू आएर -याफ्टिङ गर्ने, स्विमिङ गर्ने अनि थकाइ लागेको बेलामा घाममा आनन्दले बिच रिसोर्टमा सन बाथ लिने हुनाले पनि यस्तो समयमा बढी मानिसहरूको आवागमन हुने गर्छ ।
केही दिनअघि पनि कारोबार राष्ट्रिय आर्थिक दैनिकका सम्पूर्ण कर्मचारी पिकनिकका लागि सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्ट पुगेका थिए । -याफ्टिङका लागि पनि अत्यन्तै महत्वपूर्ण सुकुटे बिच रिसोर्टमा वर्षा वा हिउँदमा पनि उत्तिकै मानिसहरू आउने गर्छन् । राजधानीको कोलाहल वातावरणबाट अर्कै छुट्टै आनन्दमय शान्त वातावरण अनि त्यो सुसाउँदो भोटेकोसी नदीको छेउमा नै ससाना टहराहरू, बस्नका लागि कुर्सीहरू, लाइनले राखेका टेबलहरू, घाम छेक्नका लागि राखिएका टेन्टहरू तथा गीत–संगीतका लागि ठूलो स्पिकरमा डिजे थियो भने भलिबल खेल्नका लागि बालुवाको मैदान, लिङ्गे पिङलगायत थियो ।
रिसोर्टकै अलि माथि दुईवटा स्विमिङ पुल थिए । बालबालिकाले खेल्ने र ठूला मानिसहरूले खेल्ने स्विमिङ पुल । स्वच्छ वातावरणमा खान–बस्नका लागि अत्यन्तै राम्रो सुविधा थियो । स्वादिष्ट परिकारका विभिन्न खानेकुराहरू थिए । राति आगो बाल्नका लागि छुट्टै ठाउँ थियो भने समय बिताउनका लागि खेल्ने सामग्रीहरू पनि प्रशस्तै थिए । जस्तै— स्नूकर, पुल, टेबल टेनिस, क्यारिम बोर्डलगायत थिए । चारैतिर जंगल अनि बीचमा भोटेकोसी नदी र छेउमा झकिझकाउ सुकुटे बिच रिसोर्ट थियो । हेर्दा लाग्छ, कतै स्वर्ग नै पुगेजस्तो । केही समयको बसाइपछि मीठो अनुभव लिएर हामी फर्कियौं ।
मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको सुकुटे बिचलगायत मुलुकभित्र रहेका सम्पूर्ण बिच रिसोर्टहरूमा स्थानीय निकायहरूको सहयोगमा राम्रो प्रबन्ध गरी व्यवसायलाई आत्मनिर्भर बनाई आयमूलक बनाउन जरुरी छ ।