८० प्रतिशत बजेट कार्यान्वयन गर्न अर्थमन्त्री बरालको निर्देशन «

८० प्रतिशत बजेट कार्यान्वयन गर्न अर्थमन्त्री बरालको निर्देशन


गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले चालू आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पर्वतमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बरालले सीमित स्रोत साधनको अधिकतम प्रयोग गरी न्यूनतम ८० प्रतिशत बजेट कार्यान्वयन हुने गरी काम गर्न प्रादेशिक कार्यालयलाई निर्देशन दिए ।
कठिन अवस्थाको बाबजुद आफ्नो कार्यभार समयमै सक्ने गरी काम गर्नुपर्ने दायित्यबोध गर्न आग्रह गर्दै मन्त्री बरालले कसैलाई दोष देखाएर उम्किन नपाइने सुझावसमेत दिएका छन् । जिल्लामा बास्तविकता बुझ्नका लागि हाल जिल्लागत प्रादेशिक कार्यालयका प्रमुखसँंग छलफलमा जुटेको बताउँदै मन्त्री बरालले गतवर्षको ७३ प्रतिशत बजेट खर्च भएकाले यस बर्ष थप बजेट खर्च गरी नतिजा दिनु चुनौती भएको जनाए । नेपालमा अझै पनि परम्परागत कार्यशैली हुने गरेको मन्त्री बरालले बताए ।
अर्थ मन्त्रालयका सचिव बैकुण्ठप्रसाद अर्यालले पाचौं महिनामै रकमान्तर गर्न नहुने बताए । उनले तेस्रो चौमासिकमा मात्र अवस्था हेरी रकमान्तर गर्न सकिने बताए । पर्वत जिल्लाको संक्षिप्त कार्य प्रगति पेस गर्दै सचिव अर्यालले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा पर्वतमा सडकतर्फ ८ प्रतिशत, भवनतर्फ ३ प्रतिशतमात्र खर्च भएको जनाए । स्वीकृत भएका कर्मचारीको तलबभत्ताको व्यवस्था गर्ने अर्यालले बताए ।
पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले कार्यक्रम योजना कार्यान्वयनमा द्वन्द्व, १० लाखभित्रका ५१ वटा योजना, कर्मचारी अभाव र दसैंसम्म पानी परेको कारण बजेट कार्यान्वयनमा कठिनाइ भएको बताए । रकमान्तरसहित थप आठ करोडको दायित्य सृजना भएको आचार्यले बताए ।
भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शम्भुकुमार सिंहाले २ लाखदेखि २० लाखका ८३ वटा योजना रहेको बताए । बस्ती तथा सार्वजनिक स्थलमा भन्दा व्यक्तिका लागि बजेट विनियोजन भएको उनले बताए । सीप विकास कार्यालयका प्रमुख सन्तोष पौडेलले तालिम बजार केन्द्रित भएको गुनासो गरे । कृषि ज्ञान केन्द्र पर्वतका अधिकृत आशिष पाण्डेले गत वर्ष चार करोड साना सिँंचाइ योजनामा परेको बजेटमध्ये यस वर्ष करिब ७० लाखमात्र परेको गुनासो थियो ।
स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले १८ वर्षमाथिका करिब ८१ प्रतिशत पहिलो चरणको कोरोनाविरुद्धको खोप उपलब्ध गराइएकोे बताए । कोभिडविरुद्धको खोप व्यवस्थापनका लागि कोल्ड रुम स्थापना गर्न आवश्यक भएको उनले बताए । जिल्ला आयुर्वेदिक अस्पतालका प्रमुख डा. किरणकमल बस्ताकोटीले लेखा अधिकृत नभएको, सवारी साधनको अभाव भएको गुनासो गरे । कार्यालय भवन नै जीर्ण भएको उनको भनाइ थियो ।
जलस्रोत तथा सिँंचाइ डिभिजन कार्यालय पर्वतका कार्यालय प्रमुुख थलबहादुर तामाङले विभिन्न योजनामा श्रमदान प्रायः शून्यजस्तै भएको दाबी गरे । विभिन्न संघ संस्था र तीन तहका सरकारबीच समन्वयसमेत नमिलेको उनले गुनासो गरे । पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले अधिकांस कार्यालयमा कर्मचारी अभाव, सवारी साधनको अभाव, विनियोजित बजेट कम भएको तथा साना र धेरै योजना समेटिएको गुनासो गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्