Logo

निर्माण सामग्रीका उद्योगमा लगानी थपिँदै

सुनसरी–मोरङ औद्योगिक करिडोरका विभिन्न स्थानमा फलामे डन्डी, सिमेन्टलगायतका निर्माण सामग्री उत्पादन गर्ने नयाँ उद्योग धमाधम स्थापना हुन थालेका हुन् ।

विराटनगर-जनीतिक स्थायित्वपछि विकास निर्माणले गति लिने आशामा सुनसरी–मोरङ औद्योगिक करिडोरमा निर्माण सामग्री उत्पादन गर्ने ठूला उद्योगहरू थपिन थालेका छन् ।
सुनसरी–मोरङ औद्योगिक करिडोरका विभिन्न स्थानमा फलामे डन्डी, सिमेन्टलगायतका निर्माण सामग्री उत्पादन गर्ने नयाँ उद्योग धमाधम स्थापना हुन थालेका हुन् । मोरङको बूढीगंगा टंकीसिनुवारीस्थित आरती स्ट्रीप्सले ३ अर्ब लगानीमा फलामे डन्डीको उत्पादन थाल्ने तयारी गरेको छ । निर्माण सामग्रीकै उत्पादन गर्दै आएको आरतीले थप लगानी गरेर फलामे डन्डीको उत्पादन सुरु गर्न लागेको हो । भारतीय लगानीको बहुराष्ट्रिय कम्पनी आरतीले करिब २ दशकदेखि मोरङको बूढीगंगामा उद्योग स्थापना गरी जस्तापाता उत्पादन गर्दै आएको छ । उद्योगले दुई वर्ष पहिले फलामका पाइपसमेत निर्माण थालेको थियो । आरतीले उद्योगलाई विस्तार गरी यसै वर्षदेखि फलामे डन्डी पनि उत्पादन सुरू गर्न लागेको उद्योगका प्रशासकीय अधिकृत दिवस नेपालले जानकारी दिए । नेपालका अनुसार राजनीतिक स्थायित्वसँगै विकास निर्माणका कामले गतिलिने र निर्माण सामग्रीको माग बढ्ने सम्भावनालाई ध्यानमा राखेर फलामे डन्डीको उत्पादन सुरू गरिएको हो ।
आरतीले दैनिक ७ सय टन फलामे डन्डीको उत्पादन गर्ने तयारी गरेको छ । उद्योगले बजारको मागअनुसार ‘टाइगर’ र ‘प्राइम’ ब्रान्डमा ८ देखि ५० एमएम सम्मका टिएमटी छड उत्पादन गर्ने जनाएको छ । नेपालकै सबैभन्दा आधुनिक र इटालियन प्रविधिको स्वचालित मेशिन जडान गरी गुणस्तरीय फलामे डन्डीको उत्पादन सुरू गर्न लागिएको उद्योगको दाबी छ ।
यस्तै अढाइ अर्ब रुपैयाँको लागतमा अर्को फलामे डन्डीको उद्योग पनि सुनसरीको दुहवीमा सञ्चालनमा आएको छ । उद्योगले ‘प्रिमियर’ ब्राण्डमा फलामे डन्डी बजारमा ल्याएको हो । सारडा ग्रुप र एके राठी ग्रुपले संयुक्त रुपमा फलामे डन्डी उद्योग सञ्चालनमा ल्याएका हुन् । प्रिमियर ब्रान्डमा बिजुलीका तारको उत्पादन गर्दै आएको सारडा ग्रुपले नयाँ साझेदार खोजेर फलामे डन्डी उत्पादन सुरू गरेको हो । उद्योगका सञ्चालक तथा मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले उद्योगले ८ देखि ४० एमएमका फलामे डन्डीको उत्पादन सुरू गरेको जानकारी दिए । हालसम्मकै सबैभन्दा आधुनिक र उन्नत प्रविधिको मेसिनबाट फलामे डन्डीको उत्पादन थालिएको उनले बताए । विकास निर्माणले गति नलिँदा बिक्रीमा भने समस्या देखिएको पशुपति आइरन उद्योगका अध्यक्ष अशोक मुरारका बताउँछन् । यसअघि सुनसरी–मोरङ औद्योगिक करिडोरमा पशुपति, हुलास र कमला रोलिङले फलामे डन्डी उत्पादन गर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्