सहकारीमा पनि तरलता समस्या «

सहकारीमा पनि तरलता समस्या


बैंक तथा वित्तीय संस्था हुँदै तरलता अभावको समस्या सहकारी संस्थामा पनि पर्न थालेको छ । पछिल्लो समय सहकारीहरुको पनि बचत संकलन घट्न थालेको र भएको बचत पनि बैंकहरुमा जान थालेपछि तरलताको अभाव हुन थालेको हो ।
तरलता अभाव हुन थालेपछि सहकारीहरुले पनि अत्यावश्यक अवस्थाका सदस्यहरु बाहेकलाई ऋण लगानी रोकेका छन् । सहकारी सदस्यमा आधारित संस्थाहरु हुन् । सहकारीहरु सदस्यको घरदैलोमै पुगेर स—सानो बचत संकलन गर्ने भएकाले बचतको आधार बलियो मानिन्छ । विगतमा बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव हुँदा समेत सहज अवस्थामा देखिएका सहकारी संस्थाहरु यसपटक भने समस्यामा पर्न थालेका छन् ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं वित्तीय प्रणालीमा तरलता अभावको समस्या लामो समयसम्म जाने देखिएकाले सहकारी क्षेत्रलाई पनि पिरोल्न थालेको बताउँछन् । “तत्कालको लागि त्यति ठूलो समस्या देखिएको छैन । तर, बैंकिङ प्रणालीमा समस्या गहिरिँदै जाँदा त्यसको असर सहकारीसम्म आउने देखिएको छ,” उनले भने ।
सहकारीमा पनि तरलताको समस्या हुन थालेपछि सहकारी संघसंस्थाहरुको केन्द्रीय छाता संगठन राष्ट्रिय सहकारी महासंघले अनिवार्य रुपमा १५ प्रतिशत तरलताको व्यवस्थापन गर्न र त्यस भन्दा कम तरलता भएको अवस्थामा कर्जा लगानी नगर्न संघसंस्थाहरुलाई आग्रह गरिसकेको छ । महासंघले आह्वापत्र जारी गर्दै संघसंस्थाहरुले तरलता व्यवस्थापनका लागि अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन उपायहरु समेत सुझाएको छ ।
अल्पकालिन सुझावमा १५ प्रतिशत तरलता राख्दै निक्षेप फिर्ता गर्ने आधार सुनिश्चित राख्न भनेको छ । यसैगरी सदस्यसँग निरन्तर भेटघाट तथा छलफल गर्न, भाका नाघेका ऋणको असुलीलाई प्राथमिकता दिन, अति जरुरी बाहेकका खर्चहरु नगर्न समेत सुझाव दिएको छ । यस्तै सहकारीका संघहरुसँग समेत समन्वय गर्न महासंघले आग्रह गरेको छ ।
यसैगरी महासंघले नियमित स्रोतमा आधारित योजनाहरु नियमित बचत, क्रमिक बचत, रेमिट्यान्समा आधारित बचत संकलनमा जोड दिन तरलताको चाप परेका बेला रकम जुटाउनका लागि कोष निर्माणमा समेत अल्पकालिन योजनाका रुपमा जोड दिएको छ ।
महासंघले समग्र तरलताको व्यवस्थापनका लागि आवश्यकता अनुसार सम्पत्ति दायित्व उपसमिति जस्ता विशिष्ट संरचना बनाउने तथा तरलता स्थितिको पुनरावलोकन गर्न नियमित बैठक बसी आवश्यक योजना तर्जुमा गर्न समेत दिर्घकालिन उपायका रुपमा सुझाव दिएको छ । देशभर ३० हजार सहकारी संस्थाहरुमध्ये आधा बचत तथा ऋण सहकारी रहेका छन् । विषयगत सहकारीहरुले पनि बचत तथा ऋणको कारोबार गर्ने भएकाले दर्ता भएकामध्ये ६० प्रतिशत सहकारीहरु वित्तीय कारोबारमा संलग्न छन् ।
सहकारीमार्फत करिब १० खर्बको कारोबार भएको सरकारी तथ्यांक छ । तर सहकारीको कारोबारको नियमित रिपोर्टिङ गर्ने तथा तथ्यांक राख्ने कुनै प्रणाली नभएकाले सहकारीको कारोबारबारे राज्यसँग पनि यकिन तथ्यांक छैन ।

प्रतिक्रिया दिनुहोस्